अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन्।
मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आआफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।
ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिकासहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासो रहेको बताइएको छ।
सयकडा रु ३ देखि ५ सम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन्।
ऋणीहरु रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाइसक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले बताए।
सरकारले यही भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न दिएको हदम्यादपछि पनि तीन उजुरी परेको र यी सबै उजुरीको अभिलेख राखी गृह मन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। मिटरब्याजीहरू ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने बताइएको छ।
समस्यामा परेका मानिसलाई तत्काल बैंकले ऋण नदिने र समस्या समाधान गर्न मिटरब्याजीको सम्पर्कमा जाने गरेका पीडितले जति कमाए पनि सबै पैसा मिटरब्याजीलाई नै बुझाउनुपरेको र तर पनि ऋणबाट मुक्त हुन नसकी आफ्ना सम्पत्ति अरूको कब्जामा गएको दुःख सहनयोग्य नभएको पीडित बताउँछन्।
सुनसरी इनरुवा नगरपालिका वडा नं ७ चाँदबेलका दुई मिटरब्याजीका कारण सयौँका सङ्ख्यामा मानिस ठगिएका छन् भने अरूलाई ठगेर धन आर्जन गर्न सफल भएको ती दुवै मिटरब्याजी गर्व गरिरहेका छन्। पहिले त यी मिटरब्याजीले पैसा छैन भन्ने र धेरै कर गरेपछि सयकडा रु तीनदेखि रु पाँच लिन्छु भन्ने कम समय भएमा सयकडा रु पाँच लिने र बढी समयमका लागि दिने ऋणमा रु पाँचसम्म लिने गरेको पाइएको छ। रासस
याे पनि :

प्रतिक्रिया