कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतले बजेट ४ अर्ब ३८ करोड बराबरको ल्याएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले ल्याएको बजेटमा नगर बस सञ्चालन गर्नेदेखि नगरपालिकालाई उपमहानगर पालिकाले बनाउने योजना अघि सारेको छ।
मंगलबार बसेको नगरपालिकाको १७औँ नगरसभामा उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै बजेट चालू आर्थिक वर्षको तुलनामा ७९ करोड ९ लाख १५ हजार रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले चालू आर्थिक वर्षका लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
कुल नयाँ बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पुँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) बजेट विनियोजन गरेको उपप्रमुख खनालले बताए। साथै प्रशासनिक खर्चका लागि ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ।
यस्तै, नगरपालिकाले सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिणतिरको क्षेत्रलाई आइटी पार्क निर्माण गरी खुला अध्ययन क्षेत्र तथा रोजगारीको केन्द्र बनाउन युवालाई रोजागारीमा जोड्न सूचना प्रविधिमा आधारित आइटी पार्कको अवधारणा, ‘डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नीतिअन्तर्गत उद्यमशीलता र सूचना प्रविधिलाई एकसाथ जोडिने कार्यक्रम सञ्चालन, डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तार गरी कर, सेवा शुल्कलगायत सबै भुक्तानी प्रणालीलाई ई–भुक्तानी जस्तैः मोबाइल बैंकिङ, क्युआर कोडजस्ता प्रणालीको आत्मसाथ गरिने योजना अगाडि सारिएको छ।

वीरेन्द्रनगरको आगामी बजेटले पूर्वाधारको विकास तथा विस्तारबाट सेवा, सुविधा तथा बजारमा पहुँच र उपयोग वृद्धि, सहरी सौन्दर्यका साथ जीवनयापन सुरक्षित र वातावरणमैत्री ढङ्गबाट सहजता ल्याउने उद्देश्य बजेटमा राखेको छ।
नगर बस सञ्चालामा २ करोड, महानगर बनाउन १ करोड १० लाख
यस्तै, वीरेन्द्रनगर नगरपालिकाले नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउन यस आर्थिक वर्षमा नगर बस खरिद गरी सञ्चालन गर्ने योजना बनाएको छ। जसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख नीलकण्ठ खनालले बताए।
नगरपालिकालाई उपमहानगर बनाउन नीति तथा कार्यक्रमसँगै बजेटसमेत व्यवस्थापन गरिएको छ। समयसापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख सहरी सुविधा र सुशासन कायम गर्न १ करोड १० लाख विनियोजन भएको छ।
यस्तै, उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी नदीको पानी लिफ्टिङ्ग प्रविधिमार्फत आयोजना अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्न ११ करोड ६० लाख म्याचिङ फन्डको व्यवस्था बजेटमा गरिएको छ।
नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाको मर्मत सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधार गर्न वडास्तरीय कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

चालू आर्थिक वर्षबाट सुरु भएका राजधानीकेन्द्रित सहरी सौन्दर्यका पूर्वाधार घण्टाघर पार्कलगायत अन्य पार्क एवं खुला क्षेत्र सजावट तथा पार्किङ स्थल निर्माण तथा विभिन्न वडामा सञ्चालित नगर महत्त्वका आयोजनालाई क्रमागत आयोजनातर्फ २२ करोड ३४ लाख बजेट विनियोजन भएको छ।
यस्तै, प्रत्येक वडामा कम्तीमा एक वडामा ५० लाखभन्दा ठूला नगर गौरवका पूर्वाधार आयोजना कार्यान्वयन, राजधानीकेन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाइमार्स लाइट, आइटी जोनलगायतका शहरी पूर्वाधार निर्माण गर्न १२ करोड बजेट व्यवस्थापन भएको छ।
नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको उपप्रमुख नीलकण्ठ खनालले बताए।
यस्तै, गुणस्तरीय विद्यालय शिक्षामा सबै बालबालिकाको समतामुलक पहुँच सुनिश्चित गर्न ससर्तबाहेक पाँच करोड ५९ लाख ६६ हजार, युवाहरूको क्षमता विकास गर्न तथा युवाहरूलाई नगर समृद्धिको अभियानमा परिचालन गर्न युवा सशक्तिकरण कार्यक्रम सञ्चालनतर्फ ६० लाख, युवा तथा खेलकुद क्षेत्रमा कुल ६१ लाख २५ हजार विनियोजन भएको छ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाले आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि र सुलभता ल्याउन स्वास्थ्य संस्था र स्वयंसेविकालगायत जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहमा ससर्तबाहेक एक करोड ५९ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताललाई व्यवस्थित सञ्चालन गर्न ३७ लाख ५० हजार बजेट विनियोजन गरेको छ।
हिंसापीडित महिलाका लागि आश्रय दिन तथा उनीहरूको मनोबल उच्च बनाउन सेफहाउस सञ्चालन तथा व्यवस्थापनतर्फ २० लाख र विकास प्रक्रियामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा वृद्धि गरी अर्थपूर्ण सहभागिता गराउन, युवाहरूमा अनुशासन, सक्षमता, भविष्यप्रति संवेदनशीलताको विकासका लागि ७५ लाख बजेट विनियोजना भएको नगर प्रमुख खनालले बताए।
यस्तै, नगरपालिकाले कृषि व्यवसायमा महिलाहरूको सहभागितामा वृद्धि गर्दै व्यावसायिक कृषि तथा पशुपालनमार्फत रोजगारतर्फ उन्मुख गराउनका लागि बजेट विनियोजन गरेको छ। खाद्य संकटको सामना गर्दै नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर बनानउन १ करोड ३० लाख का साथै कृषि तथा पशु विकास, उद्यम विकास र वडातहबाट कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट वयवस्थापन गरिएको छ।
यस्तै, भूमिहीनहरूलाई पूर्जा वितरणको काम गर्न २५ लाख, सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि नगरस्तरीय बजेटबाट ३० लाख, फोहोरको वर्गीकरण गरी वातावरणमैत्री ढंगले फोहोरमैला व्यवस्थापनको आधार तयार गर्न चार करोड ५० लाख बजेट नगरपालिकाले व्यवस्थापन गरेको छ।
Shares

प्रतिक्रिया