राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका छन्।
भूकम्प आएलगत्तै त्यस क्षेत्रतर्फ गएका केसीले दुवै जिल्लामा भएको क्षति तथा राहत वितरणबारे जानकारी लिए।
पूर्वउपप्रधानमन्त्रीसमे रहेका अध्यक्ष केसीले प्रभावित क्षेत्रका जनतासँगै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भेट गरी राहत वितरणबारे चासो राख्नुभएको केसीसँगै प्रभावित क्षेत्र पुगेका अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।
जाजरकोट र रुकुमपश्चिमका सिडिओसँग भएको बेग्लाबेग्लै भेटमा अध्यक्ष केसीले संकलन भएको राहत पीडितलाई प्रभावकारी ढंगले बाँड्न आग्रह गरे।
‘अहिले संकलन भएर प्राप्त राहत तपाइँहरुले प्रभावकारी ढंगले बाँड्नुहोस्। पीडितहरुलाई आवश्यक थप कुराबारे सरकारसँग कुरा गर्छौं’ केसीले भने, ‘भूकम्प पीडितका लागि सरकारले घर बनाइदिनुपर्छ। त्यसबारे दबाब दिनेछौँ।’
जवाफमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आफूहरुले केन्द्रबाट आएको राहत एकद्वारा प्रणालीमार्फत वितरण गरिरहेको जानकारी दिए। त्यसले गर्दा कहिँ राहत दोहोरिने र कहिँ नपुग्ने जस्ता समस्या नरहेको उनको भनाई थियो ।
बरु पीडितलाई आवश्यक पर्नेजति राहत अझै दिन नसकिएको प्रजिअ पन्तले बताए।
यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले पनि जे जति राहत आएको एकद्वार प्रणाली अनुसार नै वितरण भइरहेको बताए।
प्रजिअ बडुवालले भूकम्पका कारण क्षति भएका भौतिक संरचनाको तथ्यांक प्रस्तुत गर्दै पूनर्निर्माणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
अध्यक्ष केसीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्नुपर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै जनताका आवास, विद्यालय, अस्पताल, बाटो, सार्वजनिक भवनहरू सबै छिटो निर्माणका लागि सर्वदलीय बैठक र प्रधानमन्त्रीसँग भेटेर पनि कुरा दबाब दिने प्रतिवद्धता जाहेर गरे।
भूकम्प प्रभावित क्षेत्रमा घुमेर अध्यक्ष केसी आज (बिहीबार) बुटवल फकेका छोरा विष्णु केसीले जानकारी दिए।
यही कात्तिक १७ गते राति गएको विनासकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमसहति आठ जिल्लामा व्यापक क्षति भएको छ।
Shares
प्रतिक्रिया