कर्णाली


रास्वापको वाचापत्र: स्पष्ट बहुमतसहित सुशासनयुक्त स्थिर सरकार बनाउने

रास्वापको वाचापत्र: स्पष्ट बहुमतसहित सुशासनयुक्त स्थिर सरकार बनाउने

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १६:२६, सुर्खेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनपछि स्पष्ट बहुमतसहित सुशासनमुखी स्थिर सरकार गठन गर्ने दाबी गरेको छ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजित परिवर्तन उद्घोषसभामा रास्वपाले आफ्नो वाचापत्र सार्वजनिक गरेको हो। 

पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, सहमहामन्त्री विपिनकुमार आचार्य र कर्णालीका विभिन्न क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवाहरुले संयुक्त रूपमा सार्वजनिक वाचापत्र सार्वजनिक गरेका हुन्। 

वाचापत्रबारे जानकारी दिँदै पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अब ससानो सुधार नभइ राजकाजको जहाजलाई नै नयाँ दिशातर्फ मोड्ने समय आएको बताए। 

उनकाअनुसार सुशासन, आर्थिक सुधार, शिक्षा–स्वास्थ्य, प्रकृति संरक्षण तथा संस्थागत सुधारका एजेन्डा स्पष्ट रूपमा अघि सारिएको छ।

रास्वपाले वाचापत्रमा दलमुक्त राज्य व्यवस्था, मेरिटोक्रेसीमा आधारित नियुक्ति, सरकारी सेवामा ‘लाइन होइन, अनलाइन’ अवधारणा, संविधान तथा संस्थागत सुधारको बहस र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। राज्यप्रति नागरिकको भरोसा बढाउने लक्ष्यसहित कार्यक्रम ल्याइने जनाइएको छ। 

मध्यमआय राष्ट्र बनाउने लक्ष्य 
रास्वपाले नेपाललाई आगामी पाँचदेखि सात वर्षभित्र सम्मानजनक मध्यमआय राष्ट्र बनाउने लक्ष्य लिएको छ। स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गरी पाँच वर्षभित्र बलियो आर्थिक आधार निर्माण गर्ने र प्रतिव्यक्ति आम्दानी कम्तीमा तीन हजार अमेरिकी डलर पुर्‍याउने वाचा पत्रमा रहेको उपसभापति वाग्लेले उल्लेख गरे। 

यस्तै, प्रचलित मूल्यमा नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको आकारमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरिएको छ। 
निजी क्षेत्रलाई स्वच्छ प्रतिस्पर्धाको आधारमा साझेदार बनाउँदै करको बोझ घटाउने, झन्झटिला प्रक्रिया हटाउने र लगानीमैत्री वातावरण बनाइने रास्वपाको वाचा छ।  

कृषि र प्रवासी नेपालीप्रति विशेष योजना 
यस्तै, कृषि क्षेत्रलाई उत्पादनमुखी र सम्मानजनक आम्दानीको आधार बनाउने योजना अघि सार्दै पार्टीले मल, बीउ, बजार र मूल्य निर्धारणमा देखिएका अनिश्चितता अन्त्य गर्ने दाबी गरेको छ। ‘कृषि गरेर पनि सम्पन्न जीवनयापन गर्न सकिन्छ भन्ने आशा जगाउनुपर्छ।’ उपासभापति वाग्लेले भने। 

प्रवासी नेपालीलाई ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणाअनुसार नागरिकताको निरन्तरता सुनिश्चित गर्न कानुनी पहल गरिने र विदेशमै बसेर लगानी तथा उद्यम गर्नसक्ने वातावरण बनाइने उल्लेख गरिएको छ। 

यस्तै, वाग्लेले रास्वपाले आफूलाई नयाँ पुस्ताको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गरे। उनले पार्टी स्थापना र विस्तारमा सभापति रवि लामिछानेको पहललाई ऐतिहासिक कदमका रूपमा उल्लेख गर्दै, काठमाडौँ महानगरपालिकामा स्वतन्त्र रूपमा निर्वाचित मेयर बालेन साहले देखाएको कार्यशैलीलाई सुशासनको उदाहरणका रूपमा प्रस्तुत गरे।

‘एकपटक पाँच वर्ष सुशासनयुक्त स्थिर सरकार कस्तो हुन्छ, देशले देख्न पाउनुपर्छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad