कर्णाली


विश्वकै ‘उत्कृष्ट १०’ विद्यालयमा पर्‍यो सुर्खेतको कोपिला भ्याली

विश्वकै ‘उत्कृष्ट १०’ विद्यालयमा पर्‍यो सुर्खेतको कोपिला भ्याली

नेपालखबर
असार ४, २०८२ बुधबार २२:२०, सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित गैरनाफामूलक कोपिला भ्याली स्कुल ‘ग्रिन स्कुल’ अवधारणामा विश्वकै उत्कृष्ट १० विद्यालयमा अटाउन सफल भएको छ।

स्कुलले विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ अन्तर्गत वातावरणीय कार्य श्रेणीमा शीर्ष १० मा स्थान बनाउँदै नेपालको शिक्षा क्षेत्रको गौरव बढाएको जनाएको छ।

कोपिला भ्याली स्कुलका संस्थापक अध्यक्ष टोपबहादुर मल्लले विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नवप्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलो पटक कोपिला भ्याली अन्तिम १० मा छनोट भएको जानकारी दिए। 

उनका अनुसार  ‘ग्रीन स्कुल’ अवधारणामार्फत वातावरण संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने यस विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्याङ्कन गरेको छ। साथै यो पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैली यी पाँच विधामा प्रदान गरिने उनले बताए। 

यस्तै, विज्ञ निर्णायक मण्डलद्वारा विजेताहरू छनोट गरिनेछन्। हाल सार्वजनिक अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ, जहाँ विश्वभरका मानिसहरूले आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्नेछन्।

‘सन् २०२५ अक्टोबरमा विजेता विद्यालयहरूको घोषणा गरिनेछ। यसका साथै, शीर्ष ५० मा छनोट भएका सबै विद्यालयहरूलाई नोभेम्बर १५/१६ मा अबुधाबी, यूएईमा आयोजना हुने ग्लोबल नीति संवाद कार्यक्रममा आमन्त्रण गरिनेछ। त्यहाँ विद्यालयका प्रतिनिधिहरूले विश्वभरका नीति निर्माताहरू तथा शिक्षाविद्हरूसँग आफ्ना अनुभव र कार्यदिशा साझा गर्ने अवसर प्राप्त गर्नेछन्। 

नेपालको तर्फबाट यस्तो उपलब्धि हासिल गर्नु केवल कोपिला भ्याली स्कुलको मात्र नभई, समग्र नेपाली शिक्षा क्षेत्रको लागि गर्वको विषय भएको बताउँदै संस्थापक अध्यक्ष मल्लले खुसी व्यक्त गरे। 

उनले वातावरण विद्यमा कोपिला भ्यालीलाई पदक दिलाउन भोट लिंक मा गइ भोट गरि सहयोग गरिदिन मल्लले अनुरोध गरे।

यस्तै, कोपिला भ्यालीले कर्णालीका अनाथ बालबालिकाको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ। कोपिला भ्याली स्कुल एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो, जसले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा विपन्न पृष्ठभूमिका चार सयभन्दा बढी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय सचेतना र दिगोपनासँग सम्बन्धित शिक्षा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad