कर्णाली


कर्णालीमा पहिलोपटक खाद्य मापन प्रयोगशाला सञ्चालन

कर्णालीमा पहिलोपटक खाद्य मापन प्रयोगशाला सञ्चालन

कर्णाली प्रदेशमा पहिलोपटक सञ्चालनमा आएको खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला।


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १२:३५, सुर्खेत (भेरीगङ्गा)

कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ। खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो।

हालसम्म प्रयोगशाला नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो। कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलोपटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्वस्नीयता पनि बढेको जानकारी दिए। 

‘हामीले कर्णालीमै पहिलोपटक खाद्य वस्तुको गुणस्तर मापनका लागि ल्याब स्थापना गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म हामीले दूध, तेल, सागपातलगायतका ९६ वटा नमूना परीक्षण गरिसकेका छौँ, यसले नागरिकको गुणस्तरीय खाद्यान्न प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ।’

प्रयोगशाला स्थापनापछि खाद्यान्नप्रतिको नागरिकको गुनासो सम्बोधन हुँदै गएको उनले बताए। प्रयोगशालामा पर्याप्त जनशक्तिको अभाव देखिएको छ। ल्याब मात्र चलाउने नभई कार्यालयमा २१ जनाको दरबन्दी भएको उल्लेख गर्दै उनले अहिले आठ जनामात्रै कर्मचारी रहेको जानकारी दिए। “कर्मचारी अभावमा हामीलाई सेवा दिन असहज भइरहेको छ, यो समस्या चाँडै समस्या हुनुपर्छ”, उनले भने। 

कार्यालयले बजार अनुगमनलाई पनि तीव्रता दिएको छ। साउनदेखि असोजसम्म दुई सय ४८ पटक बजार अनुगमन गरिएको र मापदण्ड बाहिर रहेका तीनवटा दलहन उद्योग शिलबन्दी गरिएको छ। अहिले कार्यालयलाई प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगलिक विकटता, सीमित स्रोत, साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाले बताए। 

करिब ४१ प्रतिशत त्रैमासिक प्रगति

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आफ्नो तीन महिनाको प्रगति सार्वजनिक गरेको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्रैमासिक समीक्षा गर्दै आफ्नो तीन महिनाको प्रगति सार्वजनिक गरेको हो। जसअन्तर्गत कार्यालयले ४०.६७ प्रतिशत लक्ष्य पूरा गरेको जनाएको छ। कार्यालयका निमित्त प्रमुख थापाले कार्यालयले ४०.६७ प्रतिशत भौतिक प्रगति र ५६.६८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिए। 

यता माथिल्लो कर्णालीका तीन जिल्ला हेरिरहेको जुम्ला कार्यालयका प्रमुख डा ईश्वर सुवेदीले तीन महिनामा जुम्ला कार्यालयले ७५ प्रतिशत लक्ष्य पूरा गरेको बताए। त्यसैगरी ५६.४८ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ। कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पानी, दूध र तेलमा उपभोक्ता ठगी हुने गरेको भन्दै यसतर्फ अनुगमनलाई बढाउन सुझाव दिए। 

उनले विशेषगरी आम उपभोक्तालाई आफूले खाने खाद्यवस्तुको गुणस्तरका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा नागरिक समाजका अगुवा पिताम्बर ढकालले उपभोक्ताको हितका लागि कार्यालयले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै अनुगमन तथा गुणस्तर मापनलाई जोड दिनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad