ad ad

कारोबार


चाडपर्वमा बाइक किन्नेलाई गाडीदेखि विदेश घुमाउनेसम्मका अफर

कुन कम्पनीको कस्तो?
चाडपर्वमा बाइक किन्नेलाई गाडीदेखि विदेश घुमाउनेसम्मका अफर

नेपालखबर
असोज ३, २०८१ बिहिबार १७:१३, काठमाडौँ

चाडपर्वको समयमा ग्राहकलाई आकर्षण गर्न दुईपांग्रे बिक्रेताले आकर्षक अफर ल्याएका छन्।

मोटरसाइकल तथा स्कुटरका बिक्रेताहरूले दसैँदेखि छठ पर्वलाई लक्षित गर्दै १० लाख रुपैयाँ जित्नेसम्मका अफर ल्याएका हुन्।

२ वर्ष अघिसम्म नेपालमा दुईपांग्रेको व्यापारमा उत्साह रहेको थियो। पछिल्ला २ वर्ष व्यापारमा केही कमी आएकामा चालू आर्थिक वर्षबाट केही बढोत्तरी भएको व्यवसायीले बताएका छन्।

सवारीसाधन खरिद गर्नेले चाडपर्वको समय पर्खिन्छन्। व्यवसायीका अनुसार करिब ४० प्रतिशत व्यापार चाडपर्वको बेलामा व्यापार हुन्छ। व्यवसायीले यसैलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेका छन्।

कम्पनीहरूले नगद छुट, सर्भिस छुट, सडक दस्तुर छुट, सस्तो ब्याजदर, ऋण लिँदा ग्यारेन्टी बस्नु नपर्नेलगायतका अफर सार्वजनिक गरिसकेका छन्। कम्पनीले बाइक खरिद गर्दा कार पाउनेदेखि विदेश भ्रमण गराउने अफर समेत ल्याएका छन्। 

यस्ता छन् कम्पनीहरूका अफर:

‘हात हातमा हात्ती, लकमा लखपति’
नेपालमा सबैभन्दा बढी मोटरसाइकल बिक्री गर्ने बजाजले क्यास सफारी स्किम ल्याएको छ।

नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किममा ‘हात हातमा हात्ती, लकमा लखपति’ हुने अफर सार्वजनिक गरेको छ।

बजाजको यस योजनाअन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन्।  त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन्।

कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसे भन्छन्, ‘हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौँ। यस्ता स्किमहरूमार्फत ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ। यस वर्ष पनि बजाजले ग्राहकहरूको चाड विशेष बनाउने हामी विश्वस्त रहेका छौँ।’

बजाजले इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ।

२ चक्के किन्दा ४ चक्के उपहार
सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहारमा मालामाल अफर ल्याएको छ।

हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भी इभी कार’ जित्ने अफर पनि ल्याएको छ।

कम्पनीले ‘दसैँ तिहार २०८१ को वहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ। सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइनेछ।

सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ। कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ।

बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने अपेक्षा गरेको छ।

‘दसैँ आयो क्यास पायो’
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ।

मोटरसाइकल तथा स्कुटरको खरिदमा दसैँ, तिहार, नेपाल सम्वत् ११४५ तथा छठपर्वको उपलक्ष्यमा ‘दसैँ आयो क्यास पायो’ स्किम ल्याएको हो।

स्किमअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी ७ हजारदेखि ५ लाख रुपैयाँसम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ।

सुजुकीले ५ वर्षको वारेन्टीका साथै त्यति नै वर्षको निःशुल्क सर्भिस पनि ल्याएको छ।

अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ वर्षसम्म ढुक्क हुन सक्ने कम्पनीले जनाएको छ।

सीएफमोटोको चाडपर्व अफर
नेपालका लागि सीएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ।

दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ। त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ।

जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ।

त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिनेछ। यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ।

ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र त्रिशूली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिनेछ।

लाइफटाइम वारेन्टी
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले बाइक नकिन्दै ५ लाख र किनेपछि १० लाख जित्ने अवसर रहेको छ। टीभीएससँग नयाँ युगको आरम्भ अफर ल्याएको छ।

हरेक हप्ता १०० प्रतिशतसम्म क्यासब्याक रहेको छ भने टीभीएसको जुनसुकै दुईपांग्रे खरिद गर्दा लाइफटाइम वारेन्टी दिएको छ।

दसैँमा किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले समेत सहज ऋण सुविधा पाउनेछन्। ग्यारेन्टी राख्नुपर्दैन।

‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’
होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले १० लाखसम्म जित्ने अवसर ल्याएको छ।

‘हाम्रो चाडबाड होन्डाको खुसियाली बारबार अफर’अन्तर्गत स्क्राच कार्डमार्फत १० लाख सम्मको नगद उपहार जिन्ने अवसर छ।

त्यसबाहेक कम्पनीले ३ वटा अफरमध्ये एक छनोट गर्न सक्ने सुविधा दिएको छ।

थप १० हजारसम्मको स्क्रायाच, ५ वर्षको एमसी वा ७ वर्षसम्म सर्भिस गर्दा एउटाको पैसा तिर्दा अर्को निशुल्क हुने अफर रहेको छ। 
महंगा बाइक खरिदगर्दा १ लाख रुपैयाँसम्म छुट दिएको छ।

एफआई इन्जिनमा १० वर्षे वारेन्टी
यामाहाले एफआई इन्जिनमा १० वर्षे वारेन्टी सहितको दसैँ अफर सार्वजनिक गरेको छ।

यामाहा खरिद गर्दा १० लाखसम्म छुट दिने भएको छ।

पुरानो बाइकको सट्टा नयाँ बाइक खरिद गर्नेलाई शोरुममै, सहज फाइनान्सको सुविधा, शून्य ब्याजदरमा किस्ताबन्दीको सुविधा दिने अफर ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .