करेन्ट लागेर दैलेखमा एक बालिकाको निधन भएको छ। जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानी घर भएकी अन्दाजी १३ वर्षीया बालिका दिपिका नेपालीको निधन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गुराँस–४ आफ्नो घरदेखि गुराँस गाउँपालिका–२ स्थित मामाघर गएकी ती बालिकालाई कच्ची सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेको हो।
दिपिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
हिँडिरहेको अवस्थामा कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ।
बालिकाको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ।
बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
Shares
प्रतिक्रिया