नेकपा एमाले जिल्ला कमिटी डोल्पाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन जना नेताको नाम सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटी बैठकले जिल्ला अध्यक्ष लंकबहादुर रोकायासहित तीन जना नेताको नाम सिफारिस गरेको हो।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बैठकले अध्यक्ष रोकायासँगै एमाले केन्द्रीय सदस्य बदमीक्वारी बोहोरा र कर्णाली प्रदेश कमिटी सदस्य पूर्णबहादुर डांगीको नाम सिफारिस गरेको हो।
केन्द्रीय सदस्य बदमीक्वारी बोहोरा कर्णाली प्रदेशसभाकी पूर्वसांसद हुन्। उनी २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद भएकी थिइन्।
यस्तै, अध्यक्ष रोकाय ४० वर्षमूनिका युवा नेता हुन्। पछिल्लो समय पार्टीमा युवाहरूको अनिवार्य सहभागिताको नारा लागिरहेको बेला रोकाया बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्।
रोकायाले भने, 'म युवा भएका कारण डोल्पाबासीको माग पनि छ। पार्टीमा राम्रो काम गरेका कारण जिल्ला सचिव हुँदै अध्यक्षमा पुगेको छु। प्रतिनिधिसभा निर्वाचनमा मेरो कडा दाबी छ।'
एकल उम्मेदवार सिफारिसका लागि जिल्ला कमिटी बैठकमा बृहत बहस र छलफल भएपनि अन्तिममा तीन जना नेताको नाम पार्टी केन्द्रलाई सिफारिस गरिएको छ।
Shares

प्रतिक्रिया