डोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका दिलबहादुर विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शनिबार विष्ट कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेसका सह-महामन्त्री तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढाले विष्टको निवासमै पुगेर पुरानै पार्टीमा भित्र्याएका छन्।
पार्टीको सह-महामन्त्ती समेत रहेका उम्मेदवार बुढा विष्टलाई नेपाली कांग्रेसमा फर्काउनका लागि उनको निवासमै पुगेका थिए।
कांग्रेसमै फिर्ता भएपछि विष्टले आफ्नो राजनीतिक यात्रा र वैचारिक प्रतिबद्धताको मूल थलो नेपाली कांग्रेस नै भएको बताउँदै आफू आफ्नै घर कांग्रेसमा फर्किएको बताए। उनले भने, ‘नेपाली कांग्रेसप्रति मेरो योगदान, लगानी र निष्ठा सतही होइन, त्यो दीर्घकालीन, गहिरो र प्रतिबद्धताले भरिएको छ।’
विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले त्रिपुरासुन्दरी नगरपालिका प्रमुखको टिकट नदिएपछि तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर चुनाव लडेका थिए। तर, उनी पराजित हुन पुगे। उनी १ हजार ४ सय २२ मत प्राप्त गर्दै तेस्रो भएका थिए।
यस्तै, मुख्य निर्वाचन कार्यालय डोल्पाका अनुसार विष्टको नाम उम्मेदवारी दर्तामा भने यथावत नै रहेको छ।
Shares

प्रतिक्रिया