राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान मात्रै रहेको प्रारम्भिक अनुमानले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी सार्वजनिक गरेको तथ्यांकमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब २ खर्ब ५६ अर्ब अर्थात् ४.१९ प्रतिशत हुने अनुमान छ।
गत आर्थिक वर्ष २०८०/८१ मा करिब २ खर्ब ४५ अर्ब रहने संशोधित अनुमान गरिएको थियो। तर, चालू आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको तथ्यांक कार्यालय सुर्खेतले जनाएको छ।
तथ्यांक समन्वय कार्यालय सुर्खेतका तथ्यांक अधिकृत केशर ओलीले चालू आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकोमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन झण्डै दुई खर्ब ५६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको कुल ग्रार्हस्थ उत्पादन दुई खर्ब ४५ अर्ब रहने संशोधित अनुमान थियो। चालू आर्थिक वर्षमा कर्णाली प्रदेशले समग्र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा चार दशमलव १९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीले चार दशमलव २९ प्रतिशत योगदान पुर्याएको थियो।
यस्तै, चालू आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्षमा उत्पादनको वृद्धिदर तीन दशमलव २६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो।
कर्णालीमा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्रमा
यस्तै, चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१ दशमलव ५० प्रतिशत) रहने अनुमान छ। साथै सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन क्षेत्र (० दशमलव १७ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३० दशमलव एक प्रतिशत) सहित अग्रस्थानमा हुने अनुमान थियो। गत वर्ष पनि खानी तथा उत्खनन क्षेत्रको योगदान अन्तिम स्थान (० दशमलव १७ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ।
यस्तै, कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आर्थिक वर्षका लागि कुल मूल्यअभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्र (१० दशमलव ४५ प्रतिशत) को र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्र (एक दशमलव ८५ प्रतिशत)को हुने प्रारम्भिक अनुमान छ।
तथ्यांक समन्वय कार्यालय सुर्खेतका तथ्यांक अधिकृत ओलीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि कुल मूल्यअभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१ दशमलव सात प्रतिशत) र सबैभन्दा कम (–१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्व ७ अर्थ हुने अनुमान गरिएको छ। जसमा बागमती प्रदेशले ३६.५२ प्रतिशत, कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत,
गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पुर्याउने अनुमान छ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य १०८९ डलर
कर्णाली प्रदेशमा प्रतिव्यक्ति कुुल गार्हस्थ्य उत्पादन १०८९ डलर अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ।
गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान छ। चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदुरपश्चिम प्रदेशको ११५३. कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान छ।
चालू आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४९६ हुने अनुमान छ। यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ।
Shares

प्रतिक्रिया