ad ad

अन्तर्वार्ता


विमानस्थलसँग राष्ट्रियता जोडिएको हुन्छ, बिजनेस मात्रै हेर्नुहुँदैन : पोखराका प्रमुख देवचन्द्र लाल कर्ण

विमानस्थलसँग राष्ट्रियता जोडिएको हुन्छ, बिजनेस मात्रै हेर्नुहुँदैन : पोखराका प्रमुख देवचन्द्र लाल कर्ण

देवचन्द्र लाल कर्ण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हुन् (तस्बिरः वाशुदेव मिश्र)


वाशुदेव मिश्र
चैत ३, २०८० शनिबार ७:४२, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १३ महिना बित्यो। तर भूराजनीतिक भूमरिमा परेको यो विमानस्थलमा अहिलेसम्म पनि विदेशका सहरहरूबाट नियमित उडान नै हुन सकेन। यसै सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णसँग नेपालखबरले गरेको वार्ता :

पोखरा विमानस्थल किन चलेन?
किन चलेन भन्दा पनि चलाउनको लागि के गर्नुपर्ने हो, सोचौं न।

यो अन्तर्राष्ट्रिय विमानथल नै हो? 

अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने सबैखालका व्यवस्था पोखरामा छन्। जनशक्ति पनि त्यसरी नै परिचालन भएको छ। विगतमा केही अन्तर्राष्ट्रिय प्रकृतिका उडान भए। यो अन्तर्राष्ट्रिय विमानस्थल नै हो।

ठूला जहाजहरु ठूलो भारी बोकेर पोखरा आउन सक्दैनन भन्ने कुरा बाहिर आएको छ। त्यस्तो हो? 
यो विमानस्थल बन्ने क्रममा बोइङ ७५७ सम्मका जहाज ल्याण्ड हुन्छन् भन्ने थियो। तर जब विमानस्थल तयार भएपछि वरपरको अवस्थाले ७५७ बोइङ र एयरबसको ३२० लाई कतै न कतै लोड पेनाल्टी पर्ने देखिन्छ। लोड पेनाल्टी कति परिरहेको छ भन्ने विश्वसनीय अध्ययन भएको छैन। कुनै समय अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्छु भन्ने भयो भने अध्ययन होला। तर, लोड पेनाल्टी चाहिँ पर्ने देखिन्छ। अहिले यती वा बुद्ध एयरकै एटीआर ७२ लाई पूर्वबाट पश्चिम ल्याण्ड गर्दा पनि लोड पेनाल्टी हुँदो रहेछ। फुल प्यासेञ्जर लिएर जान सक्दैनन्। यीभन्दा ठूला जहाजको त कुरै नगरौं।

एउटा इञ्जिनले काम गर्न नसक्ने भयो भने जहाजको शक्ति आधा कम भएर जाने रहेछ। आकासमा क्लाइम्ब गर्न जहाजको दुईवटा इञ्जिनको शक्तिले जति सजिलो हुन्छ, एउटाले हुँदैन। उडानको बेला उचाइ र गति लिन जहाजलाई ठूलो स्पेसको आवश्यकता पर्छ। बिस्तारै बिस्तारै गति र उचाइ लिन सकोस् भन्ने हुन्छ। पोखराको वरपर डाँडाकाँडा भएकाले त्यस्तो अवस्थामा गाह्रो हुन्छ।

काठमाडौंमा पनि त डाँडाकाँडा छन् नि?
काठमाडौंमा पनि जहाजको लोड पेनाल्टी छ। त्यसैले त काठमाडौंमा आधा घण्टा एक घण्टा कुरेर उत्तरबाट दक्षिणतिर उडान गर्छन् जहाज। दक्षिणबाट उत्तरतिर उडान गर्दा लोड पेनाल्टी हुँदो रहेछ। तपाईंलाई अचम्म लाग्ला, बरु भैरहवामा लोड पेनाल्टी छैन।

लोड पेनाल्टी भनेको के? 
जहाजको लोड कम गर्नुप¥यो। कि यात्रु, कि इन्धन कि कार्गो कम हुनुप¥यो। भारबहन क्षमता घटाउनुपर्ने अवस्था नै लोड पेनाल्टी हो।

सो पोखरा विमानस्थलमा अवरोध नै अवरोध छ? 
पोखरा विमानस्थल नजिकमा पहाडहरु छन्। हामी यसलाई अब्सट्याकल (अवरोध)हरु भन्छौं। रिठ्ठेपानी डाँडा त्यही कारणले काटिएको हो। अप्रोच पथमा परेका कारण त्यसको हाइट कम गरेको हो। पोखरामा अप्रोचमा थुप्रै डाँडा छन्।

रनवे ३ हजार मिटरको भएको भए? 
केही फरक पर्दैन। रनवे त ल्याण्ड र टेकअफ गर्नको लागि हो। जहाज हावामा आइसकेपछि त डाँडासँग भेट हुने हो नि।

बोइङ पोखरा आउन सम्भव नै छैन?
लोड कम लिएर आउँदा सम्भव छ। एयरबस ३३० पनि ल्याण्ड गर्न सक्छ तर खाली जहाज। खाली जहाज आएर के मतलब भयो र?

अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त जहाज कुन हो त भन्दा जुन जहाज भुटानको पारो र चाइनाको ल्हासामा उडान गर्छ। ती दुईवटा विमानस्थल डिफिकल्ट मानिन्छन्। र, पोखराका लागि पनि उपयुक्त जहाज एयरबस ३१९ हो। यसले १४०/१५० जना बोक्छ। यो ४ घण्टाको दूरीमा उड्न सक्छ। नेपाल एयरलायन्ससँग ३१९ छैन। हिमालयन एयरलायन्स र चीनका अरु कम्पनीसँग छ। भुटानसँग छ। पोखराबाट विदेशमा उडान हुने हो भने, सुहाउँदो जहाज एयरबस ३१९ नै हो। जसबाट सिंगापुरलगायत पूर्वी एसियाका देश र मध्यपूर्वका देश उडान गर्न सकिन्छ।

तपाईंले सुरुमा भनेको कुरामा आऊँ। पोखरा विमानस्थल किन चलेन र चलाउन के गर्नुपर्छ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १३ महिना भइसकेको छ। एयरपोर्ट चार्ज निशुल्क गर्दा पनि जहाज आएनन्। फ्रि गर्नु सानो मोटिभेसन त हो। तर निशुल्क ल्याण्ड गर्न दिन्छु भनेर मात्रै नहुँदो रहेछ एयरलाइन्स बिजनेसमा। एयरलायन्सको लागि मुख्य कुरा व्यवसाय नै हो। बिजनेस पाए ऊ जस्तो ठाउँमा पनि जान्छ। बिजनेस छैन भने किन जान्छ?

पोखरामा बिजनेस छैन?
छ तर, एउटा सेक्टरको लागि पर्याप्त बिजनेस छ कि छैन? पोखराबाट ल्हासा र ल्हासाबाट पोखरा प्यासेन्जर छन् त? तर, पोखराबाट ग्वान्झाओ चलायो भने दिनमा ५–७ वटा जहाज जान सक्छन्। पोखराबाट दिल्ली संचालन गरे दिनको १० वटा फुल हुन्छन् तर यहाँबाट बिसाखापट्टम चलाउँछु भन्दा स्वभाविक रुपले विचार गर्नुपर्छ। बैंगलोर र पोखराको फ्लाइट चल्छ। किनभने, दक्षिण भारतीयहरु मुक्तिनाथ आउँछन्। तीन घण्टामा यहाँ आउँछन्। उनीहरु ३ दिनभित्र आफ्नो घर फर्कन सक्छन्।

फिफ्थ फ्रिडमको कुरा गर्नुभा’छ, के हो त्यो भनेको?
यो विदेशीलाई दिइने एउटा अधिकार हो। जुन अधिकार प्रायः देशहरुले आफ्नो राष्ट्रिय ध्वजाबाहकलाई रिजर्भ राख्छन्। नेपाल एयलायन्स पोखरा आएन, हिमालयन पनि आएन। १३ महिनामा यही देखियो। पाँचौ अधिकार भनेको के हो भने, भुटानको जहाज पोखरा आयो, पोखराबाट अब प्यासेञ्जर लिएर बैंकक जाऊ, सिंगापुर जाऊ, फर्केर पोखरा आऊ। यहाँ बस्न मन लाग्छ यहीँ बस नभए भुटान जाऊ भन्ने हो। एउटा विमानस्थल प्रयोग गरेर दोस्रो वा तेस्रो देशमा उडान भर्न पाउने अधिकारलाई फिफ्थ फ्रिडम भनिन्छ। नेपाली एयरलाइन्स नआएपछि यो अधिकार कसको लागि राख्ने? नेपाल सरकारले अहिलेसम्म यस्तो अधिकार भुटानको एयरलायन्सलाई मात्र दिएको छ। भुटान एयरलायन्सले काठमाडौंको विमानस्थल प्रयोग गरेर दिल्ली जान्छ।

त्यस्तो उडान अनुमतिको लागि चार्ज तिर्नुपर्छ?
विभिन्न मोडल छन्। एउटा प्यासेञ्जर आउँदा ३ हजार शुल्क ग्राउण्ड ह्याण्डलिङको हुन्छ, ल्याण्डिङ तिर्नु पर्दैन अहिले। तर एक वर्ष निःशुल्क गर्दैमा चल्ने हैन। 

अहिले पोखरा विमानस्थलमा एउटा विदेशी जहाज आउँदा कति आम्दानी हुन्छ? 
ल्याण्डिङ, पार्किङ ढाइ लाख, ग्राउण्ड ह्याण्डलिङसमेत गरी ५ लाख आम्दानी हुन्छ। प्यासेञ्जर सर्भिस ट्याक्स जोड्दा ८ देखि १० लाख आम्दानी हुन्छ।  

विमानस्थल सञ्चालनको दैनिक खर्च कति छ? 
यो विमानस्थलको एक महिनामा ५० लाख बिजुलीको तिर्नुपर्छ। अरु खर्च पनि छन्।

चीनबाट ऋण लिएर बनेको यो विमानस्थलमा चीनबाट पनि किन उडान भएनन्?
व्यापार हुँदा सबैले चासो राख्छन्। आयो भने लाख, गयो करोडौं हो एयरलायन्स बिजनेस। आजको भोलि कसैले उडान सञ्चालन गर्दैन। सेटअप गर्न धेरै मिहिनेत गर्नुपर्छ।

सिचुवान एयरलायन्सले पोखरा विमानस्थलमा अल्टरनेट जहाज राख्न चाहन्छु भनेको छ। कथंकदाचित काठमाडौंमा भएन भने पोखरामा ल्याण्ड गर्छु, जानकारी पठाइदिनुहोस् भन्यो। हामीले पठाइदिएका छौं। तर, अल्टरनेटिभ हुँदा लाग्ने खर्च कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ। अल्टरनेट गर्दा खर्चिलो हुन्छ। बिहान ६ देखि साँझ ७ बजेसम्म खुल्छ। त्यसपछि ओभरटाइम हो। एकछिनको लागि विचार गरौं न दिउँसो आइदिए धेरै राम्रो। राति १ बजे राखिदियो भने त बत्ति, स्टाफको खर्च बढ्छ। झन खर्चिलो हुन्छ।

के जानकारी माग्यो? 
त्यही हो, रनवेको लम्बाई। कतिबेला खुल्छ र बन्द हुन्छ भन्ने हो।

चार्टर्ड फ्लाइट हुनु राम्रो हो?
सेड्युल फ्लाइट एकैचोटी मारामार हुँदैन। कहिलेकाहीँ चार्टर्डबाट सुरु हुन्छ र सेड्युलमा परिणत हुन्छ। केही हवाइ कम्पनीले हेरिरहेका छन्। लोड पेनाल्टीदेखि सबै कुरा हेरेकै छन्। कोसँग कस्तो जहाज छन् भन्नेले पनि अर्थ राख्छ। श्री एयरलायन्सको जहाज काठमाडौंबाट बैंकक जान्छ र आउँछ। कहिले चार्टर्ड जान्छ। त्यो जहाज पोखरा पनि आउन सक्छ। श्री एयरलायन्सलाई के गर्नुपर्ने हो?  हौसला दिने हो कि सरकारले।

हवाइ मार्ग नभएर हो उडान नभएको भनिन्छ नि? 
म जोड दिएर भन्छु, रुटको कुरा हुँदै हैन। रनवेबाट उडेपछि जहाँ लिएर जानुहोस्। ब्राजिल लिएर जानुहोस्, हङकङ लिएर जानुहोस्। जहाज जहाँ पनि जान्छ। यहाँ जहाज आइरहेको छ, गइरहेको छ। रुटको कुराभन्दा मुख्य कुरा ल्याण्ड गर्ने अनुमति चाहियो। भारतमा अनुमति भएको भए उडान हुन्थ्यो। मैले सुनेको, बुद्धले भारत उडान अनुमति पाएको छैन। रुट छ। ल्याण्डिङ प्रोभिजनको समस्या हो। रुटमा त के चाहिन्छ र? अलिकति सोझो र घुमाउरो कुरो त हो। भैरहवाबाट काठमाडौं आयो ५ सय सस्तो होला, सिमराबाट महँगो होला। प्लस माइनस त भइहाल्छ। मान्छे नआउने/आउने भन्ने हैन। रुटको कमी छैन। उत्तरतिर र दक्षिणतिर ल्याण्ड गर्ने अनुमति चाहियो।

चीन​तिरको अवस्था के छ? 
चीनमा कुन जहाज पठाउने? हिमालयको फुर्सद छ र? उसले त काम गरिराछ, काठमाडौं ल्हासा गरिराछ। नेपाल एयरलायन्सको जहाज पोखरा आउनै मन गर्दैन। भुटानबाहेक अरु विदेशी जहाजको लागि फिफ्थ फ्रिडम दिइएकै छैन।

एयर सर्भिस एग्रीमेण्ट वा बासा (बाइरेक्टरल एयर सर्भिस एग्रीमेण्ट) मा नेपालको कुनै पनि बिन्दुबाट भारत जान सक्ने र त्यहाँबाट यहाँ आउन सक्ने भन्ने छ। यो पहिल्यै भएको सम्झौता हो। सम्झौताले त्यहाँका कुनै पनि विमानस्थल प्रयोग गर्न सकिन्छ भन्ने छ। कुरा कहाँ अड्किएको हो भने, जान सक्ने भन्ने छ तर कहाँ बस्ने भन्ने छैन। ल्याण्ड गर्न अनुमति त चाहियो नि। भारतको जहाज नेपाल आउँदा पनि जहाँ मन लाग्यो त्यहाँ बस्न पाउँछ र? अनुमति लिनुप¥यो। कसले कहाँ ढिलो गरिरा’छ, थाहा छैन तर पोखराबाट जहाज नगएको र नआएको साँचो हो।

नेपाली ध्वजाबाहकबाट उडान सम्भव छैन? 
नेपाल एयरलायन्स कमाएर खाने संस्था हैन र? यो सरकारी संस्था हो। सामाजिक दायित्व छ तर आर्थिक रुपमा पनि चल्नुपर्ने हुन्छ।

विदेशी जहाज पोखरा आउँदैनन् त त्यसो भए अब? 
जहाजहरु खर्च काटेर नाफा भयो भने मात्र आउने हुन्। पुरस्कार घोषणा दिएर आउँदैनन। एयरलायन्सको लागि बिजनेस महत्वपूर्ण हो। लोड पेनाल्टी भयो के फरक पर्छ र? कम लिएर जाँदा पनि घाटा नलागोस् भन्ने उनीहरुको कुरा हुन्छ।

यो विमानस्थल हावाको तालमा बनाइएछ कि के हो? बिजनेस सम्भावनाको अध्ययन नै नगरि। 
विमानस्थललाई बिजनेसको रुपमा मात्र हेर्नु हुँदैन। हिजोसम्म एउटामात्र विमानस्थल थियो। धन्न २०९२ सालको भूकम्पमा रनवे केही भएन। भएको भए के हुन्थ्यो? अहिले त हामीसँग विकल्प छ। जाजरकोट भुइँचालोमा चिनियाँ सेनाको जहाज राहत सामग्री लिएर आयो नि। व्यापारिक रुपले चल्ने भन्ने अर्को कुरा हो। विमानस्थलको महत्व छुट्टै हुन्छ। विमानस्थलको सुरक्षा नेपाली सेनाले गर्छ। विमानस्थलसँग राष्ट्रियता र सम्प्रभुता जोडिएको हुन्छ।

नियमित उडानको लागि अब के गर्न सकिन्छ? 
उत्तर दक्षिणबाट उडान होस्। यो तटस्थ विमानस्थल होस्। यो नेपालको होस्। विश्वभर नेपालकै विमानस्थल हो भन्ने सन्देश पुग्नुप¥यो।

काठमाडौंका मान्छेले चलाउन दिएनन भन्छन् नि पोखरेली?
काठमाडौंले पोखरा र भैरवालाई किन बिजनेस दिने? भैरहवाले किन पोखरालाई बिजनेस दिने? पोखराले प्यासेञ्जरको चाप बनाउनुप¥यो नि। ताकि, दौडिएर एयरलायन्स आउन्। यहाँको पर्यटनमा चाप बढे त्यो एयरलायन्समा बढ्छ। दशैँ तिहारको बेला त्यस्तो देखियो नि। बिहार, उत्तर प्रदेशका मान्छे धेरै आए। भैरहवा र चितवनको टिकट मारामार भयो। तर नेपालगञ्ज खाली भयो।

भारतका बोर्डर सहरमा पनि किन उडान हुन नसकेको? 
यती, बुद्धहरु व्यापारिक संस्था हुन्। व्यापार भए जान्छन्। रनवे सानो भए पनि सुर्खेत गएकै छन् त। तर, खाली जहाज त उँडाउँदैनन् नि। बुद्ध एयरले पोखराको प्रचार गर्दैन। ऊ व्यापार गर्छ। मार्केटिङ त पोखरेलीले गर्नुप¥यो नि।

त्यसरी मार्केटिङ कहिले होला? 
म उपमहानिर्देशक हुँदा पहिलो जहाज ल्याइदेऊ भनेँ। तेस्रो जहाज भुटानबाट पोखरा ल्याएँ। एउटा परियोजनामाथि काम भइरहेको छ। फ्रेबुअरी १५ तारिख एउटा जहाज आउनेवाला थियो। त्यो आएन। किनभने रेट महँगो भयो।

महँगो हुनुको कारण? 
जहाज आउँदा ग्राउण्ड ह्याण्डलिङ गर्नुपर्छ। मान्छे चाहिन्छ। ग्राउण्ड ह्याण्डलिङ संचालन गर्ने उपकरण नेपाल एयरलायन्स नै हो। नेपाल वायु सेवा निगम (एनओसी)का मान्छे काठमाडौंमा बस्छन्। स्थायी कर्मचारी कोही बस्दैनन् पोखरामा। उनीहरु पोखरा आउँदा महँगो पर्छ। तर, अहिले भुटान एयरलायन्ससँग कुरा भइरहेको छ। उसले मार्च महिनामा २० वटा चार्टर्ड गर्छु भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .