राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने अवसरका रूपमा चित्रण गरेका छन्।
कर्णालीमा आयोजित परिवर्तन उद्घोषसभालाई सम्बोधन गर्दै उनले रगतबाट नभइ जनताको भोटबाटै परिवर्तन सम्भव भएको बताए।
‘निर्वाचन केवल मतदानको दिन होइन, देशको दिशा तय गर्ने दिन हो,’ उनले भने, ‘जनताले २१ गते अनुमोदन गरेर विश्वलाई देखाउनेछन् कि नेपाल अब अगाडि बढ्दैछ।’
साथै लामिछानेले लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गरे।
‘लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु पर्दैन,’ उनले भने, ‘जनता जागेपछि लोकतन्त्र बलियो हुन्छ।’
उनले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिए। उनले भने, ‘रोडबाट होइन, भोटबाट परिवर्तन गराैँ।’
सभापति लामिछानेले बहुमतसहितको स्थिर सरकार आवश्यक रहेको बताउँदै रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे।
‘पाँच वर्ष स्थायी सरकार नदिइए मुलुक फेरि अस्थिरतातर्फ जान सक्छ’ उनले भने।
रास्वपाले सबैभन्दा बढी युवा उम्मेदवार उठाएको दाबी गर्दै लामिछानेले पार्टीमा महिला, डाक्टर, इन्जिनियर, खेलाडी, विभिन्न पेशा–व्यवसायका प्रतिनिधिहरू समेटिएको बताए।
‘यो पटक नेता जिताउने होइन, जनता जिताउने चुनाव हो’ उनले भने।
सभापति लामिछानेले पाँच वर्षको स्थिर सरकारमार्फत् देशलाई सही दिशामा लैजान रास्वपा तयार रहेको वाचा गरे।
Shares

प्रतिक्रिया