ad ad

कर्णाली


वृद्धभत्ता पाउने उमेरमा नागरिकता!

वृद्धभत्ता पाउने उमेरमा नागरिकता!

नेपालखबर
चैत ७, २०७९ मंगलबार १०:३९, काठमाडौँ

बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली। सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ।

नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ। नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो।

साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा। उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ। जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन्। तर केउडीलाई भने यो विषयमा जानकारी छैन।

शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो। नागरिकता भाइ गोमाले सनाखत गरे। 

गोमाले विसं २०६३ मा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएका रहेछन्। शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो।

बोल्न नसक्नेदेखि सुस्त मनस्थितिकी बोहरालाई नागरिकता दिन्छन् या दिँदैनन् भन्ने गाउँमा कसैलाई थाहा भएन। ‘नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन’,  गोमाले भने, ‘कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन) सबैले पोर परार (केही वर्षअघि)मात्रै नागरिकता लिएका हुन्।’

गोमा पनि नागरिकता हुँदा–नहुँदाको अर्थ देख्दैनन्। ‘डेढ दशकअघि नागरिकता लिएको हुँ’, गोमा भने, ‘यो कतै काम लागेको छैन। जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु। यसको अर्थ पनि बुझेको छैन।’

यतिमात्रै होइन, गोमालाई बझाङी भाषासमेत आउँदैन। उहाँ आफ्नै गाउँमा बोलिने भाषामात्रै बुझ्छन्। साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि छन् भन्ने सुनिन्थ्यो। ‘अहिले घरमा दिदीभाइमात्रै रहेछन्। आयस्रोतविहीन, सहाराविहीन दिदीभाइलाई पालिकाबाट अब एकल पुरूष र वृद्धाभत्ता दिने तयारी गरेका छौँ’, उनले भनिन्।

बलौडीकी खिन्तुरी बोहराले ५१ वर्षमा पाइला टेकिन्। वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो। मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन।

जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित भएकी खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते। ‘शनिबार नागरिकता दिने भनेर धुली माविमा ल्याउनु भनेका थियौँ”, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘खिन्तुरी धुली माविबाट भाग्नुभएको रहेछ। पछि आफन्तले खोजेर ल्याए। रून थाल्नुभयो, सबैले सम्झायौँ र नागरिकता हातमा थम्यायौँ। हजार–बाह्र सय रुपैयाँ पनि दियौँ।’

खिन्तुरीले भने पैसाको कुनै मतलब गरिनन्। ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ। त्यसको आवश्यकताबारे झन् के थाहा हुनु!’ अध्यक्ष बोहरा भन्छन्। 

बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन्  सबलाङ्ग गोमाहरूका लागि पनि नागरिकता प्रयोगहीन भएको छ। गाउँमा राज्यको उपस्थिति नहुँदा गोमाहरू हरेक कुरामा अनभिज्ञ छन्। उनीहरूका लागि धुली, बलौडी, न्यूना नै संसार छ।

राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार–व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता। 

नागरिकताविहीनले भने केही गर्न सक्दैन।

‘धुली, बलौडीमा धेरैले नागरिकताको महत्वबारे बुझेकै छैनन्’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘खिन्तुरी र केउडीले जीवनको उत्तराद्र्धमा भए पनि नागरिकता प्राप्त गर्नुभयो। अब यसको महत्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ।’ नागरिकता भएपछि राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए।

‘राज्यको उपस्थिति नभए जनतामा चेतना पनि उब्जँदैन’, उनले थपे, ‘हामी २१औँ शताब्दीका नारा लगाइरहेका छौँ, तर साइपालका केही गाउँमा भने अझै १५–१६औँ शताब्दीका मान्छे बसिरहेका छन्। यो लामो दूरीलाई छोट्याउने सोचले हामी साइपाल पुगेका हौँ।’

उनले पाँच–छ दशकसम्म पनि नागरिकता नपाएको सुन्नेबित्तिकै साइपाल जान तयार भएको बताए। ‘साइपाल जान कुनै अधिकारीहरू पनि तयार हुँदैनन्’, उनले भने, ‘साइपालमा वृद्धाभत्ता खाने उमेरमा समेत नागरिकता पाएका छैनन् भने सुनेपछि जसरी नै साइपाल पुग्ने तयारीका साथ गएका हौँ।’

खिन्तुरी र केउडीलाई नागरिकता दिइरहँदा कार्यक्रम भइरहेको मञ्चको पछाडिपट्टि दर्जन बढी महिला बसेका थिए। 

नागरिकताको महत्व, सेवा सुविधाबारे प्रजिअ पाण्डेयले सुनाएपछि ती महिला कानेखुसी गर्न थाले। पाण्डेयले पछाडि फर्केर नागरिकताको विषयमा कुरा गर्दा दुई जना नागरिकता नलिएका भेटिए। 

वर्ष ४५–४५ का महिलाले नागरिकता नपाएको सुनेपछि उनलाई वडा कार्यालयमा सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियामा लाग्न प्रजिअले सुझाव दिए।

‘पहिलेको जसरी गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो’, प्रजिअ पाण्डेयले भने, ‘पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन। डिजिटलमा गइसकेपछि इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन। दुई जनाको भने जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौँ।’

नेपालको संविधानको भाग २ को धारा १० को उपधारा (१) मै भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन। धारा ११ को उपधारा (२) मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने भनेको छ। तर साइपाल भने निकै टाढा हुँदा राज्य र जनताको दूरी झनै लामो भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .