कर्णाली


धमाधम बन्दै कर्णालीको प्रदेश रंगशाला, सकियो ६० प्रतिशत काम

दसौँ राष्ट्रिय खेलकुदलक्षित तयारी तीव्र
धमाधम बन्दै कर्णालीको प्रदेश रंगशाला, सकियो ६० प्रतिशत काम

कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन प्रदेश रंगशाला (तस्बिर : दिनेश बुढा)


दिनेश बुढा
असार २४, २०८० आइतबार २०:२८, सुर्खेत

कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत रहेको छ।

हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडान सकिएको छ। भीआईपीतर्फको प्याराफिटमा निर्माण अन्तिम चरणमा छ। जसको फिनिसिङ र छाना निर्माण मात्रै बाँकी छ। 

यस्तै, रंगशालमा पौडीपोखरी र व्यावसायिक सटर गेट निर्माणको सिभिल स्ट्रक्चर अन्तिम चरणमा पुगेको छ।

फुटबल मैदानमा दुबो लगाई स्तरवृद्धि जारी छ। एथलेटिक्स ट्याकको सवबेस र नाली निर्माण सम्पन्न भएको छ। अहिले रुख रोपेर हरियाली बनाउने कार्य जारी छ।

निर्माणाधीन रंगशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म ६५ करोड ८५ लाख रकम खर्च भएको खेलकुद परिषद्ले जनाएको छ।

परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार आगामी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडी बढाएको जानकारी दिए।

यस्तै, १०औं राष्ट्रिय खेलकुदका लागि कर्णालीले २ अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औं बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरुलाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उस आइटिफ करोते र तेक्वान्दो गरी ५ वटा रहेका छन् भने (ख) श्रेणीमा ७ वटा (वक्सिङ, फुल कन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डवल र बास्केटबल) र (ग) श्रेणीमा १० वटा (कबड्डी, डाँकेट, खोखो, व्याडमिन्टन, भलिबल, भारोतगोन, फुटबल) टिमको खेललाई वर्गीकरण गरिएको। 

यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानी तयारी गरिएको सदस्यसचिव सञ्जेलले जानकारी दिए।

यस्तै, २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रदेश छनोटका लागि जम्मा एक हजार दुई सय ३६ जना खेलाडी सहभागी भएका थिए। यसमध्ये कर्णाली प्रदेशबाट ३० वटा खेलमा ५ सय ४ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए। 

उक्त प्रतियोगितामा कर्णाली प्रदेशले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी जम्मा १८ वटा पदक प्राप्त गर्ने र प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिता अन्तर्गत २ करोड ५० लाख खर्च भएको छ।

यस्तै, गत वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा सञ्चालन भएको केन्द्रीय १३औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडि पार्दै ४ स्वर्ण पदक, ३ रजत पदक र १० कास्य सहित जम्मा १७ वटा पदक प्राप्त गरि ५औँ स्थान हासिल गरेको थियो। यस प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा ७० लाख खर्च भएको खेलकुद परिषद्ले जनाएको छ।

यस्तै, खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरुप २७ लाख ५५ हजार खर्च भएको छ।

कर्णालीको खेलकुदमा १ अर्ब १९ लाख बजेट 
कर्णाली प्रदेश सरकारले आगामी वर्ष प्रदेश खेलकुद अन्तर्गत चालुतर्फ ८ करोड ३२ लाख ७६ हजार र पूँजिगततर्फ ९१ करोड ८० लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ। 

जसमा निर्माणधीन प्रदेश रंगशालाको निर्माणका लागि ८५ करोड, हुम्ला हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कवर्ड हल निर्माणका लागि ३० लाख, दशौं राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि २ करोड, चिसापानी खेल मैदान निर्माण सुर्खेतका लागि २४ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, सुर्खेतस्थित मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिममा ६० लाख, कालिन्चोक खेल मैदान निमार्ण सुर्खेतमा २५ लाख, जिल्लास्तरीय खेलकुद मैदान निर्माणमा २ करोड, कुदु रंगशाला निर्माण जाजरकोटमा १५ लाख, दशौं राष्ट्रिय खेलकुद तयारिको लागि ७० लाख, प्रदेश स्तरीय टिम तयारी तथा प्रशिक्षणको लागी जम्मा ४ करोड ७० लाख र मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमाका लागि १ करोड १० लाख बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .