कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो पटक थप २ सय ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतबाट नेपाली फर्किने क्रम बढेसँगै संक्रमणको जोखिम पनि बढेको छ। महामारी रोकथामका लागि प्रदेशको तयारी कस्तो छ त? सामाजिक विकासमन्त्री दल रावलसँग नेपालखबरले गरेको कुराकानीः
पछिल्लो दिन संक्रमितको संख्या बढ्दै गइरहेको छ, प्रदेश सरकारले कोरोना रोकथामको कस्तो तयारी गरेको छ?
हामीले यसअघि भारतबाट यत्रो संख्यामा नेपाली आउलान् भनेर अनुमान नै गरेका थिएनौँ। त्यसैले जम्मा ५ सय ४० वटा आइसोलेसन वार्ड तयार गर्यौँ। क्वारेन्टिनको जिम्मा त स्थानीय तहलाई दिएका थियौं। उहाँहरुले बनाउनु भएको थियो। तर, अहिले थप्नुपर्ने भयो। त्यसपछि स्थानीय तहले क्वारेन्टिन थप्दैछन्।
केही अस्पताल र जिल्ला अस्पतालहरुलाई पनि तयार रहन भनेका छौँ। हामीले तीन वटा हब अस्पताल पनि तोक्यौं। त्यतिले पनि नपुग्ने देखिएपछि सोमबारको हाम्रो क्याबिनेट बैठकले २४ वटा स्थानमा रणनीतिक जोन तोकेर एक हजार ६० आइसोलेसन बेड थप गर्ने निर्णय गरेका छौं। त्यहाँ लक्षण भएका संक्रमितलाई राखिन्छ। र, केही लक्षण देखिएकाहरुलाई अस्पतालमा राखिन्छ। गम्भीर उपचार गर्नुपर्नेलाई तीन वटा हब अस्पतालमा राखिन्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र सामुदायिक अस्पताल चौरजहारी रुकुममा त्यस्ता संक्रमितको उपचारको व्यवस्था मिलाएका छौँ।
स्थानीय तहमा बनेका क्वारेन्टिन अत्यन्तै अव्यवस्थित, भैँसीगोठ सरहका देखिएका छन्। त्यसले झन् समस्या बढाउँदैन र?
हो। साधन स्रोतको पहुँच पुर्याउन नसकेर मापदण्ड नपुगेका क्वारेन्टिन बनेको सूचना पाएका छौँ। त्यही भएर हामीले क्वारेन्टिनको निरन्तर अनुगमन गर्ने काम गरिरहेका छौं। फेरि थप अनुगमनको लागि हाम्रो टीम र माननीयज्यूहरुको टिम र सुरक्षा टोली पनि परिचालन गर्दैछौँ।
व्यवस्थित क्वारेन्टिनकै समस्या छ अहिले। बनाउन त स्थानीय तहका साथीहरुले बनाउनुभयो तर, प्रेसर भइसकेपछि मापदण्ड भन्दा पनि बाहिर राख्ने काम भएका छन्। त्यसले गर्दा व्यवस्थित बनाउन स्थानीय सरकारसँग पनि समन्वय गरिरहेका छौं। मापदण्ड र क्वालिटी मेन्टेन गर्न समस्या चाहिँ छ।
कतिपय स्थानीय तहले पैसा नभएर राम्रो क्वारेन्टिन बनाउन नसकेको बताइरहेका छन् नि?
स्थानीय तहलाई हामीले स्रोत र साधनमा कुनै कमी हुन दिँदैनौँ भनेका छौं। प्रदेश सरकारले त्यसको व्यवस्था मिलाउँछ। जुनजुन स्थानीय तहमा भारतबाट मानिस आएर क्वारेन्टिनमा बस्नुभएको छ, त्यसको संख्याको आधारमा प्रदेश अस्पताललाई अनुरोध गर्ने र हामीले तुरुन्त पैसा पठाउने भनेका छौँ। आज हामीले जुन आइसोलेसन बेड थप्दैछौं, त्यो पनि स्थानीय तह मार्फत नै पैसा पठाउँछौं। स्थानीय अस्पताल स्थानीय सरकारकै रेखदेखमा हुने हो।
दैलेख, सुर्खेत, कालीकोट, सल्यानलगायतका भारतबाट धेरै नेपाली भित्रिने स्थानमा मापदण्ड अनुसारको क्वारेन्टिन बनाउनै पर्ने निर्देशन दिएका छौं त्यसका लागि हामीले आवश्यक पर्ने रकम तत्काल पठाउनेछौं। त्यस्ता ठाउँमा पैसा रोक्दैनौं भनेर भनेका छौं।
कर्णालीमा भारतबाट कति नेपाली फर्केलान्?
पहिला चाहिँ हामीले १५ हजारजति आउँछन् भन्ने अनुमान गरेका थियौं। तर त्यो संख्या बढ्यो र यो बीचको अवधिमा २३ हजार आइसके। अझै ४०–५० हजार नेपाली आउने हामीले सूचना पाएका छौं। किनभने भारतमा रहेका नेपालीहरुले सन्देश पठाएर आफू आउने र हिँड्ने तयारीमा रहेको जानकारी दिनुभएको छ, त्यो संख्या ५० हजार जति छ।
अहिले हामीले जतिको पीसीआर परीक्षण गर्यौँ, त्यसमध्ये एक तिहाइमा कोरोना देखिएको छ। ४० जना बसेको क्वारेन्टिनमा परीक्षण गर्दा १९, २० जनामा र ५० जना बसेको ठाउँमा १५ जनामा कोरोना पोजिटिभ देखिएको छ।
तर, एउटा कुरा के भने आजको मितिसम्म लोकल ट्रान्समिसन भएको छैन। जुम्लामा २ जना प्रहरी र अर्का एकजनामा देखिएको कोरोना क्वोन्टिन कुरेकै बेला सरेको हो। अन्यत्र लोकल ट्रान्समिसन भएको छैन किनभने हामीले क्वारेन्टिन अनिवार्य गरेका छौं। क्वारेन्टिनभित्र चाहिँ संक्रमित छन्। उनीहरुलाई उपचार गरेर निको पार्छौँ, सकभर अन्त फैलिन दिँदैनौं।
प्रदेशमा पर्याप्त विशेषज्ञ डाक्टर छन् त? विकट गाउँहरुमा संक्रमण फैलिए कसरी उपचार गर्ने तयारी छ?
हामीलाई जनशक्ति र विज्ञ टोलीको अभाव छ। केस बढ्न थालेपछि त्यसको व्यवस्थापनको दबाब छ। तपाईंले भनेको जस्तै भौगोलिक विकटता पनि छ। तत्काल उद्धार गर्न हेलिकप्टर बिना सम्भव छैन। त्यही भएर हामीले सेनाको हेलिकप्टर परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका छौं। नेपाली सेनासँग कुरा गर्न केन्द्र सरकारलाई अनुरोध गरी लेखी पठाएका छौं।
कर्णालीमा त धेरै अभाव छ डाक्टरहरुको। हामीले विज्ञसहितको स्वास्थ्यकर्मीको टोली माग गरेका छौं। केही त पठाउनुभयो तर त्यतिले केही पुग्दैन। धेरै वटा स्थानीय तहमा डाक्टर छैनन्।

प्रतिक्रिया