ad ad

अन्तर्वार्ता


क्षमता देखेर प्रधानमन्त्रीले पत्याउनुभयो, अबको ६ महिना दिनको १८ घण्टा खट्छु : दिनेश डिसी (भिडिओ)

‘अहिल्यै ठूलो कुरा गर्दिनँ, सय दिनमा प्रारम्भिक नतिजा दिन्छु’

लक्ष्मी बलायर
भदौ १७ , काठमाडौँ

निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र विकास बोर्डको १८ औँ अध्यक्षको पदभार ग्रहण गरिसकेका छन्। विगत तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय उनले सोमबार अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

अध्यक्षका लागि ६ जनाको नाम सिफारिस गरिएको थियो। तर, अन्तिम तीन हुँदै डिसीले प्रधानमन्त्री केपी शर्मा ओलीको निकटताको कारण अध्यक्षमा बाजी मारे।

५८ वर्षीय डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनयमा डेब्यु गरेका थिए। थुप्रै फिल्ममा देखिइसकेका उनले दाइको ससुराली, सावधान, मायाज् बार, छ एकान छ, फूलैफूलको मौसम तिमीलाई जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

सत्तारुढ एमालेनिकट भातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन् डिसी।

अहिलेको फिल्मक्षेत्रको समस्या र त्यसको समाधानका लागि उनको योजनाका विषयमा नेपालखबरले अध्यक्षको कार्यभार सम्हालेकै दिन सोमबार (१७ भदौ, २०८१) दिनेश डिसीसँग गरेको कुराकानी :

६ जनाको उम्मेदवारी थियो। बोर्डको अध्यक्षमा तपाईं के कारणले नियुक्त हुनुभयो?
प्रमुख कारण के हो भने चलचित्र विकास बोर्ड प्रशासनिक कार्यदक्षता देखाउनु पर्ने ठाउँ हो। मेरो जुन प्रशासनिक कार्यदक्षता थियो, त्यसको आधारमा नियुक्ति गर्नुभएको हो। र, चलचित्र क्षेत्रमा पनि तीन दशकभन्दा लामो अनुभव र चलचित्रमा पनि प्रदर्शनको दुनियाँको सबै विधा, रेडियो, टेलिभिजन, स्टेज, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अनुभव र प्रशासनमा पनि ठूला संघसंस्थामा आफ्नो कार्यकुशलता देखाएको कारणले उहाँले विश्वास गर्नुभयो। अन्य साथीहरू पनि राम्रो हुनुहुन्छ। तर, तुलनात्मक रूपमा मलाई पत्याउनु भएको जस्तो लाग्छ।

प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध छ, त्यसकै कारण पनि त होला नि?
उहाँ देशको राम्रो नेटवर्क भएको पार्टीलाई लिड गर्नुहुन्छ। उहाँको नजिकमा प्रशस्त मानिसहरू हुनुहुन्छ। तर, को कुन ठाउँका लागि सही मान्छे हो, उसको क्षमता के हो भनेर मूल्यांकन गर्ने उहाँको बानी छ। त्यो मूल्यांकनमा म परेको भन्ने मलाई लाग्छ।

चार दशक भयो होला, मैले विभिन्न संघसंस्थाहरू र सम्माननीय प्रधानमन्त्रीज्यूको आस्था राख्ने विचारहरूलाई सहयोग गरेको। आजसम्म मैले राजनीतिक आस्थाका आधारमा लाभको पद प्राप्त गरेको थिइनँ। त्यस्तो पद आउँदा पनि अन्य साथीहरूलाई छोडेको थिएँ। त्यो कारणले पनि यो ठिक छ भन्ने प्रधानमन्त्रीज्यू र सञ्चारमन्त्रीज्यूलाई लागेको हुनुपर्छ।

अहिले प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय र सञ्चार मन्त्रालय पनि एमालेकै मातहतमा छ। यस्तोमा चलचित्र क्षेत्रको विकासको लागि बजेटदेखि योजनामा केही कुरा भएको छ?    
प्रारम्भिक रूपमा दुई लाइनको कुरा मात्रै भएको थियो। यो सरकार आइसकेको थिएन। अचानक सरकार परिवर्तन भएपछि नयाँ सिनारियो सुरु भयो। भर्खरै कार्यभार ग्रहण गरेँ, यसपछि आउनु भन्नु भएको छ सचिवालयमार्फत।

उहाँको मार्गनिर्देशन लिन बाँकी छ। तर, मलाई चलचित्र क्षेत्रपट्टि भएको उहाँको विचार र इच्छाहरू सँगसँगै हिँड्दा र बुझ्दाखेरी करिबकरिब मलाई ज्ञान छ। तर, केही चिज गर्नुछ र अलिकति डाइनामिक तरिकाले काम गर्ने मान्छे चाहिएको मनस्थिति बनाउने हो कि भन्ने लाइनमा एउटा सल्लाह भएको हो।

उहाँ प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण २५ जना मन्त्री नै हाम्रो हो। हामी यो पार्टी, त्यो पार्टी भन्दैनौँ। किनभने सबै पार्टीसँग हाम्रो सम्बन्ध छ। प्रधानमन्त्रीज्यू र सञ्चारमन्त्रीज्यूको विचार यो क्षेत्रमा लगाउनका लागि र स्वदेशी चलचित्र उद्योगको विकासका लागि मेरा आफ्ना भिजनहरू छन्, ती लागू गर्नका लागि अहिले तुलनात्मक रूपमा अनुकूल अवस्था छ।  

त्यसोभए यो बेला बोर्डको विकासको तत्कालै केही योजना होला नि?
योजना थुप्रै छन्। सबैभन्दा पहिले म अफिस बनाउँछु। म यसलाई अन्तर्राष्ट्रियस्तरको अफिस सिस्टममा लैजान्छु। त्यसपछि सबभन्दा पहिले त चलचित्र ऐन निर्माणको योजना हो। मैले सय दिनमा मात्रै यी कुरा भन्छु भनेको थिएँ।

म धेरै चिज गरेर बस्दिनँ। केही चिजहरू गर्छु। जो चलचित्र क्षेत्रले अपेक्षा गरेको छ। दुई वर्षको कार्यकालमा मैले ६/६ महिनाको चारवटा फेज बनाएको छु। प्रत्येक पाँच महिनामा एक महिनाचाहिँ त्यसको पुनरवलोकन गर्नेगरी। पहिलोमा अलिकति स्पिड बढी हुन्छ। अब यसको रिजल्ट आउँछ।

ऐन लगभग बनिसकेको छ। तर, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नका लागि मेरो विचारका प्वाइन्टहरू लागू भएको छैन। त्यो हालेर मात्रै गर्छु। त्यो सञ्चारमन्त्रीज्यूलाई अनुरोध गर्छु। अनि कार्यान्वयन चाँडो हुन्छ।

बोर्डका पूर्वअध्यक्षहरूले केही गर्न नसकेको कलाकर्मीबाट गुनासो सुनिन्छ। यसमा तपाईंले कसरी काम गर्नुहोला?
पहिलेको अध्यक्षले काम नै गरेनन् त म भन्दिनँ। कतिले सही तरिकाले गर्नु भएन होला। कतिले जान्नुभएन होला। कतिले जानेको कुरा पनि समय पाउनुभएन होला। त्यसमा उहाँहरूसँग मेरो केही गुनासो छैन।

उहाँहरूले केही गर्नुभएन भन्दा पनि अबका दिनमा के गर्ने भन्ने कुराहरू आउँछ। सय दिनमा तपाईंले एउटा प्रभाव थाहा पाउनुहुन्छ। आज चलचित्र उद्योगबाट आएका फूल र खादा ल्याउने साथीहरूलाई देखेर पनि उहाँहरूको ममाथि भर गर्नुभएको छ। मेरो जीवनको अन्तिम कुर्सी त होइन। मैले धेरै काम गर्न बाँकी छ। त्यसकारणले त्यो ठाउँमा काम गर्न योग्य बन्नका लागि पनि मैले काम गर्नैपर्छ। त्यसैले अबको ६ महिना म दिनमा १८ घण्टा खट्छु यो क्षेत्रको लागि भनेर।

एक सय दिनमा त्यसको प्रारम्भिक नतिजा आउँछ। र म यो यो गर्दैछु भनेर भन्न सक्छु। यो यो गरिसकेँ भन्न सक्छु।  

कलाकार, निर्माता र वितरकहरूका आ-आफ्नै मागहरू छन्, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
समस्या सबैको हुन्छ, सबैलाई आफ्नै समस्या ठूलो लाग्छ। तर, विकास बोर्डले सबैको समस्या र जायज माग पूरा गर्छ। पहिले त हामीसँग धेरै आधारभूत चिज छैनन्। ती आधारभूत चिज पूरा गर्छु। अहिले नै ठूला कुरा गर्न चाहन्नँ।

अहिलेको समग्र फिल्मक्षेत्रलाई कसरी हेर्नुभएको छ?
हाम्रो सिनेक्षेत्र एकदमै राम्रो छ। केही साथीहरूले सिनेमा चलेन भन्नुहुन्छ। तर, यो पेसाको प्रकृति नै यस्तै हो नि त। भारतमा सात/आठ सय आसपास फिल्म बन्छ। तर, चलेका थोरै हुन्छन्। अनि हलिउडमा त्यस्तै मात्रामा विश्वभरि नै रिलिज हुन्छन्। त्यसमा तपाईं चारवटा पनि सिनेमाका नाम भन्न सक्नुहुन्न। त्यस्तै हो। यो सिनेमा भनेकै यस्तै व्यापार हो। जहाँ ठूलो सपना बोकेको हुन्छ, त्यो सपनापछाडि दौडिनेको ठूलो जमात हुन्छ। त्यो जमातलाई हामी लिड गरिरहेका छौँ। त्यसकारण पेसा नबुझ्ने मान्छेहरूले हो सिनेमा चलेन भन्ने। नचल्न सक्छ। संसारका कुनै पनि मान्छेले भन्न सक्दैन। यो चल्छ यो चल्दैन भनेर।

हामो सिनेक्षेत्रलाई सयौँ वर्ष अगाडि रहेका बलिउड र हलिउडसँग तुलना गरिन्छ, त्यहाँसम्म पुग्नको लागि के गर्नुपर्छ?
सबैभन्दा पहिले त हामी शिक्षित हुनुपर्छ। शिक्षित भनेको आईए, बीए होइन। जे गरेको छ, त्यसमा शिक्षित हुनुपर्छ। क्यामेरा जान्नेले क्यामेरा नै गरेको हुनुपर्‍यो। मेकअप गर्नेले मेकअप नै जानेको हुनुपर्‍यो। ट्रली ठेल्नेले ट्रली ठेल्न जानुपर्छ। यहाँ कामचलाउबाट भएकाले क्वालिटी आइरहेको हुँदैन। सबै ठाउँमा अलिअलि सम्झौता गर्दा राम्रो हुँदैन।

उसै त हाम्रो बजार सानो छ। खर्च गर्ने क्षमता पनि कम छ। त्यसैले यी चिजहरू भइरहेका छन्। सबैभन्दा पहिले शिक्षित नै हुनुपर्छ। दोस्रो अनुशासित हुनुपर्छ। अनुशासन कम छ हामीसँग।

यसमा संघसंस्थाले बलियो बन्नुपर्छ। त्यही भएर मैले ९ वटा संघसंस्थालाई दरो बनाउनुपर्छ भनेको कारण यही हो। त्यसको आधारमा विकास बोर्ड चल्ने हो। एउटा व्यक्तिले कराएर हुँदैन! सबै सबल बनेपछि हामी अगाडि जान सकिन्छ।  

हालै अनमोल केसीले आम्दानी कर तिर्नुभएको छ। अन्य कलाकारहरूलाई करको दायरामा ल्याउन तपाईंको के भूमिका हुनसक्छ?
यस विषयमा म जवाफ दिन्नँ। त्यसमा बोल्न मिल्दैन। मेरो प्यान नम्बर छ। अहिलेका कर तिर्ने साथीहरूलाई धन्यवाद। सरकारलाई ट्याक्स सबैले तिर्नुपर्छ।

करको पनि दायरामा ल्याउँछौँ र सामाजिक सुरक्षा कोष पनि तत्कालै ल्याउछौँ। अहिले खालि हामी सिनेमा अवधिहरूको बिमा गरिरहेका छौँ। हामी सिनेमाको अन्तिम शोसम्मको योजना बनाइरहेका छौँ। यसका केही प्लानहरू छन्। अब एक सय दिनमा भन्छु।

सिनेक्षेत्रको मुख्य समस्या के हो जस्तो लाग्छ?
बक्सअफिसदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लगायतका समस्या त धेरै छन्। यो सबै कुरा सय दिनपछि भन्छु। किनभने पहिले मैले अलिकति अध्ययन गर्नुपर्‍यो। पहिले किन भएन भन्ने थाहा पाउनुपर्‍यो। यसको जरो थाहा पाउनुपर्‍यो।

सामान्यतया थाहा छ। तर, पनि फेरि एकचोटि पुनर्ताजगी गरेर त्यसमा म लड्छु। त्यसकै लागि म आएको हुँ। र, तपाईंहरूले सुखदै समाचार नै पाउनुहुनेछ। सय दिनपछि गरिसकेको चिज पनि भन्छु। आगामी ६ महिनामा यो चिज हुन्छ पनि भन्छु।

बोर्डको अध्यक्षको लागि जम्मा २ वर्षको कार्यावधि छ, यसको अवधि थप्न केही पहल गर्नुहुन्छ कि?
यसमा कुरा भइरहेको छ। अहिले मैले लिएको दुई वर्षको हो। अब ऐन पास हुँदा चार वर्षको हुन्छ। जुन मेरो अवधिमै लागू हुन्छ।

भदौ १७, २०८१ सोमबार २०:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .