कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ। रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो।
माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए। उनका अनुसार गत वर्ष रु एक करोड ७१ लाख ९७ हजार ६२४ बराबरको माछा बिक्री भएकामा यस वर्ष रु एक करोड आठ लाख ४६ हजार ९६६ बराबरको माछा बिक्री भएको छ।
अघिल्लो वर्षको तुलनामा करिब रु ६० लाखको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उनको बुझाइ छ।
जाडो याममा आउने जलेवाको बासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो। रानीवनबाट बिहान ७ः०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन्। अधिकारीका अनुसार यसरी आउने चराले करिब ९ः०० बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन्।
विगतका वर्षमा असोज/कात्तिकको समयमा मात्र माछाका भुरा छोड्ने गरेकामा जलेवाको प्रकोपलाई दृष्टिगत गरी माघ÷फागुनको समयमा पनि भुरा छोड्न थालिएको छ। जलेवाले सकेसम्म भुरा माछा नै खाने भएकाले असोज कात्तिकमा केही मात्रामा छोडे पनि पुनः माघ फागुनमा पनि छोड्न थालिएको अधिकारीले जानकारी दिए।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले माछाको सिकार गर्ने जलेवा सानो र ठूलो दुई प्रजातिको हुने र सानो जलेवाले समूहमा आएर साना माछा मात्रै खानसक्ने बताए। ठूलो जलेवाले भने ठूला माछाको पनि आहारा गर्ने गरेको उनले बताए।
पोखरा र आसपासका जलाशयमा गरिएको पन्छी गणनाबाट हालसम्म १०६ प्रजातिका जलचरा अभिलेख गरिएको उनले जानकारी दिए। 'हिउँदको समयमा जलचरा विशेषतः साइवेरिया, मङ्गोलियाबाट यस क्षेत्रमा जाडो छल्न आउँछन्। कात्तिकदेखि आउने यी चराहरू माघसम्म यहाँ रहेर पुनः आफ्नै बासस्थान फर्कने गर्दछन्', अध्यक्ष घिमिरेले भने।
जलचराहरू पोखराका फेवाताल, कमलपोखरी तालसहित लेखनाथ क्षेत्रका बेगनास ताल, रुपा ताल, खास्टे ताल, गुँदे ताल, न्युरेनी ताल, मैदी ताल, दिपांग ताल आदिमा जाने गरेको छन्। पोखरा आसपासमा आउने ग्रीष्मकालीन चराहरू भने बच्चा कोरल्नका लागि आउने गरेको छन्।
ग्रीष्मकालीन समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्रबाट गर्मी छल्नका लागि पनि चराहरू आउने गरेको पन्छी समाजले जनाएको छ।
तालको संरक्षण र उपयोगको लक्ष्यका साथ विसं २०५८ मा ३६ जना अग्रजको पहलमा स्थापना भएको सहकारीले हालसम्म ताल क्षेत्रभित्र बसोबास गर्ने स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निरन्तर प्रयास गर्दै आएको छ।
‘एक घर, एक परिवार–समान सेयर, समान मुनाफा’ को नीतिअनुसार सहकारीले हाल एक हजार ४९ सेयर सदस्य समेट्दै रु चार करोड १८ लाख ४० हजारको सेयर पुँजी सङ्कलन गरिएको छ।
Shares

प्रतिक्रिया