अविरल वर्षाका कारण गएको भदौ २१ गते चौकुने गाउँपालिकाका धेरै बस्तीमा क्षति पुर्यायो।
उक्त बाढीपहिरोले चौकुने गाउँपालिका–८ भट्टेसरा भाम्लेका चार घरमा पूर्णरूपमा क्षति पुग्यो। अहिले भाम्लेका बाढीपहिरो पीडित पालको घरमा विगत ६ महिनादेखि बस्दै आएका छन्। बस्ती माथिबाट आएको पहिरो र बस्ती तलतिर नजिकै रहेको खोलामा आएको बाढीका कारण बस्ती नै जोखिममा रहेको छ।
उक्त टोलका अगुवा टेकबहादुर विकले बाढीपहिरोको कारणले गर्दा देवीराम बिक, जानकी बिक, टेकबहादुर बिक र विष्णा बिकको घर पूर्णरूपमा क्षति भएको बताए। बस्तीमा अझैँ तीनवटा घर उच्च जोखिममा र ७ वटा जोखिममा छन्।
जसध्ये बलबहादुर बिक, सुन्तली बिकको दुईवटा गरी तीनवटा घर उच्च जोखिममा छन्।
कृष्ण बिक, खगी बिक, जिरु बिक, शशिराम बिक, दीपा बिक, प्रेम बिक र भरत सुनारको घर जोखिममा रहेका अगुवा टेकबहादुरले बताए।
उनले भने, ‘यो साल हिउँदको समयमा भएकाले जसोतसो ६ महिना बितिसक्यो अब बर्षायामको समय सुरु हुँदैछ। बर्षायाम सुरु हुनासाथ जोखिम र उच्च जोखिममा रहेका घरमा पनि क्षति पुग्ने देखिन्छ।’
टेकबहादुरले बाढीपहिरोले घरमा क्षति पुर्याएको ६ महिनासम्म वडा कार्यालय तथा स्थानीय सरकारले कुनै सहयोग नगरेको गुनासो गरे।
उनले भने, ‘बाढीपहिरो आएको केही दिनमा रेडक्रस सोसाइटीले पाल दिएको थियो। हामी त्यहीँ पालको घरमा बस्दै आएका छौँ। पानी परेको दिन चुहिने गर्छ। पालमाथि खर छाएका छौँ।’
अर्का पहिरो पीडित कृष्ण बिकले बाढीपहिरोले घर र खेतीयोग्य जमिनमा समेत क्षति पुगेको बताए। क्षतिपछि सुन्दर नेपाल संस्थाले पहिरोपीडित १० घरलाई प्रतिघर १० हजार १४ रुपैयाँ वितरण गरेको बताए। तर सरकारले कुनै सहयोग नगरेको गुनासो उनले गरे।
उनले भने, ‘संघसंस्थाले सहयोग गरे। तर, पालिकाले एक बोरा चामल मात्रै दियो। अरु कुनै सहयोग गरेन।’
भाम्लेका नागरिकले त्यो स्थान माथिबाट पहिरो र तल खोलाबाट बाढीको उच्च जोखिम रहेका भन्दै बस्ती स्थानान्तरणका लागि पालिकासँग अनुरोध गरिरहेका छन्। तर पालिकाले कुनै चासो नदिएको गुनासो उनीहरूको छ। पहिरोले पूर्णरूपमा क्षति गरेका घरपरिवारहरू बस्ती नजिकैको जग्गामा पालको घर बनाएर बसेका छन्।
चौकुने पालिकाभित्र बाढीपहिरोले क्षति पुर्याएको बारे यकिन गर्न चौकुने गाउँपालिका–३ का वडा अध्यक्षको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको भएपनि हालसम्म कुनै काम नभएको पीडितहरूको भनाइ छ।
भाम्लेका बाढीपीडितहरुले कर्णाली प्रदेश सरकारसँग बर्खाको समय अगाडि नै दीर्गकालीन व्यवस्थापनका लागि आग्रह गरेका छन्।
पीडित दीपा बिकले भनिन्, ‘स्थानीय सरकारले हामीलाई हेरेन, हाम्रो गुनासो सुनेन। बासको लागि जिल्ला विपद् व्यवस्थापनसँग पहल गरिदिन अनुरोध गर्दछौँ।’
बाढीपीडितको गुनासो सुनिसकेपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले पुनर्स्थापनाका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन सुर्खेतसँग समन्वय गरी बस्तीको व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
पञ्चपुरी नगरपालिका–९ र चौकुने गाउँपालिका–९ को सिमानामा पर्ने चौकुने खोलामा आएको बाढीले बसन्त कुन्डा, ठकुरी टोल र खराल टोलमा क्षति पुगेको थियो। अन्नका लागि उर्वर त्यहाँको २४ रोपनी जमिनमा पहिरो खसेर खेती गर्न नमिल्ने भएको छ।
प्रतिक्रिया