ad ad

अन्तर्वार्ता


चन्द्र ढकालसँग वार्ता : म सधैँ व्यवसायीको सारथि हुँ, देशव्यापी व्यावसायिक नेटवर्कले जित सुनिश्चित गरेको छ

चन्द्र ढकालसँग वार्ता : म सधैँ व्यवसायीको सारथि हुँ, देशव्यापी व्यावसायिक नेटवर्कले जित सुनिश्चित गरेको छ

सन्तोष न्यौपाने
मंसिर १०, २०७७ बुधबार ६:१९,

नेपाल उद्योग वाणिज्य महासंघ बिहीबार सुरु हुने ५४औँ साधारणसभा तथा निर्वाचनको अन्तिम तयारीमा छ। चैतमै हुनुपर्ने साधारणसभा कोरोना संकटका कारण सात महिना पछि धकेलिँदै मंसिर ११, १२ र १३ गतेका लागि तय भएको हो।

निर्वाचनअगावै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण शेखर गोल्छा महासंघको अध्यक्ष सुनिश्चित हुँदा यो चुनावले वरिष्ठ उपाध्यक्षसहित नयाँ टिमको चयन गर्नेछ। वरिष्ठ उपाध्यक्षको निम्ति महासंघमा हाल उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच आआफ्नो प्यानलसहित प्रतिस्पर्धा हुँदै छ। निर्वाचनको यही सेरोफेरोमा वरिष्ठ उपाध्यक्ष पदका एक प्रतिस्पर्धी ढकालसँग नेपालखबरले गरेको वार्ता : 

नेपाल उद्योग वाणिज्य महासंघको अहिलेसम्मको यात्रामा तपाईंले यसरी चुनावमा लागिपर्नु परेको थिएन। यसअघिका चुनावमा निर्विरोध नै हुनुभयो। भर्खर कोरोना भाइरस संक्रमणबाट निको हुनुभएको छ। चुनावी दौडधूप कस्तो हुँदै छ?
केही समयअगाडि म कोरोना संक्रमित हुनपुगेँ। तर अहिले निको भइसकेको छु। केही समय आराम गरेपछि पुनः उस्तै सक्रियताका साथ देशैभरिका व्यवसायी साथीहरूसँग भेटघाट र छलफलमा सक्रिय छु। नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गतेका लागि तय भएको छ। चुनावी दौडधूपको कुरा गर्दा म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरू र देश दौडाहामा लाग्ने व्यक्ति होइन।

मेरो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ। म उपाध्यक्ष भएदेखि नै महासंघका कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु। यिनै कुराहरूलाई निरन्तरता दिँदै अहिले पनि देशैभरिका व्यवसायी साथीहरूसँग भेटघाटमै सक्रिय छु।

उद्योगी, व्यवसायी साथीहरूकै सक्रियतामा देशका विभिन्न स्थानहरूमा चुनावलक्षित कार्यक्रमहरू भइरहेका छन्। हाम्रो एजेण्डाहरू प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ। मलाई र मेरो टिमलाई देशैभरिबाट साथ, समर्थन र सद्भाव प्राप्त भएको छ। वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारीलाई सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र आमरुपमा उत्साह पनि थपेको छ।

कोरोना संकटका बेलामा सहमतिमा नेतृत्व चयन गरेको भए हुन्थ्यो भन्ने जिल्ला नगरका व्यवसायीहरूको चाहना छ। यसै कारण साधारणसभा सात/आठ महिना पछि धकेलिएको छ। नेतृत्व दुई प्यानलमा बाँडिँदा निजी क्षेत्रको एकतामा असर गरेको भन्ने गुनासो तल्लो तहको छ। विषम परिस्थितिमा सहमतिमा जाऊँ भन्ने वातावरण किन बनेन?
गत चैतमा हुनुपर्ने महासंघको ५४औँ साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो। बीचमा पटक–पटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुनसकेको थिएन। चुनाव गर्नुभन्दा अहिलेको अवस्थामा सहमतिबाटै अगाडि बढ्नुपर्छ भनेर प्रयासहरू पनि भएका थिए।

सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्यो भन्ने मेरो धारणा हो। तथापि, सहमतिको सम्भावना अन्तिमसम्म नै रहिरहन्छ। सहमति हुन नसकेको अवस्थामा म स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नेछु र सर्वाधिक मतले विजयी हुनेछु।

सहमतिमा आउने प्रयास केले रोक्यो?
मैले भनिसकेँ– सर्वसम्मतिको पहल समयमै गरिनुपर्थ्यो। तर सहमतिका लागि पहिलो शर्त भनेको उम्मेदवारहरूको व्यक्तिगत तथा व्यावसायिक अवस्था र मतदाताको आकांक्षा हो। यसबीचमा उचित सहमतिका प्रस्तावहरू आएनन्। तसर्थ हामी स्वस्थ प्रतिस्पर्धा गर्दै चुनावमा होमिएका छौँ। तर यसको मतलब चुनाव गलत हो, चुनाव नै हुनुहुँदैन भन्नेचाहिँ होइन। चुनावले कुनै पनि संस्था कमजोर हुँदैन। स्वच्छ र प्रजातान्त्रिक प्रतिस्पर्धाले महासंघलाई अझ बलियो बनाउँछ।

chandra dhakal3

पूर्वअध्यक्षहरूले सहमतिको प्रयास गर्दा तपाईंलाई वरिष्ठ उपाध्यक्ष दिने र त्यस तलको पदहरू दुई प्यानललाई आधा आधा गर्ने भन्ने प्रस्ताव आएको थियो भन्ने चर्चा छ। तपाईंले यो प्रस्ताव किन मान्नुभएन?
तपाईँले बताउनुभएको प्रस्तावप्रति मलाई औपचारिक रुपमा जानकारी छैन। तर सहमतिका लागि उम्मेदवारहरूको व्यक्तिगत तथा व्यावसायिक अवस्था र मतदाताको आकांक्षालाई प्राथमिकतामा राखिनुपर्छ भन्ने मेरो धारणा हो।

भावी अध्यक्ष त खुलेरै तपाईंको विपक्षको प्यानलमा लाग्नुभएको छ। यदि तपाईंले जित्नुभयो भने उहाँसँगको आगामी कार्यकालमा हुने सहकार्यमा कस्तो प्रभाव पर्ला?
चुनावमा मेरो प्रतिस्पर्धी किशोर प्रधानजी हो तर केही समूहले भावी अध्यक्ष शेखर गोल्छाजीलाई मेरो प्रतिद्वन्द्वीजस्तो बनाई प्रचार गर्दै छन्। यो चुनावी फण्डा र भ्रमप्रति आम उद्योगी व्यवसायी मतदाता साथीहरू पूर्णतः जानकार हुनुहुन्छ। मेरातर्फबाट कुनै गुटबन्दी हुनेछैन। भावी अध्यक्षका राम्रा कामहरूलाई अगाडि बढाउने र उहाँको नेतृत्वमा महासंघको साख ऊँचो बनाउन मैले सशक्त भूमिका निर्वाह गर्नेछु।

तपाईंहरूले चुनावी प्रचारमा जाँदा आफ्नो पक्षमा ‘क्लिन स्विप’ हुन्छ भन्नुभएको छ। त्यसरी एकलौटी जित्छु भन्ने आधारहरू के छन्?
मेरो उम्मेदवारीमा आम उद्योगी, व्यवसायीहरूले अपनत्व महशुस गर्नुभएको छ। सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूको साझा उम्मेदवार हुँ म। यसलाई मैले चुनाव जित्ने बलियो आधारको रुपमा लिएको छु।

त्यस्तै, हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ। रेमिट्यान्स, बैंक, इन्स्योरेन्स, मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्लाका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौँ। मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ। यसले मेरो जितलाई अझ सुनिश्चित गरेको छ।

अर्को महत्वपूर्ण आधार भनेको हाम्रो टिम हो, जसले गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउनसक्ने हैसियत राख्छ। यसले साना तथा ठूला व्यवसायीका समस्याहरूको समाधानमा सक्रिय भूमिका निभाउनसक्छ। समाधान खोज्नसक्छ। महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदै नयाँ उचाइमा पुर्याउन हाम्रो टिम सक्षम र प्रतिबद्ध छ।

chandra dhakal2

तपाईं महासंघको नेतृत्वमा जानुपर्ने कारण के–के हुन्?
महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आम व्यवसायीहरूको आवाज हो। मेरो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ। यही व्यावसायिक नेटवर्ककै माध्यमबाट म सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगत क्षेत्रका साथीहरूको नजिक छु।

म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका कठिनाइलाई सहजै बुझ्नसक्छु र तिनको समाधानका लागि नीतिनिर्माताका तहसम्म पुर्याउने क्षमता राख्दछु। यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजी क्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्छु। हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ।

नेतृत्वमा पुगेपछि आफ्नो व्यवसायलाई मात्र महत्व दिने, राजनीति गर्ने आरोप तपाईंमाथि लाग्दै आएको छ। कोरोना संकटले देशकै अर्थतन्त्रलाई गम्भीर असर गरेको अहिलेको प्रतिकूल अवस्थामा तपाईंले वरिष्ठ उपाध्यक्ष र त्यसपछि अध्यक्ष हुँदा के–के गर्छु भनेर मतदातालाई आश्वासन बाँड्नुभएको छ?
अधिकांश उद्योगी, व्यवसायी साथीहरूको यो मुख्य गुनासो हो। चुनाव वा कुनै आफूलाई लाभ हुने समय परिस्थितिमा मात्र मतदाताहरूसँग नजिक हुने तर स्वार्थपूर्ति भएपछि उपेक्षा गर्नेजस्ता व्यवहार महासंघकै प्रतिनिधिहरूबाट नभएका होइनन्।

मैले सुरुमै तपाईँलाई अवगत गराइसकेँ– म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरू र देश दौडाहामा लाग्ने व्यक्ति होइन। हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ। म व्यवसायी साथीहरूलाई के भन्न चाहन्छु भने म तपाईंहरूको सधैँको सारथि हो। महासंघको नेतृत्वमा हुँदा होस् वा नहुँदा, म सधैँ तपाईंहरुकै साथमा रहन्छु। मेरो आफ्नै व्यावसायिक नेटवर्कका कारण पनि म व्यवसायीहरूसँग टाढा रहनै सक्दिन।

रह्यो कुरा कोरोना संकटको यस महामारीले विश्वकै अर्थतन्त्रमा असन्तुलन सिर्जना गरको छ। अवश्य पनि हाम्रो मुलुकको अर्थतन्त्रमा यसले गम्भीर असर पारेको छ। अबका दिनमा आर्थिक पुनरुत्थानका कामहरूलाई प्राथमिकताको केन्द्रमा राखेर अगाडि बढ्नुपर्दछ। अन्यथा, निजी क्षेत्र उठ्नै नसक्ने गरी थला पर्नेछ र यसको मूल्य हामीले मात्र नभई राज्यले नै चुकाउनुपर्ने अवस्था आउनसक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .