कर्णाली प्रदेशसभाको बैठकमा माओवादीसहित विपक्षी दलका सांसदहरू उपस्थिति भएनन्। सोमबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको छैठौं बैठकमा प्रतिपक्ष दलका सांसदहरूका कुर्सी खाली भएका हुन्।
बैठकमा कर्णालीका सडकका बारेमा सार्वजनिक महत्वको प्रस्ताव लगायतका विषय कार्यसूचिमा थियो। तर, सांसदहरू बैठकमा उपस्थिति नभएपछि सभामुख नन्दा गुरूङले जेठ १८ गतेसम्मका लागि स्थगित गरिन्।
बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक हिक्मत विष्टले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा कांग्रेस सांसद बलिमाया बुढा, लक्ष्मी सुनार र पूर्णबहादुर खत्री समर्थक थिए। आजकै बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले महालेखाको सातौं वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूचि भएपनि माओवादीका सांसदहरू उपस्थिति नभएको बताए।
माओवादीले केही दिनअघि सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा सहभागी हुन सांसदहरू गएपछि प्रदेशसभा प्रमुख प्रतिपक्षीविहीन बनेको हो।
आइतबार दैलेखमा आयोजना भएको कार्यक्रममा सहभागी हुन उपसभामुख बाहेकका सबै माओवादी सांसदहरू गएका थिए। पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा सहभागी हुन गएका सांसदहरू संसदमा नआएपछि प्रदेशसभामा विरोध भएको छ।
माओवादी सांसदहरू उपस्थित नभएपछि सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक कांग्रेस सचेतक विष्टले संसदमै माओवादीप्रति आक्रोश पोखे। उनले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय सहमति भएको विषयलाई माओवादीले नजर अन्दाज गरेको भन्दै विरोध जनाए।
उनले भने, ‘वर्षा सुरु हुनेबेला भएको छ। प्रदेशका बाटाहरूको अवस्था खराब छ। भौगोलिक अवस्थाका कारण सडकहरू असुरक्षित छन्। यसै सन्दर्भमा वर्षा सुरु हुन अगावै प्रदेशभरका सडकको अवस्था र सरकारको तयारीका विषय तथा विपद् व्यवस्थापनपूर्वको तयारीका बारेमा सरकारलाई ध्यानाकर्षण गराउने सहमती भएको थियो। तर उहाँहरूले अघोषितरुपमा संसद बहिष्कार गर्नु भयो।’
प्रतिपक्ष दलमा गैरजिम्मेवारपन देखियो : मन्त्री शाह
यस्तै, कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कार्यव्यवस्थाको बैठकमा सबै दलका सांसदहरूको सहभागितामा आज बैठक बस्ने भनेर सर्वसम्मत निर्णय भएपनि प्रतिपक्ष दल बैठकमा सहभागी नभएको बताए।
उनले भने, ‘कार्यव्यवस्थाको बैठकमा सबै दलको सहभागितामा आज बैठक राख्ने कुरा सर्वसम्मत निर्णय भएको थियो। सरकार पक्षले मात्रै आज बैठक राख्नै पर्ने भन्ने थिएन। हामी पनि उपस्थिति हुन्छौँ भनिसकेपछि बैठक तोकिएको हो।’
साथै मन्त्री शाहले प्रदेश सभा बैठक चलाउने जिम्मेवारी प्रतिपक्ष दलहरूको पनि भएको बताउँदै आजको बैठकमा महालेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्ने र जरुरी सार्वजनिक महत्वको प्रस्ताव (कर्णालीमा सडकका विषयहरू) भएको बताए।
उनले भने, ‘सबै दलको सहमति अनुसार बैठकका एजेण्डा तय भएका थिए। तर, प्रतिपक्ष दलका सांसदहरूको सहभागिता भएन। प्रतिपक्ष दलमा गैरजिम्मेवारपन देखियो।’
यस्तै, आफैँ सहभागी भएर बैठकको मिति तय गरेर प्रतिपक्ष दलका सांसदहरू बैठकमा सहभागी नहुनुलाई संसदीय परम्परामा अशोभनीय भएको सरकारको धारणा छ।
आज बैठक नगर्नुहोस् भन्दा सरकारले पेल्यो, हामी सहभागी भएनौँ : माओवादी
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले विपक्षी दलहरूको परामर्श र सल्लाह अनुसार बैठकमा सहभागी नभएको जानकारी दिए।
उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्नका लागि दैलेख हुँदै जाजरकोट पुगेको बताए। उनले भने, ‘म अहिले अभियानका क्रममा जाजरकोटमा छु। दलका नेता रुकुमपश्चिम हुनुहुन्छ। अन्य सांसदहरू सुर्खेततिरै हुनुहुन्छ। प्रतिपक्ष दल संसदमा गएन। बैठकमा उपस्थिति नहुने कुरामा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग परामर्श गरेर विपक्षी दलले एउटै धारण बनाउनुपर्छ भनेर बैठकमा उपस्थिति नभएका हौँं।’
यस्तै, उनले पार्टीका केन्द्रीय र प्रदेशस्तरका कार्यक्रम हुँदा पार्टीको जिम्मेवारी लिएका नेताहरू प्रदेश सभामा नभएको बताए। उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष हिजो नै कर्णाली आउनुभएको हो। आज बैठकमा सहभागी नहुने कुरा हिजो हामीले कार्याव्यवस्था बैठकमै भनेकै हो। तर, यो सरकार र सरकार सम्वद्ध दललाई एउटा भएपनि विजनेश चलाइहाल्यौँ भन्ने लाग्छ। हामीले यसमा पूर्नविचार गरौँ भनेको हो। तर, उहाँहरूले हैन २५ प्रतिशत सांसदहरू भए भइहाल्छ भन्नुभयो। त्यसो भए ठीकै छ। संसद त हामीले नचलाउनु भनेको छैनौँ। चलाउने भए चलाउनुहोस् भन्यौँ। हामी उपस्थिति भएनौँ।’
प्रमुख सचेतक जिसीले कार्यव्यवस्थाको बैठकमा साइन भएपनि बैठकमा सहभागी हुनैपर्छ भन्ने कुरा नभएको बताए।
Shares

प्रतिक्रिया