ad ad

कर्णाली


वीरेन्द्रनगरको खानेपानी समस्या समाधानमा भेरी लिफ्टिङ आयोजना, चिनियाँ कम्पनीसँग सम्झौता

वीरेन्द्रनगरको खानेपानी समस्या समाधानमा भेरी लिफ्टिङ आयोजना, चिनियाँ कम्पनीसँग सम्झौता

नेपालखबर
भदौ १२, २०८१ बुधबार १८:२७, सुर्खेत

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि सञ्चालनमा ल्याउन लागिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण चरणमा प्रवेश गरेको छ।

विगत लामो वर्षदेखि चर्चामा रहेको यो आयोजनाको निर्माणका लागि बुधबार सम्झौता भएको हो। 

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र चिनियाँ कम्पनीबीच सम्झौता वीरेन्द्रनगर नगरपालिकामा भएको छ। 

आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनिया कम्पनीका प्रतिनिधि सुशिल श्रेष्ठबीच निर्माण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

आयोजना कार्यालयले ग्लोबल टेण्डरमार्फत सिज्याङ टम्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपरेसन कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीलाई छनौट गरेको थियो। 

३ अर्ब ८ करोड बढी लागत लाग्ने 
यस्तै, भेरी नदीबाट वीरेन्द्रनगर खानेपानी ल्याउनका लागि करिब ३ अर्ब ८ करोड बढी लागत लाग्ने अनुमान गरिएको छ। 

ग्लोबल टेण्डरमार्फत सिज्याङ टम्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपरेसन कम्पनी लिमिटेड चिनियाँ कम्पनीले आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने छ। 

त्यसका लागि उक्त कम्पनीले ३ अर्ब ५० करोड आठ लाख १५ हजार २८० रुपैयाँ लागत खर्च गर्नेछ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरी खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागिएको बताइएको छ। 

संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालू आर्थिक वर्ष २०८१÷०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन सुरु गरेको हो।

भेरी लिफ्टिङ विशेष प्राथमिकतामा : नगरप्रमुख ढकाल 
यस्तै, वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखेको बताइन्। 

उनले सम्झौता गर्दै आयोजना कार्यान्वयका क्रममा कुनै समस्या आउन नदिने दाबी गरिन्। 

‘नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखेका छौँ, यसमा तीनै तहका सरकारहरुले आपसी समन्वय र सहकार्य जरुरी छ,’ उनले भनिन्, ‘मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना भएकाले आशंकाकाबीच आयोजना अघि बढाएका छौं, यसमा हामी सबै सफल बन्नुपर्छ।’ 

वीरेन्द्रनगरमा हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ।

तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन्। हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ।

यस्तो बन्नेछ आयोजना
पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिनेछ। 

इन्टेकदेखि करिब ४०० मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर–११ स्थित अमृतडाडाँमा मुख्य रिजर्भ ट्याङ्की निर्माण गरिने आयोजनाले जनाएको छ।

पहिलो चरणमै ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य प्रशारणलाइन विस्तार गरिनेछ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ। 

वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरियाको बाँकी काम हुनेछ। पहिलो र दोस्रो चरणका लागि करिब ३÷३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिनेछ।

करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिनेछ। ५५० मिलिमिटर प्रति सेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ।

अमृतडाँडामा ३० लाख क्षमताका तीन वटा रिजर्व ट्याङ्की निर्माण हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .