ad ad

अन्तर्वार्ता


सेयरबजारमा अरुले कमाएको देखेर आउनेहरूले खाने भनेको घाटा मात्रै हो : मुराहरि पराजुली (अन्तर्वार्ता)


सम्झना घिमिरे
भदौ १८ , काठमाडौँ

चिया पसलदेखि संसदसम्मै चर्चा कमाएको सेयरबजार पछिल्लो १ महिनादेखि रफ्तारमा तलमाथि गरिरहेको छ। १ महिनामै नेप्से सूचकले १ हजार विन्दु पार मात्रै गरेन, लगानीकर्ताले इतिहासकै धेरै मूल्यबराबरको सेयर किनबेच पनि गरे। २९ अर्ब ९५ करोडको कारोबारसँगै नेप्सेले कारोबारमा नयाँ रेकर्ड राख्न पुग्यो। 

लगानीकर्ता सूचकले ३ हजार छुँदै गर्दा र कारोबारले नयाँ रेकर्ड बनाउँदै गर्दा नाफा कमाइने लोभमा लगानीलाई बढाउन थाले। तर ३ हजार टेकेको नेप्से त्यसपछि अर्थात् भदौ २ गतेबाट भने उसैगरी झरिरहेको छ। उस्तै रफ्तारमा ओरालो लाग्न थालेपछि लगानीकर्तामा अन्योल छाएको हो।

अझ भनौँ अघिल्लो बुलको ट्रयापमा परेजस्तै अहिलेको अवस्था त होइन भन्ने संशय लगानीकर्तामा उत्पन्न भइरहेको छ। लगानी कति बेला गर्ने, कस्तो कम्पनीमा गर्ने र बजारबाट नाफा कमाउन के गर्ने भन्नेबारे नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीसँग नेपालखबरले गरेको वार्ताः

बजार अस्वाभाविक बढेको भन्दै एकथरि लगानीकर्ता नियामक सेबोन र नेप्से यस विषयमा मौन भयो भन्छन् नि?
यो अवस्थामा नेप्से तटस्थ बन्न सक्नुपर्छ। बजारका सहभागी वा लगानीकर्ता कारोबारीहरूलाई किन्नेबेच्नेसँग सम्बन्धित कुराहरू नेप्सेले भन्नुहुँदैन। अहिले नेप्सेले केही बोलेन भन्ने आमतहमा गुनासो देखिन्छ तर यो गलत हो।

हामी बढ्दो बजारमा होस् या घट्दो बजारमा, सँधै तटस्थ बस्नुपर्छ। तर हामीले हाम्रो तरिकाबाट बजारको विश्लेषण पनि गरिरहेका हुन्छौँ। बजारको बढाइ स्वाभाविक हो या अस्वाभाविक हो भन्ने विषयमा ध्यान दिए पनि यो बारेमा हामी लगानीकर्तालाई जानकारी दिँदैनौँ। यो सैद्धान्तिक हिसाबले पनि नेप्सेको काम होइन। 

लगानीकर्ताहरूले यी कुराहरू भनिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नु स्वाभाविक हो तर उहाँहरूले नियामक निकायको भूमिका दोस्रो बजारमा कस्तो हुन्छ भन्ने बारेमा बुझ्न आवश्यक छ। हामी नितान्त अन्यायमा नपरून् भन्नेमा मात्रै केन्द्रित हुन्छौँ। लगानी कति बेला कहाँ गर्ने भन्ने कुरा लगानीकर्ताले नितान्त व्यक्तिगत सुझबुझका साथ नै गर्नुपर्छ, यो अपेक्षा हामीबाट गर्नु भएन। 

त्यसो भए लगानीकर्ताले बजारमा कस्ता गतिविधि हुँदै छन् भन्ने सूचना कसरी लिने र त्यसलाई कसरी प्रयोग गर्ने त?
लगानीकर्ताहरूले बजारमा प्रवेश गर्दा सूचना पर्याप्त हुनुपर्छ। कसरी खोज्ने कहाँ खोज्ने भन्नेमा लगानीकर्ता चनाखो बन्नुपर्छ। हाम्रो उद्देश्य पनि लगानीकर्ताले सही सूचना समयमै पाऊन् भन्ने हो। यसर्थ नेप्सेको वेबसाइटमै सूचीकृत कम्पनीहरूको वासलात, उनीहरूको व्यापारिक साझेदारदेखि योजनासम्मका सूचना हुन्छन्। 

यी सूचनालाई अहिलेका लगानीकर्ताले बेवास्ता गरेको पाइन्छ। एउटै सूचनाले पनि लगानीकर्ताहरूमा फरक–फरक प्रभाव परिरहेको हुन्छ। लगानीकर्ताले सूचनालाई कसरी प्रयोग गर्छन् भन्नेमा भर पर्छ। 

जस्तो महिला र पुरुषबीच लगानीको तरिका पनि फरक पाइन्छ। पुरुषको तुलनामा महिला बढी भावनात्मक हुन्छन्। बजारमा भावनाले काम गर्दैन। यसलाई नियन्त्रण गरेर लगानी गर्नसक्ने भए मात्र बजारमा फाइदा लिन सकिन्छ। 

त्यसो भए संयमित लगानीकर्ता कसरी बन्ने? आफू कस्तो लगानीकर्ता हो र कसरी लगानी गर्ने भन्ने कुरा कसरी थाहा पाउने?
यदि बजारमा संयमित भएर सफल लगानीकर्ता बन्न चाहनुहुन्छ भने पहिलो काम आफैँलाई चिन्नु हो। तपाईंले आफू लामो समयको लगानीकर्ता हो कि छोटो समयको कारोबारी हो त्यो पहिचान गर्नुपर्छ। 

हाम्रोमा बढेको बजारमा सबै कारोबारी हुने प्रवृत्ति छ। कारोबारीको डालोमा सबै लगानीकर्ता पस्दा कमाउनेभन्दा गुमाउनेको संख्या ठूलो हुन जान्छ। यसले बजारप्रति लगानीकर्ताको दृष्टिकोण नकारात्मक बन्न पुग्छ। त्यसैले पनि तपाईं कुन खालको लगानीकर्ता बन्ने भन्ने कुरा सुरुमा पहिल्याएर त्यहीअनुसार लगानीको योजना बनाउनुपर्छ। 

यदि तपाईं लामो समयको लगानीकर्ता हो भने कम्पनीको वासलातमा हेर्नुपर्छ– त्यसको पुँजी कति छ, आम्दानी र नाफा कति छ, लाभांश कति दिन सक्छ, प्रतिसेयर आम्दानी कति छ। प्रतिसेयर आम्दानी जति धेरै भयो लगानी त्यति सुरक्षित हुन्छ। अझै बजार मूल्य र प्रतिसेयर आम्दानीलाई पनि तुलना गरेर हेर्न ‘पीई रेसियो’लाई हेर्न सकिन्छ। यो विश्वभर लगानीकर्ताले लगानीका लागि हेर्ने गर्छन्। पीई अर्थात् प्रतिसेयर आम्दानीको रेसियो २० सम्म भयो भने त्यस कम्पनीको लगानी सुरक्षित मान्न सकिन्छ। 

अझै कम्पनीको बजार मूल्य र बुक भ्यालु तुलना गरेर पीबी रेसियो निकालिन्छ। ५ गुणासम्मको पीबी रेसियोलाई सुरक्षित मानिन्छ। यस्ता विवरण हरेक तीन महिनामा कम्पनीहरूले निकाल्छन्। यदि निकालेका छैनन् भने त्यहाँ केही गडबड छ भन्ने बुझेर त्यस्ता कम्पनीबाट बाहिरिएर लगानी सुरक्षित गर्न पर्छ। फन्डामेन्टल एनलाइसिस (आधारभूत विश्लेषण) यिनै कुराहरू हेरेर गरिन्छ।

धितोपत्रको दोस्रो बजारमा फन्डामेन्टल एनलाइसिस गरेर कमाइ गरिँदैन भन्ने बुझाइ पनि छ। यसलाई हेरेर मात्रै बजारमा प्रवेश गर्नेहरूले नाफा कमाउन सक्छन्? 
हो, लगानीकर्तामा फन्डामेन्टल एनलाइसिस गरेर मात्रै दोस्रो बजारमा कमाइँदैन भन्ने बुझाइ पनि छ। फन्डामेन्टल लगानीकर्ता बन्ने हो भने त कहिल्यै कमाउन सकिन्न भनेर लगानीकर्ताले भनेको सुनिँदै आएको हो। फन्डामेन्टल इन्डिकेटर बजारको गतिसँग कहिल्यै मिल्दैन भन्ने सुनिन्छ।

हुन त नेपालकै बजारमा पनि यस्तो प्रवृत्ति देखिँदै आएका छन्। राम्रा कम्पनीभन्दा वित्तीय अवस्था खस्किएका कम्पनीहरूको मूल्य बढी हुनुले पनि यो प्रश्न उब्जाएको देखिन्छ। तर फन्डामेन्टल एनलाइसिस गर्नेहरू सामान्यता अन्यभन्दा जोखिमरहित हुन्छन्। त्यसैले पनि नयाँ लगानीकर्ताका लागि यो सही हुनसक्छ।

लगानीकर्तासँग अर्को विकल्प पनि रहन्छ। त्यो प्राविधिक विश्लेषण हो तर यो जोखिमपूर्ण हुने गर्छ। 

बजारमा थरि–थरिका प्राविधिक विश्लेषकहरू छन्। उनीहरूले गर्ने प्राविधिक विश्लेषणहरू पनि फरक–फरक छन्। लगानीकर्ताले कुन सही र कुन गलत भनेर कसरी बुझ्ने? 
यो अलि जोखिमपूर्ण लगानी हो। दैनिक कारोबार हेरेर बस्ने र पर्याप्त समय दिएर कारोबार गर्न सक्नेले मात्रै गर्नसक्छन्। 

अहिले कारोबारी बन्न उति गाह्रो छैन। तपाईंले टेक्निकल एनलाइसिसका टुल्सहरू गुगल युट्युबमा मज्जाले भेट्टाउनुहुन्छ। वा तालिम लिएर सिकेर पनि गर्न सकिन्छ। 

एउटा मात्रै स्रोतमा भर भने पर्नुहुन्न। एकभन्दा बढी स्रोतहरूबाट सिक्नुपर्छ। एउटा विज्ञबाट सिकेको कुरा अर्को विज्ञ वा अर्कोको विश्लेषणसँग मिलेको छ/छैन हेर्नुपर्छ। यसले बुझाइको दायरा पनि फराकिलो बनाउँछ। 

टेक्निकल एनलाइसिसको आधार भनेको बजार मूल्य र कारोबारको आकार नै हो। जस्तो नेप्से सूचक वा कम्पनीको मूल्य हिजोअस्ति बढिरहेको थियो भने आज पनि बढ्छ होला भन्ने ‘कमन सेन्स’ हामीमा हुने गर्छ। त्यसमै पनि आधारित हुन्छ प्राविधिक विश्लेषण। यसमा विगतमा भएको कारोबार आकार र मूल्यलाई आधार मानेर बजार घट्छ या बढ्छ भन्ने अनुमान गर्न सकिन्छ।

अहिले धेरै विश्लेषकहरू बजारमा छन्। सबै विश्लेषकको कुरा सुन्नुपर्छ तर विश्लेषकका कुरा सबै अनुमान मात्र हुन्। यदि कसैले ठोकुवा गरेर बजार घट्छ वा बढ्छ भन्छ भने त्यो गलत हो। यसलाई ध्यान पुर्‍याउनुपर्छ। 

त्यसैले लगानीकर्ताले आधारभूत र प्राविधिक विश्लेषणतर्फ कता जाने भन्नेमा स्पष्ट हुनुपर्छ। 

अहिले बजारमा लगानीकर्ताको उपस्थिति बलियो छ। ३८ लाख लगानीकर्ताले टीएमएस चलाउँछन्। यी सबै कारोबारीको रुपमा आफूलाई प्रस्तुत गरिरहँदा नेप्सेले कतिलाई कारोबारी मानेको छ? 
अहिलेसम्म ६३ लाखमाथिको डिम्याट खाता छ। यो संख्यालाई लिएर पनि गलत धारणा बनेको छ। ६३ लाख मानिसहरू प्राथमिक बजारमा आउनयोग्यहरू मात्रै हुन्। अहिले एक व्यक्तिको एकभन्दा बढी डिम्याट एकाउन्टहरू छन्। त्यसैले संख्या ठूलो देखिएको हो। 

तर दोस्रो बजारमा कारोबार गर्नका लागि खोलिएको खाताहरू ३८ लाख छन् भने अनलाइन ट्रेड गर्नेहरूको संख्या २३ लाख छ। त्यसमा पनि सबै सक्रिय लगानीकर्ता होइनन्। कारोबार गर्नेको यथार्थ संख्या थोरै नै छ।

बजार बढेको बेलामा दैनिक डेढ/दुई लाखले कारोबार गर्छन् भने घटेका बेला ६०/७० हजारले मात्रै दैनिक कारोबार गर्छन्। तसर्थ ६३ लाख जनताले सेयर कारोबार गर्छन् भन्ने बुझाइ गलत हो। 

त्यसो भए कस्तो व्यक्ति कारोबारी हुन्? कारोबारी कसरी बन्न सकिन्छ? 
बजारलाई बुझेको, जोखिम मोल्न सक्ने र कारोबारका लागि बिहान बजार खुल्ने समय ११ बजेदेखि ३ बजेसम्म समय दिनसक्नेहरू मात्रै कारोबारी बन्न सक्छन्। अरुले कमाएको देखेर आउनेहरूले भनेको घाटा मात्रै खाने हो। 

अन्यत्र जागिर खानेहरूले सेयरबजारमा कारोबारी बन्न सक्दैनन् बने पनि नाफा कमाउन सक्दैनन्। बजार २ हजारको हाराहारीमा आउँदा बजारमा आउने लगानीकर्ताको संख्या एकदमै कम थियो। जब बजार बढ्न थालेर २५/२६ सयमा आइपुग्यो, त्यसले चर्चा बढ्न थालेसँगै यति कमाइयो भन्ने अभिव्यक्ति आउन थाल्छ। यसले बजारमा कमाउने बेला यही रहेछ भनेर बढ्दो बजारमा प्रवेश गर्नेहरूको संख्या उच्च हुने गर्छ। 

अघिल्लो बुलमा बजारमा बढेको बेला प्रवेश गरेछु भन्नेहरूले पनि यही प्रवृत्ति दोहोर्‍याइरहेका छन्। त्यसैले अरुले कमाएको नाफामा लोभिएर बजारमा छिर्नुभन्दा कस्तो प्रकारको लगानी गर्ने, कहाँ गर्ने, लगानी गर्ने रकम कहाँबाट ल्याउने र नाफा लिन नसक्दा के गर्ने वा नाफा कति लिने भन्ने कुरा विश्लेषण गरेर मात्र पस्नुपर्छ। 

बैंक तथा वित्तीय संस्थाहरूबाट जाने सेयर कर्जा बढ्यो भन्ने आधारमा बजार बढ्छ भन्नु ठीक हो?
राष्ट्र बैंकले अर्थतन्त्रको स्थिति र कर्जा वितरणको अवस्था निकाल्छ तर त्यो बितिसकेको समयको हो भन्ने कुरा हामीले बेवास्ता गर्छौँ। ठूला लगानीकर्ता प्रवेश गरे वा ठूला प्रकृतिको कर्जा बढ्यो भन्ने सूचनाहरू हेर्दा बितिसकेको समय हो भनेर बुझ्न सक्नुपर्छ।

सूचना आउँदासम्म कर्जा लिएर पसेका लगानीकर्ता निस्किसकेका पनि हुन सक्छन्। त्यसैले कर्जा प्रवाह भएकै आधारमा बजार बढ्छ भन्नु पनि गलत हो। कुनै सूचना तपाईंसम्म आइपुग्छ भने त्यो सूचना पछाडिको नियत पनि थाहा पाउनुपर्छ। सूचना आयो भनेर त्यसको पछाडि लाग्नुभन्दा कहिलेको सूचना हो र त्यसपछिको राजनीति कस्तो हुनसक्छ भन्नेबारे अध्ययन गर्न सक्नुपर्छ।

भिडिओ :

कुनै कम्पनीले नाफै गरेको छैन तर तथ्यांकमा तोडमोड गरे नाफा बढाएको सूचना आउँछ भने वासलात हेरे विश्लेषण गर्नुपर्छ। यो स्वतन्त्र समाज हो। त्यसैले तपाईंलाई कसैले आएर सुरक्षा दिन्छ भन्ने सोच्नु नै गलत हो। तसर्थ लाभ र नोक्सानीको हकदार नितान्त तपाईं आँफैँ हो।

सरकार त हामी लगानीकर्ताको संरक्षण गछौँ, हाम्रो सरकार आएको छ, अब सेयरबजार बढ्छ भन्छ नि? 
यो एकदम अनौठो कुरा हो। संसारमा सरकारले बजार बढ्छ भन्दैन। तपाईंको लगानीलाई अवैध आक्रमणबाट सरकारले वा नियामकले रोक्न वा सुरक्षा गर्न सक्छ। तर तपाईंको व्यवसाय फस्टाओस् वा लगानीबाट नाफा निकाल्ने काम गर्दैन। 

कारोबार गर्न थालेपछि नियामक वा सरकारले कमिसन, इन्साइडर ट्रेडिङ, कर्नरिङलगायतका अवैध कार्यमा तपाईंलाई पारेका छन्/छैनन् भन्ने हेर्ने र कारबाही गर्ने हो। नोक्सानी व्यवस्थापन गर्ने वा बचाउने काम हाम्रो होइन। 

अर्को कुरा अहिले सरकारमै रहेका राजनीतिक व्यक्तिहरूले बजारलाई लिएर विभिन्न अभिव्यक्ति दिँदै आएका छन्। यो अवैध हो।उहाँहरूले कम्पनीको नाम लिएरै कारोबार समयमा बजारबारे अभिव्यक्ति दिनुहुँदैनथ्यो। र, उहाँहरूको अभिव्यक्तिलाई लिएर लगानी गर्नु पनि गलत नै हो।

प्रत्येक जिम्मेवार सरकारले लगानीकर्ताको मनोबल उच्च राख्ने भन्ने उद्देश्य हुन्छ। तर त्यसो भन्दैमा बजार बढ्छ भनेर भ्रम छर्नु गलत हो। सरकारको उपब्धिको रुपमा बजारको बढाइलाई लिनु पनि गलत हो। तसर्थ लगानीकर्ता यस्ता ट्रयापबाट बच्नुपर्छ। 
 

भदौ १८, २०८१ मंगलबार ११:३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .