ad ad

कर्णाली


व्यवसायीले गाडी नचलाएपछि सुर्खेतको चौकुने गाउँपालिकाले थाल्यो टिपरबाट सेवा (भिडिओ)

व्यवसायीले गाडी नचलाएपछि सुर्खेतको चौकुने गाउँपालिकाले थाल्यो टिपरबाट सेवा (भिडिओ)

दिनेश बुढा
साउन २०, २०८० शनिबार १५:३६, सुर्खेत

सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकाले पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पुर्‍याउनका लागि टिपर सेवा सञ्चालनमा ल्याएको छ।

वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको हो।

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिकानै यातायातविरुद्ध उत्रिएको हो।

पालिकाले औसाउन २०) गते शनिबारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेको टिपरमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा नारासमेत उल्लेख गरेको छ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनले भने, ‘आजबाट हामीले दुई वटा टिपरबाट सेवा सुरु गरेका छौँ। भोली आइतबारदेखि थप दुई वटा टिपर थपेर चार वटाबाट सेवा सञ्चानमा ल्याउने छौँ।’

अध्यक्ष विककाअनुसार पालिकाले सुरुमा भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा उपलब्ध गराएको छ। 

यस्तै, अध्यक्ष विकले वीरेन्द्रनगरबाट चौकुने गाडी जान छोडेको ४२ दिन भइसकेको जानकारी दिए।

‘बाटो पनि राम्रो छ। बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन। केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्,’ उनले भने, ‘बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौँ। अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं।’

यातायातको व्यवस्था नभएसम्म नागरिकलाई निःशूल्क टिपर सेवा र त्यसमा लाग्ने तेल खर्च पालिकाले नै गर्ने भएको छ।

यस्तै, चौकुनेका नागरिकले राजधानी वीरेन्द्रनगर पुग्न एक सय किलोमिटरको गाडी यात्रा गर्नुपर्दछ भने चौकुने पालिकाको केन्द्र गुठुबाट मात्रै वीरेन्द्रनगर ५५ किलोमिटर टाढा छ।

पालिकाले आज पहिलो दिन ६० भन्दा बढी स्थानीयलाई टिपरबाट वीरेन्द्रनगर यात्रा निःशूल्क गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .