कर्णाली


१७ वर्षपछि तयार भयो ‘खसिया आखर’ शब्दकोश

१७ वर्षपछि तयार भयो ‘खसिया आखर’ शब्दकोश

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १६:१३, सुर्खेत

खस शब्दकोश अर्थात ‘खसिया आखर’ लेखन कार्य सुरु भएको १७ पछि तयार भएको छ। संस्कृतविद तथा शब्दकोष लेखक रमानन्द आचार्यको अथक मेहनत र प्रयासपछि शब्दकोष तयार भएको हो। 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यो शब्दकोष प्रकाशन गरेको हो। 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शब्दकोष लोकार्पण गरिएको छ। शब्दकोशको लोकार्पण मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौँको सहकार्यमा गरिएको हो। 

उमेरले ७९ वर्षीय जुम्ला निवासी लेखक रमानन्द आचार्यले यो शब्दकोशलाई अन्तिम रुप दिएका हुन्। संस्कृतविद् रमानन्द आचार्यले ‘खसिया आखर’ खष शब्दकोश प्रकाशन गर्ने लक्ष्य र हुटहुटीले रातदिन काम गर्दागर्दै आफ्नो बुढेसकालको १७ वर्ष यसैमा बिताएका थिए। 

‘आज मेरो मात्रै सपना पूरा भएको छैन्। नेपाली भाषाको जननी जुम्ली खस भाषा, सभ्यताले जीवित पहिचान बनाउन न्याय पाएको छ’ आचार्यले भने, ‘नेपालले गर्विलो इतिहास बोकेको अर्को एक शब्दकोष पाएको छ। निकै लामो समयपछि अन्ततः ‘खसिया आखर’ खष शब्दकोश तयार भयो।’

नेपाली इतिहासमा १७ वर्ष लगाएर लेखिएको शब्दकोष भनेर अर्को रेकर्ड कायम भएको आचार्य बताउँछन्। उनकाअनुसार यो शब्दकोष एक हजार ४०० पृष्ठको छ। भने शब्दकोषमा ३० हजार बढी खस शब्दहरु राखिएका छन्। जुम्ली खस भाषाका उपज शब्दहरु मात्रै समेटिएको उनले बताए। पछि प्रतिवादन भएका आधुनिक शब्दहरु नराखिएको उनको भनाइ छ। 

‘संकलित पाण्डुलिपि दराजमै थन्किएर म नै अस्ताउँछु कि भन्ने पिर थियो। आज यसले अन्तिम रुप पाएको छ’ उनले थपे, ‘मर्नुअघि नै शब्दकोश प्रकाशन गर्ने धोको पूरा भयो। खस भाषा र सभ्यतालाई जीवित राख्ने प्रण पूरा गरे। अब यसलाई भावी पुस्ताले दस्ताबेजका रुपमा अध्ययन अनुसन्धान गर्न सहज भयो।’ 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभिभावकत्व देखाएर एक हजार प्रति शब्दकोष प्रकाशनका लागि आवश्यक सहयोग गरेको छ। ‘जुम्लाका स्थानीय तहहरुले पनि सहयोग गर्ने आश्वासन दिएका छन्। प्रति शब्दकोष छपाइका लागि १५ सय बढि रुपैयाँ लाग्ने रहेछ’ लेखक आचार्यले भने, ‘शब्दकोष लेखन यात्रामा धेरैले सहयोग गर्नुभएको छ। उहाँहरु सबैलाई हृदयदेखि नमन छ।’ 

शब्दकोष लोकार्पण गर्दै कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाली भाषाको मातृभाषाका रूपमा रहेको खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यस शब्दकोशले महत्वपूर्ण टेवा पुग्ने बताए। भाषा र संस्कृतिको पुस्तान्तरणका लागि यस्ता पुस्तकहरू मार्गदर्शन बन्ने उनले अपेक्षा व्यक्त गरे।

‘खस भाषाको संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ’ मन्त्री भण्डारीले भने, ‘स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठन र व्यावहारिक कार्यान्वयनका लागि सरकारले अभियानका रूपमा अघि बढाउने छ।’ 

योगी नरहरिनाथका कृतिहरूको संकलन तथा अभिलेख गर्ने, कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकहरूको संकलन गर्ने लगायतका कार्यहरू पनि मन्त्रालयले गर्न लागेको उनले जानकारी दिए। खस भाषा शब्दकोश प्रकाशनको जिम्मेवारी मन्त्रालयलाई दिएकोमा समेत कृतज्ञता प्रकट गर्दै उनले लेखक रमानन्द आचार्यको योगदानको प्रशंसा गरेका छन्। 

चार उपभाषिकामा विभाजन
साविक जिल्ला विकास समिति जुम्लाको जिल्ला परिषद्ले २०६५ वैशाख ११ गते खस भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन गर्ने निर्णय गरेपछि चन्दननाथ नगरपालिका–२ स्थायी घर भएका आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मा दिइएको थियो।

खस भाषामा दख्खल राख्ने आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरेका हुन्। शब्द संकलन र अर्थ लगाउने काम आचार्यले गरेपनि शब्द कम्प्युटर टाइपिङको काममा भने निकै कष्ट भएको थियो। उनका अनुसार कतिपय खस शब्दहरु कम्प्युटरको माइक्रोवर्डमा पनि नभेटिने समस्या थियो। आचार्यले सम्पादन गरेको ‘खसिया आखर’ साविक जिविस बन्द भएपछि अलपत्र परेको थियो। जिविसले पहिलो वर्ष दुई लाख रुपैयाँ विनियोजन गरेको थियो।

उक्त बजेटबाट खस शब्द संकलन गर्न आचार्य हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख लगाएतका जिल्ला पुगेका थिए। नेपाली भाषाको उत्पत्ति भाषा मानिएको खस भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश नै निर्माण गरिएको हो। 

शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ। पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरू राखिएको छ। दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरू, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ।

जुम्लाको सिंजा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ तथा नेपाली खष भाषा संरक्षण गर्न र १८४६ पूर्वको खस राज्यको पहिचान विलय हुन नदिई यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व जीवन्त राख्न शब्दकोशले सघाउने विश्वास लिइएको छ। विदेशी भाषाको नक्कलले मातृभाषा हराउँदै गएको अवस्थामा शब्दकोषले यसलाई संरक्षण र लिपिबद्ध गर्न सहयोग पुग्ने सबैको अपेक्षा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad