ad ad

कर्णाली


कर्णालीमा गठबन्धनसँग बहुमत, कांग्रेस–माओवादीमा कसले पाउला मुख्यमन्त्री?

कर्णालीमा गठबन्धनसँग बहुमत, कांग्रेस–माओवादीमा कसले पाउला मुख्यमन्त्री?

दिनेश बुढा
मंसिर २८, २०७९ बुधबार १७:२८, सुर्खेत

कर्णाली प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ४० जना सांसद चुनिने गर्दछन्। १० जिल्ला रहेको कर्णाली प्रदेशका २४ प्रत्यक्ष र १६ समानुपातिकबाट गरि ४० सांसद निर्वाचित हुन्छन्। मंसिर ४ गते भएको आम निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल बनेको छ।

दोस्रोमा माओवादी केन्द्र र तेस्रो दल नेकपा एमाले बनेको छ। २०७४ सालको निर्वाचनमा तत्कालिन माओवादी र एमालेबीच बनेको वामगठबन्धनबाट एमाले पहिलो दल बनेको थियो। यस पटकको निर्वाचनमा एमाले तेस्रो दलमा झरेको छ भने ०७४ मा एक सिट जितेको कांग्रेस पहिलो दल बनेको छ।

सरकार निर्माणका लागि गठबन्धनको बहुमत
कर्णालीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच बनेको गठबन्धनले बहुमत ल्याएको छ। प्रत्यक्ष र समानुपातिक तर्फको मतपरिणाम अनुसार गठबन्धन सरकार बनाउन सुविधाजनक बहुमतमा छ। सत्तारुढ गठबन्धनमा कुनै हलचल नआएको खण्डमा कर्णालीमा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिन्छ।

कुल ४० सिटमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष ९ र समानुपातिक ५ गरेर १४ सिट प्राप्त गरी पहिलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरेर जम्मा १३ सिट पाएको छ। 

यस्तै, नेकपा एमालले प्रत्यक्ष ५ र समानुपातिक ५ गरेर १० जना निर्वाचित गरेको छ। 

प्रत्यक्षतर्फ स्वतन्त्र १ जनाले जित्दा राप्रापा र एकीकृत समाजवादीबाट १/१ जना समानुपातिक सांसद बनेका छन्। यस हिसाबले हेर्दा वर्तमान सत्ता गठबन्धन कायमै रहेमा सजिलै सरकार बन्न सक्छ।     

प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा भने पहिलो बनेको छ। ५ लाख ७७ हजार ८२९ भोट मध्ये १ लाख ८३ हजार ९५० भोट ल्याएर एमाले पहिलो दल बनेको हो।

त्यस्तै, प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ। प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा माओवादी केन्द्र समानुपातिकमा तेस्रो दलको हैसियतमा खुम्चिएको छ। माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ।  एकीकृत समाजवादीले ३५ हजार ८२६ भोट ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ। यी दुई दलले प्रत्यक्षमा कुनै जित हासिल गर्न भने सकेनन्। 

मुख्यमन्त्रीको चर्चामा को को?
भावी मुख्यमन्त्रीको चर्चामा कर्णालीमा कांग्रेस, माओवादी र एमालेबाट ५ जनाको नाम चर्चामा छ। एमालेबाट यामलाल कँडेल र विनोदकुमार शाह, माओवादीबाट विन्दमान विष्ट र राजकुमार शर्मा तथा नेपाली कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीको मुख्य चर्चा रहेको छ। 

यस्तै, मतपरिणामले एमालेलाई सरकार बनाउन सिट पुग्दैन। एमालेले सरकार बनाउनका लागि कांग्रेस र माओवादीमध्ये एक दलको साथको आवश्यकता पर्ने देखिन्छ। यदी गठबन्धनकै सरकार गठन भएको खण्डमा गठबन्ध दलभित्रैबाट को मुख्यमन्त्री हुने भन्ने विषयमा अन्यौल देखिएको छ। माओवादीबाट मुख्यमन्त्रीका आकाङ्क्षी विष्ट र शर्मा छन्। विष्ट भन्दा वरिष्ठताका आधारमा शर्माको सम्भावना बढी देखिन्छ। यद्यपी, विष्ट यसअघि अर्थमन्त्री भइसकेका छन्। 

‘यदि माओवादीले सुरुमा नेतृत्व गर्ने अवसर आएको खण्डमा शर्मा नै मुख्यमन्त्री बन्ने पक्का भएको छ’ माओवादीका एक नेताले भने। 
ती नेताले मुख्यमन्त्री शर्मालाई नै बनाउने गरेर माओवादीले रुकुमपश्चिमबाट चुनाव लड्न लगाएको दाबी पनि गरे।  

यस्तै, कर्णाली प्रदेश कांग्रेसको भागमा परेको खण्डमा हालका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही नै पुनः मुख्यमन्त्री बन्ने देखिन्छन्। कांग्रेस भित्रै मुख्यमन्त्रीका दाबेदार जाजरकोटका राजीवविक्रम शाह पनि छन्। तर, दुई नेतामध्ये शाहीकै सम्भावना बढी देखिन्छ। 

यसअघि चुनावको प्रचारप्रसारको समयमा कर्णाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुम्लामै गएर मुख्यमन्त्री हुने नेता जीवन नै भएको बताएका थिए। त्यसपछि जीवनबहादुर शाही आफै मुख्यमन्त्री हुनेमा ढुक्क बनेका छन्। तर, माओवादीले कर्णाली माओवादीको आधार इलाका भएका कारण माओवादीले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने नेताहरुको दाबी छ।

दलका आ–आफ्नै दाबी
सरकार गठनका लागि गठबन्धन दलभित्रैका दलले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेका छन् भने एमालेले दाउ पर्खेर बसेको छ। 

नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताउँछन्। पहिलो चरणमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार बन्नुपर्ने उनको तर्क छ। 

उनले भने, ‘हामीले जे भनेपनि प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा पहिला केन्द्रमा कसको सरकार बन्छ भन्ने कुराले निर्धारण गर्छ। तर, अन्य प्रदेश भन्दा जनाधार बलियो कर्णालीमा रहेकाले माओवादीले नै पहिलो चरणमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी माओवादीको हो।’ 

यस्तै, पहिलो दल कांग्रेस पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आश्वासनका कारण सरकारको नेतृत्व पाउनेमा ढुक्क देखिन्छ। चुनावी अभियानका क्रममा हुम्ला पुगेका प्रचण्डले जीवनबहादुर शाहीलाई नै पुनः मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका थिए। 

कांग्रेस प्रदेश सभापति ललितजंग शाही पहिलो दल कांग्रेस भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्छन्। 

तर, कर्णालीमा कसको नेतृत्वमा सरकार बनाउने कुरा केन्द्रले निर्धारण गर्ने र त्यसै अनुसार अगाडि बढ्ने कुरामा भने दुवै दलका नेताहरु सहमत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .