ad ad

कर्णाली


कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १६:२८, सुर्खेत

सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ। मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो।

बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ।

हवाई मार्ग रोकिए पछि  हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि  नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्।

नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ। त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुनसकेको छैन।

वर्षायाममा सडक अवरुद्ध भएकाले  बिरामी लैजान सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए।

मुगुको सोरु गाउँपालिका–८ पानमती रावलको सात महिनाको गर्भ छ तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ। रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताएका छन्।

त्यस्तै सोरु–८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बितेको बताइन्। 

उनलाई बुबाको उपचारका लागि काठमाडौँमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ।  

कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको बिकल्प खोजिनुपर्नेमा  डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले दिए।

जुफाल विमानस्थलमा दैनिक जहाजको पखाइँमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए। 

प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो।

हुम्लामा यातायात सेवा अझै जोडिएको छैन। डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ। ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले छ दिनसम्म नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए। 

नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुःख भएको उनको भनाइ थियो। उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरे। 

स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताए। दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए। 

उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन्।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि  प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए।

‘प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ। यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .