कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई तोकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी कानून मन्त्री जिसीलाई दिने निर्णय गरेको हो।
बैठकले २०७९ फागुनदेखि मन्त्रिपरिषद्को वैठक प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार दिउँसो ४ बजे बस्ने निर्णय पनि गरेको छ।
यस्तै, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयले एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन नियमावली, २०७९ स्वीकृत गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभर प्रदेश र स्थानीय तहका कार्यालयका लागि मात्र २०७९ फागुन १ गते सोमबार जनयुद्ध दिवसको सार्वजनिक विदा दिने सोको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय वैठकले गरेको छ।
साथै बैठकले भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको संगठन तथा व्यवस्थापन, बजेट तथा कार्यान्वयन र कार्य जिम्मेवारी सम्बन्धनमा चालु आर्थिक वर्षमा २०७९/०८० को असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौैल गर्ने, एकीकृत मन्त्रालयको नाममा चालु आर्थिक वर्षको असार मसान्तसम्म साविकका दिइएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ।
यस्तै, हाल कार्यरत प्रदेश सचिव (भौतिक, पूर्वाधार तर्फ र उर्जा तथा जलस्रोत तर्फ) हरुले साविकको कार्यजिम्मेवारी अनुसारकै कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितिमा एकले अर्काको कार्यसम्पादन गर्ने निर्णय भएका छन्।
प्रतिक्रिया