राजनीति


सरकारलाई ओलीको प्रश्न- भारतसँग आफ्ना मर्का राख्न नसक्ने भए डेलिगेशनको के अर्थ?

सरकारलाई ओलीको प्रश्न- भारतसँग आफ्ना मर्का राख्न नसक्ने भए डेलिगेशनको के अर्थ?

नेपालखबर
साउन २०, २०८० शनिबार १५:५४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकीसँग आफ्ना मर्का राख्न नराख्नुको अर्थबारे प्रश्न गरेका छन्। 

पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै अध्यक्ष ओलीले सो प्रश्न गरेका हुन्। 

छिमेकी भनेको मित्र भएको कथन झिक्दै ओलीले खुलस्त कुराकानी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुकेको बताएका छन्। 

‘हामीले हाम्रा छिमेकीहरुलाई खुलस्त कुरा गरेर, हामीले हाम्रा छिमेकी मित्र भन्दछौं, छिमेकी मित्र हुन्। छिमेकी मित्रसँग। एक त छिमेकी, जो बदल्न, सार्न सकिँदैन। अर्को, मित्र। अनि, मित्रसँग हामी बोल्न सक्दैनौं। आफ्ना मर्का राख्न सक्दैनौं। आफ्ना जायज हितहरू बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो,’ ओलीले प्रश्न गर्दै भने, ‘सरकारको के अर्थ भयो? कुरा गर्न सकिदैन भने डेलिगेशनमा जानुको के अर्थ भयो? किन जाने डेलिगेशन, यदि कुरै गर्न सकिँदैन भने। त्यसकारण हामीले हाम्रा छिमेकीहरुसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हीतहरुको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्दछ।’

भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले ईपीजी प्रतिवेदनको बारेमा भारतसँग कुरा राख्न नसकेको बताए। 

‘ईपीजी गठन गरिएको थियो। त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो। कुरा गर्नु भनिएको थियो। प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भएन,’ ओलीले भने, ‘हाम्रो भुगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ। त्यस सम्बन्धमा टुंगो लगाउनु पर्दथ्यो। त्यो भएन।’

उनले भूगोल र सीमाको बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने भएपनि त्यो गर्न सरकार असक्षम रहेको टिप्पणी गरे।

‘सरकारले मनपरी र बेठिक गर्दै जाने, सरकारले बेठिक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन,’ ओलीले भने। 

राष्ट्रिय हितमा अडिएर सरकारले ल्याएको जुनसुकै कुरामा पनि एकतावद्ध भएर अघि बढ्न आफूहरु तयार भएको ओलीको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .