कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार (चैत १७ गते) विश्वासको मत लिने भएका छन्।
विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन मुख्यमन्त्री शर्माले सभामुखसँग आग्रह गरेका छन्।
मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रमाणित गर्न विश्वासको मत लिन लागेको जनाएका छन्।
कर्णाली प्रदेशमा तत्कालीन एमाले माओवादी गठबन्धनबाट माओवादी नेता शर्मा मुख्यमन्त्री बनेका हुन्।
एमाले अलमलमा
यता नेकपा एमालेले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने भएपछि विश्वासको मत दिने वा नदिने भन्ने विषयमा कुनै निर्णय गरेको छैन।
एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल छन्।
कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शर्मा गत पुस २७ गते नियुक्त भएका थिए। कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद छन्। प्रदेश सभाको बैठक यही चैत १७ गते दिउँसो ३ बजे बस्दैछ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मालाई राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका छन्।
एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित २५ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए।
राष्ट्रिय राजनीति पुरानै गठबन्धनमा रुपान्तरण हुँदा राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रतिक्रिया