कर्णाली


कक्षामा हल्ला गरेको भन्दै ११ वर्षीय बालकमाथि निर्घात कुटपिट

कक्षामा हल्ला गरेको भन्दै ११ वर्षीय बालकमाथि निर्घात कुटपिट

दिनेश बुढा
फागुन ११, २०८० शुक्रबार १८:२६, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयमा अध्ययनरत एक बालक शिक्षिकाबाट कुटिएका छन्। कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मी शिक्षिकाबाट कुटिएका हुन्।

बिहीबार (फागुन १०) गतेका दिन विद्यालय समयमा अंग्रेजी विषय पढाउने शिक्षिका चेतना भण्डारीले ललितलाई कुटपिट गरेको पीडित बालकले बताएका छन्।

शिक्षिका भण्डारीको कुटाईबाट ५ कक्षामा पढ्ने ललितको दायाँ हातको पाखुरा भन्दामाथि निल डाम बसेका छन्। विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भएपनि ढिलोगरि बाहिरिएको थियो।

स्रोतका अनुसार ललितले कक्षा कोठामा हल्ला गरेको भन्दै शिक्षिकाले कुटपिट गरेकी थिइन्।

विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले बालक विद्यालयमा लडेर चोटपटक लागेको भन्दै घरै पुर्याउन गएका थिए।

बालकका एक आफन्तले भने, ‘बाबुलाई खेल्दै गर्दा लडेर शरीरमा चोटपटक लागेको भन्दै विद्यालयका कर्मचारीहरूले घरमा लगेका रहेछन्। बाबु (ललित)लाई बाटोमा खाजा खुवाएर व्यावहारिक परीक्षा (प्राटिकल) मा नम्बर हाल्दिने आश्वासन दिँदै शिक्षिकाले कुटपिट गरेको कुरा कसैलाई नभन्न भनेका रहेछन्। तर, शिक्षकहरू फर्किएपछि ललितले घरमा म्याडमले कुटपिट गरेको कुरा खुलाएका थिए।’

शिक्षिकाले स्वीकारिन् गल्ती
बालकलाई कुटपिट गर्ने शिक्षिका चेतना भण्डारीले आफूले कुटपिट गरेको स्वीकार गरेकी छन्। घटना बाहिरिएपछि विद्यालयका प्रधानाध्यापक र अभिवावकसँग बसेर गरिएको छलफलमा शिक्षिका भण्डारीले गल्ती स्वीकार गरेकी हुन्।

प्रधानाध्यापक नेत्रमणि चालिसेले बालकलाई कुटपिट गरिएको कुरा सामान्य भएका कारण विद्यालय प्रशासन अभिभावक लगायतसँग छलफल भएर घटना मिलाइ सकिएको बताए।

उनले भने, ‘घटना सामान्य हो। तपाईंहरुले यसरी नै टिप्पणी गरिदिनु पर्ला। हामीले शिक्षिकालाई घटनाका विषयमा छलफलपछि स्पष्टिकरण मागेका छौँ। उहाँले गल्ती स्वीकार गरिसक्नु भएको छ। बालकको उपचार भने विद्यालयले नै गर्ने भएको छ।’

प्राधानाध्यापक चालिसेले शिक्षिका नयाँ भएको र स्वयंसेवकको रुपमा अंग्रेजी विषय पढाउने गरको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .