अन्तर्वार्ता


मधेसमा प्रत्यक्षको ‘टप थ्री’मा पुरानै ३ दल आउँछन्, समानुपातिकमा भन्न सकिन्न: रोशन जनकपुरी (भिडिओ)

‘रास्वपाको राजनीतिमा गरिबी, भोक, अशिक्षा छैन, मधेसवादी दल भुत्ते भइसके’
मधेसमा प्रत्यक्षको ‘टप थ्री’मा पुरानै ३ दल आउँछन्, समानुपातिकमा भन्न सकिन्न: रोशन जनकपुरी (भिडिओ)

नेपालखबर इलेक्सन एक्सप्रेस टिमसँग विश्लेषक रोशन जनकपुरी (तस्बिर/भिडिओ : सरोज नेपाल)


लोकेन्द्र भट्ट
माघ २५, २०८२ आइतबार १९:२५, जनकपुर

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपालका प्रमुख राजनीतिक शक्तिहरू मधेस प्रदेशमा पकड जमाउन लागिपरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार मनोनयनको अघिल्लो दिन माघ ५ गते जनकपुरमा सन्देश सभा राखेर यसपाली आफ्नो चुनाव अभियान मधेस केन्द्रित हुने संकेत दिएको छ। रास्वपाले मधेसी मूलका बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएसँगै मधेस केन्द्रित अभियान थालेको हो। बालेन आफै चाहिँ झापा ५ बाट उम्मेदवार छन् तर चुनावी अभियानमा आफ्नो गृहजिल्ला महोत्तरीसहित मधेसका ३२ वटै निर्वाचन क्षेत्र पुग्ने तयारीमा छन्। 

यसपाली रोचक के छ भने नेपाली कांग्रेसका सभापति गगन थापा आफै मधेस झरेका छन्। सर्लाही ४ बाट उम्मेदवार बनेका थापा कांग्रेसको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुन्। त्यस्तै नेकपाका सह–संयोजक माधव नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका वरिष्ठ नेता बिमलेन्द्र निधि, एमालेका उपमहासचिव रघुवीर महासेठ, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सीके राउत तथा रास्वपाका नेता अमरेश सिंह र मनिष झा पनि मधेस प्रदेसबाटै उम्मेदवार छन्।

दर्जन बढी राष्ट्रिय नेताहरू उम्मेदवार बनेको मधेसको चुनावी मैदान चाहिँ कस्तो छ त? यसपाली मधेसमा कसले ‘लिड’ गर्दैछ? 

मधसे प्रदेसको स्थलगत रिपोर्टिङपछि नेपालखबरको इलेक्सन एक्स्प्रेस टिमले मधेसको सामाजिक, राजनीतिक संरचनाबारे गहिरो अध्ययन गरेका वरिष्ठ पत्रकार तथा विश्लेषक रोशन जनकपुरीसँग जनकपुरमा संवाद गरेको छ :

यो पटकको निर्वाचनमा मधेस बहसको केन्द्रमा छ। मधेसले फागुन २१ को निर्वाचनमा के सन्देश देला?
राजनीतिक रूपमा भन्ने हो भने मधेस एउटा प्रतीक्षामा छ। मधेसको आफ्नो राजनीतिक पहिचान के हुने हो भन्ने प्रतीक्षामा छ भने पनि हुन्छ। सबै आएका छन्। अहिले पार्टीहरूले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरिसकेका छन्। उनीहरू पनि मधेस झरेका छन्। त्यसले यो चुनावमा मधेस एउटा हटकेक हो कि भन्ने लाग्छ मलाई।

चुनावको परिणाममार्फत मधेसले देशलाई दिने सन्देश चाहिँ के हुनसक्छ? 
यो पटक खासगरी भदौ २३ र २४ पछि राजनीतिक गन्जागोलको अवस्थामा थुप्रै भाष्यहरू उठिराखेका छन्। एकातिर कार्यकारी राष्ट्रपतिका कुराहरू छन्। युवाहरूका कुराहरू छन्। कतै सङ्घीयता विरोधी कुराहरू छन्। राजतन्त्रका बहसहरू उठिराखेका छन्। ती सबैखाले भाष्यसँग जोडिएका पात्रहरू सबै अहिले मधेस झरेका छन्। मधेसको आफ्नो राजनीतिक पहिचान भनेको सङ्घीयता हो। त्यसकारण मैले भनेँ नि, मधेस एउटा प्रतीक्षामा छ। निश्चित रूपमा मधेसले एउटा सन्देश चाहिँ दिन्छ।

रास्वपाको बालेन कार्ड र कांग्रेस सभापति गगन थापाको काठमाडौँबाट सर्लाही झर्ने योजनालाई कसरी हेरिराख्नु भएको छ? 
कांग्रेसलाई मधेस मेरो गढ हो भन्ने छ। कांग्रेसले यसपटक आफ्नो ट्रम्प कार्डका रूपमा सभापति गगन थापालाई मधेसमा अगाडि सारेको छ। यो गढ मेरो हो, म यहाँ जित्छु, भन्ने आत्मविश्वास देखिन्छ। मेरो आफ्नै पुरानो गढमा बीचमा जुन तलमाथि भइराखेको थियो, त्यसलाई ठीक पार्छु भन्ने सन्देश दिन गगन थापा मधेस झरेको बुझ्न सकिन्छ।

अर्को रास्वपाले बालेनलाई मधेसमा उतारेर यहाँको समानुपातिक भोटका लागि भावनात्मक राजनीति गर्न खोजेको हो कि जस्तो लाग्छ। बालेनका रहस्यमय सम्बन्धहरू छन्, ती सबैका बीच उनी मधेसमा आए। उनले पनि आफूलाई यहीँको शैलीमा उतार्न खोजे। रास्वपाले मधेसमा एजेन्डाको भन्दा पनि भावनाको राजनीति गर्न खोजेको देखिन्छ।

रास्वपाको बालेन कार्डले समानुपातिकमा त भावनात्मक मत तान्छ भन्ने बुझाइ देखियो। बालेनप्रतिको आकर्षणले प्रत्यक्षमा रास्वपालाई लाभ हुने अवस्था छैन र? मधेसी अनुहारलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको विषयले कस्तो प्रभाव पार्ला?
रास्वपालाई भावनात्मक मतकै रूपमा म भेट्छु यहाँ। किनभने चुनाव जित्नका लागि थुप्रै फ्याक्टरले काम गरिरहेका हुन्छन्। सङ्गठनात्मक आधारहरू हुन्छन्, लामो राजनीतिक लिगेसी हुन्छ। राजनीतिक संघर्षहरू त्यसका पछाडि हुन्छन्। त्यसपछि यहाँ भएका विभिन्न जातीय, धार्मिक, अन्तरसामाजिक संरचनाहरू छन्। त्यसको प्रभावहरू पनि हुन्छ। ती सबै मिलाएर लैजाने हो भने मात्रै प्रत्यक्षमा काम गर्छ। त्यो हिसाबमा हेर्दा मैले रास्वपालाई यहाँ धेरै माथि राखेको छैन।

बालेनले यसअघि पनि नेवारहरूको बसोबास भएको ठाउँमा अनपेक्षित जित हासिल गर्नुभएको हो नि! त्यतिबेला उहाँले काठमाडौँमा जस्तो जादु देखाउनुभयो, त्यही मधेसमा देखिने स्थिति बन्छ कि बन्दैन? 
एक पटक काठमाडौँमा बालेनको ग्राफ चुनाव जितेर उकालो लागेको थियो। पपुलारिटी धेरै माथिसम्म गएको थियो। तर, उहाँका केही कामहरूले ग्राफ तल झारिराखेको थियो। काठमाडौँ सहरलाई सफा बनाउने नाममा मध्यमवर्गीय, उच्च मध्यमवर्गीय र धनी वर्गका लागि उनी त बडा फेभरेट थिए। तर, सडकमा भएका मान्छेहरूमाथि उनले जुन दमन गरे, जुन शैली अपनाए, त्यसले उनको ग्राफ घटिराखेको थियो। मलाई लाग्छ काठमाडौँ छोडेको कारण त्यो पनि हुन सक्ला।

समस्या कहाँ छ भन्दा बालेनको महानगरपालिका काठमाडौँबाट लखेटिएका अधिकांश तराई–मधेसकै थिए। निर्वाचनमा त्यसले पनि काम गर्छ। मैले त्यसरी बालेनलाई हेर्छु यहाँ।

मधेसका केही ठाउँमा पुग्दै नयाँ प्रयोग गर्न खोजिराखेको जस्तो देखिन्छ। मधेस आन्दोलनबाट उदाएका तराई–मधेसवादी दलहरूप्रति जनताको मोहभङ्ग भएको जस्तै देखियो। कांग्रेस र एमालेको शासन सञ्चालनमा चित्त नबुझाएका जनताको रोजाइमा यो पटक रास्वपा पर्न सक्ने सम्भावना कत्तिको देखिन्छ? 
विगत केही वर्षदेखि दक्षिण एसियाको राजनीतिमा एउटा नयाँ ट्रेन्ड विकास भएको छ। प्रबन्धकीय हिसाबले केही इमोसनल न्यारेटिभहरू सिर्जना गर्ने, राजनीतिबाट अलग केही पपुलर व्यक्तित्वहरू, सेलेब्रिटीहरू अगाडि सार्ने र आक्रामक प्रचार गरेर लैजाने गरेको देखिन्छ। यहाँ रास्वपाले लगभग त्यही गरिरहेको देखिन्छ। बालेन यहाँ आउनुभन्दा पहिले मधेसी र मधेसिया कहिल्यै थिएनन्। बालेनले कहिल्यै आफूलाई मधेसी पनि भनेनन्।

चुनावमा आएपछि मात्र उनले म मधेसियाको बेटा प्रधानमन्त्री बन्छु भनेको सुनियो। मधेसका आधारभूत विषयहरू रास्वपाले उठाएको छैन। मध्यवर्गीय समूहले सरोकार राख्ने भ्रष्टाचार, सुशासन कुरा उठाएको छ। तर रास्वपाले उठाएको विषयमा भोक छैन, गरिबी छैन, अशिक्षा छैन। 

तपाईं चुनाव लडेको मान्छे। मधेसको चुनावमा मुख्यगरी कुन फ्याक्टरले काम गर्छ?
मधेसको चुनावमा राजनीतिक एजेन्डाहरू छँदै छन्, राजनीतिक आन्दोलनहरूले आफ्नो एजेन्डा एउटा बनाएको हुन्छ। जसरी माओवादी आन्दोलनले आधारभूत वर्गमा जागरण र सचेतना विकास गर्‍यो, मधेस आन्दोलनले मधेसको एउटा चेताना विकास गर्‍यो। तर, यसबाहेक पनि अन्डरकार्पेट केही चिजहरू छन्। त्यो भनेको यहाँको जातीय संरचना हो। 

यहाँका राजनीतिक पार्टीमा राजनीतिक सचेतताको कारण मान्छे सामेल हुँदैन। यहाँको राजनीतिक पार्टीमा उसको एजेन्डा कस्तो छ भन्ने हुन्छ। कसैले धार्मिक एजेन्डा उठाउँछ, धार्मिक मान्छेहरू त्यहाँ जान्छन्, हिन्दु एजेन्डा उठाउँदा हिन्दुहरू त्यहाँ जान्छन्। मुस्लिम एजेन्डा उठाउँदा मुस्लिमहरू त्यहाँ जान्छन्। कसैले यादव एजेन्डा उठाउँदा यादवहरू एकातिर जान्छन्। यादवहरूमा पनि कयौँ फ्याक्टरहरू छन्। त्यसमा सामाजिक सुरक्षाका प्रश्नहरू छन्। थुप्रै प्रश्नहरूले काम गरिरहेको हुन्छ त्यहाँ। 

तपाईंले मलाई भन्नुभयो, त्यो चुनावको अनुभव हो। माओवादीले दस वर्षसम्म पूरै देशै हल्लायो। उसले राजतन्त्रलाई सिध्याइदियो। गणतन्त्र ल्याइदियो। २०६४ मा माओवादी नम्बर वन पार्टी भयो। त्यसपछि ग्राफ घट्दै गयो। भोट पोलिटिक्समा उसको पहुँच हुन सकेन। उसले जातीय आधारमा आफूलाई डेभलप गर्न सकेन। उसले दलितको आधारमा आफूलाई डेभलप गर्न सकेन। या त उसले समग्र सामाजिक संरचना या राजनीतिक संरचना नै चेन्ज गरिदिनसक्नु पथ्र्यो। त्यसकारण थुप्रै फ्याक्टरहरू काम गर्छन्। अहिले पनि राजनीतिमा तिनै पुरानो शक्तिहरू छन् तिनीहरू हाबी छन् त्यहाँ।

कांग्रेसमा भएको विद्रोह र नयाँ नेतृत्व आएपछि मधेसमा कांग्रेसको अवस्था कस्तो होला?
यो लामो उथलपुथलमा कांग्रेस थोरै शिथिल हुँदै गइरहेको थियो। गगन थापाको नेतृत्वमा आएपछि थोरै भाइब्रेन्ट भए जस्तो देखिन्छ। यसले मधेसमा राम्रै प्रभाव देखाउँछ होला। एउटा नयाँ पुस्ता खुलेरै त्यहाँ देखिएको छ।

महाधिवेशनको विषयमा विमलेन्द्र निधि गगन थापाका पक्षमा थिएनन्। तर, गगनकै सिग्नेचरमा उनले टिकट लिएर भोट माग्दै छन्। कांग्रेसमा अन्तर्घात नहुँदा राम्रो परिणाम आउँछ। यसले कांग्रेसमा एउटा गति ल्याउँछ र केही सिटमा जित निकाल्न सक्छ।

मधेसको ३२ वटा निर्वाचन क्षेत्रमा कसले कति सिट जित्ने देख्नुहुन्छ?
मलाई लाग्छ, टप थ्रीमा पुरानै दल हुन्छन्। अब वन, टु, थ्री कुन हुन्छन् त्यो मैले भन्न हतार हुन्छ, भन्नु राम्रो हुँदैन। तर, टप थ्रीमा पुरानै राख्न सक्नुहुन्छ। कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूपछि मात्रै रास्वपालाई देख्छु, प्रत्यक्षमा है फेरि। समानुपातिकमा कता जाने हो, त्यो भन्ने जोखिम म अहिले लिन चाहँदिनँ। 

आक्रामक प्रचारको दृष्टिकोणले सबैभन्दा अघि रास्वपा देखिन्छ। आक्रामक प्रचारलाई भोटमा बदल्न थुप्रै फ्याक्टरहरूले काम गरिरहेको हुन्छ। कुनै ठूलै भूकम्प या देशैभरि अचानक एउटा वेभ आयो या कुनै ग्य्रान्ड डिजाइनले नै केही काम गरिरहेको छ भने त्यो अलग कुरा भयो। त्यो बेलामा सबै लजिकहरू फेल हुन्छन्। होइन भने अहिलेको स्थितिमा कांग्रेस, एमाले, नेकपा र मधेसवादी नै देखिन्छ।

रास्वपाले निर्वाचनको मूल मुद्दा भदौ २३ को हत्यालाई बनाइराखेको छ। एमालेले भदौ २४ को आगजनीलाई आफ्नो मुद्दा बनाएर अगाडि बढिरहेको छ। निर्वाचनमा कसको पल्ला भारी देखिराख्नुभएको छ? 
भोट पोलिटिक्सको हिसाबले एमाले नै भारी छ। तर, भाष्यका हिसाबले रास्वपाले जित्छ। भदौ २३ मध्यमवर्गीय आन्दोलन हो। त्यसले देश हल्लाएन। त्यसले सहरहरू हल्लायो। सबभन्दा बढी काठमाडौँ हल्लायो, त्यसपछि बाँकी सहरहरू हल्लायो। तल्लो वर्गलाई त्यसको मतलब छैन। मजदुरलाई, किसानलाई जेनजी मुभमेन्टसँग मतलब छैन। त्यो जेनजी आफूमा एउटा आइडियोलोजी होइन, एउटा इमोसन हो। एउटा समूह मात्रै कसरी योग्य हुन सक्छ? धाराप्रवाह अंग्रेजी बोल्ने विद्यार्थीहरू थिए। टाइ लगाउने, प्यान्ट लगाउने विद्यार्थीहरू थिए। ती सबै मध्यवर्गका सन्तान थिए। जो उच्चधनी वर्गबाट पीडित थिए। 

दुइटा क्लास छन्। एउटा क्लास नेपालमा अनेक खाले घोटाला गर्छ। आफ्ना सन्तानहरू अमेरिका पढाउँछ, ब्रिटेन पढाउँछ वा कहाँकहाँ पढाउँछ। सबै त्यहाँ थुपार्छ। अर्को क्लास छ, जो नेपालमै सबै गर्छ, मेहनत पनि गर्छ, घोटाला पनि गर्छ, त्यो मध्यमवर्ग हो। उसले आफ्ना सन्तानहरू नेपालका महँगा स्कुलमा पढाउँछ। नेपालका महँगा स्कुलमा पढ्ने विद्यार्थी मध्यमवर्गका छन्। यो वर्गलाई डर भो, अब त मैले यहाँ पनि पढाउन नसक्ने भएँ, म सरकारी स्कुलमा झर्ने भएँ, लो क्वालिटीका स्कुलमा पढाउने स्थिति आयो, गाह्रो भयो। यो भ्रष्टाचारका कारण हो भन्दै आन्दोलनमा तिनीहरू मात्रै थिए। त्यहाँ भुइँ मान्छेका छोराछोरीहरू थिएनन्।

त्यसो हो भने सहर हल्लाएको आन्दोलनको प्रभावले गाउँमा खासै चुनावी परिणाममा परिवर्तन आउँदैन? 
निश्चय नै। आन्दोलन त्यहाँसम्म पुगेन। जनकपुरमा हुने चुनाव सम्बन्धी बहस र चर्चाहरू भन्दा धनुषाका दुर्गम इलाकाहरू पुग्नुस्, फरक पाउनुहुन्छ।

मधेसमा राष्ट्रिय दलहरू केन्द्रित हुँदा मधेस आन्दोलनबाट उदाएका दलहरू हराउँदै जाने खतरा देख्नुभएको छ कि छैन?
यो पनि एउटा महत्त्वपूर्ण प्रश्न हो। अहिलेको राजनीतिक परिदृश्यमा रास्वपाको परिणाम के आउँछ त आफ्नो ठाउँमा छ, त्यो भोलि देखिन्छ। तर यहाँ आइडोलोजिकल क्लासको खतरा छ। मधेसका पार्टीहरू मधेसी एजेन्डामा उदाएका थिए। तर जतिजति उनीहरू सत्ताका नजिक पुगे एजेन्डा छोड्दै गए। विगतको चुनावमा मधेसी नाराले व्यापक काम गर्थ्यो। अहिले गाह्रो छ, किनभने मधेसवादीसँग अरू एजेन्डा नै छैन।

त्यसो भए मधेसवादी दलहरू भुत्ते भइसके त?
भुत्ते भइसके। तर, सँगसँगै यो अहिलेको रेगुलर पोलिटिक्समा उसले पनि त आफ्नो जराहरू फिँजाएको छ। त्यसैले मैले कांग्रेस, एमाले, नेकपापछि मधेसवादीलाई सामेल गरेको छु। एजेन्डामा भुत्ते भए पनि संगठनमा उहाँहरू देखिनुहुन्छ। सामाजिक संरचनामा उनीहरूले पनि आफूलाई विकास गरेका छन्। उनीहरू पनि उही जातीयताका आधारमा, धर्मको आधारमा छन्, जसरी अरू राजनीतिक दलहरूले आफूलाई विकास गरेको पाइन्छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad