ad ad

अन्तर्वार्ता


बोक्नै नपर्ने मान्छेलाई बोकेर मैले गल्ती गरेँ : वामदेव गौतम (अन्तर्वार्ता)

बोक्नै नपर्ने मान्छेलाई बोकेर मैले गल्ती गरेँ : वामदेव गौतम (अन्तर्वार्ता)

फाइल तस्बिर


रुपक चौलागाईं
असार १९, २०७९ आइतबार १३:३, काठमाडौँ

यही असार १४ गते नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरेका संयोजक वामदेव गौतम पाँच दिनमै पार्टीबाट ‘आउट’ भए। गौतमले घोषणा गरेको पार्टीमा अन्य राजनीतिक दललाई पनि समावेश गरिएको थियो। तर तिनै राजनीतिक दलले शनिबार भेला आयाेजना गरी विभिन्न आरोप लगाउँदै गौतमलाई संयोजक पदबाट हटाएको घोषणा गरे। 

तर गौतम आफूले चाहिँ उद्दण्ड क्रियाकलाप गर्ने चार दलका ५ नेतालाई पार्टीबाट निकालेको दाबी गर्छन्। आइतबार बिहान नेपालखबरसँगको छोटो कुराकानीमा गौतमले ‘ती व्यक्तिहरू आफ्नो अभियानकै नभएको’ बताएका छन्। 

गौतमले त्यस्ता व्यक्तिलाई पार्टीमा भित्र्याएर आफूले गल्ती गरेको समेत बताए। यस्ता क्रियाकलापबाट आफ्नो अभियानलाई कुनै असर नगर्ने उनको दाबी छ। 

तपाईं आफैं पार्टीबाट निष्कासित हुनुभएछ त? 
ती एकता अभियानका व्यक्ति नै होइनन्। ती उदण्ड, जघन्य क्रियाकलाप गर्ने घुसपैठ व्यक्तिहरू हुन्। हामीले अतिथिका रूपमा घोषणा कार्यक्रमका दिन आसन ग्रहण गराएका थियौं। हामी पनि यही पार्टीमा बस्छौं, हामीले दर्ता गरेको पार्टी खारेज गर्छौं भन्ने वचनवद्धता व्यक्त गरेर हामीले केन्द्रीय कमिटीमा राखेका थियौं। उहाँहरू केन्द्रीय कमिटीका सदस्यहरू बन्नुभयो। केन्द्रीय कमिटीकै बैठकमा पनि उहाँहरूले उत्पात मच्चाउनुभयो। केन्द्रीय कमिटीको हलमा एउटै व्यक्ति दुईवटा पार्टीको सदस्य हुन सक्दैन भन्ने गम्भीर विषय उठ्यो। त्यसपछि उहाँहरूले हामी यही पार्टीलाई आफ्नो मान्छौं, यसअघि दर्ता भएको पार्टीलाई हामीले यहाँबाट गएपछि खारेजका लागि छलफल गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यहीअनुसार हामीले एकजनालाई सचिवालय सदस्य पनि बनायौं। तर, उल्टै यस्ता क्रियाकलाप गर्नुभएको छ जुन अत्यन्तै हास्यास्पद, जघन्य र घृणायोग्य छन्। 

यो एकता अभियान हामीले २ वर्षअघि सुरु गरेका हौं। त्यसमा कहिल्यै नजोडिएका र साथी नै मान्न नसकिनेहरू एक्कासि भेलामा आउनुभयो। हामीले यो यो समूहका हामी हौं भनेपछि अतिथिको आसन ग्रहण गरायौं। जब हामीले केन्द्रीय कमिटी चयन गर्ने बेला भयो त्यतिबेला हामीलाई पनि राख्नुपर्छ भनेर उहाँहरूले भन्नुभयो। दुईवटा पार्टी को त बन्दैन, अब कसरी गर्ने त भनेर हामीले भनेपछि ‘हामी यसैमा बस्छौं, यहाँबाट गएपछि पुरानो पार्टी खारेज गर्छौं’ भन्नुभएको थियो।

अहिले आएर अनेक बखेडा खडा गर्न थाल्नुभयो। हामीले उहाँहरूको बखेडालाई मञ्जुर गरेनौं, त्यसपछि अहिले हास्यास्पद, उटपट्याङ, नौटंकी काम भएको छ। मलाई नै संयोजकबाट निष्कासन गरेको, केन्द्रीय कमिटी नै भंग गरेको आदि जस्ता उटपट्याङ कुराहरू लिएर हिँड्नुभएको छ। यो हाम्रो पार्टीलाई तहसनहस बनाउनका लागि कतैबाट नियोजित रुपमा घसपैठ गर्नेगरी आउनुभएको रहेछ। 

तपाईंलाई कारबाही गर्नेहरूविरुद्ध के हुन्छ त?
हामीले उहाँहरूलाई निष्कासन गरिसकेका छौं। ५ जना हस्ताक्षरकर्तालाई निष्कासन गरेका छौं। त्यसमा हस्ताक्षर गर्नेहरूले हामीसँग माफी मागेर यसअघि भएका क्रियाकलापमा निवेदन गर्दै आउनुभयो भने पुनर्विचार गर्न सक्छौं। हिजो साँझको बैठकबाट त्यो निर्णय गरेका छौं। त्यसको मुख्य कर्ता युवराज सफल भन्ने अत्यन्त घातक र नेपालका निम्ति जुनसुकै बेला जस्तो पनि काम गर्नसक्ने मान्छे हुन्। यति लामो समयको कम्युनिस्ट आन्दोलनमा यस्तो खालको व्यक्ति फेला पारियो, जसमा मैले विश्वास गरेँ, अहिले उल्टो क्रियाकलाप गर्नुभयो। 

तपाईं निष्कासित हुनुभएको कि तपाईंले निष्कासित गर्नुभएको?
अहिले मिडियाले साँच्चै नै वामदेव निष्कासित भयो भन्ने प्रचार गरिरहेका छन्। दुई तीन जना व्यक्तिले तथानाम गर्ने र एउटा कागज दिँदैमा वामदेव निष्कासित भनेर प्रचारबाजी भयो, त्यसले समस्या पारेको हो। मैले केन्द्रीय कमिटीको बैठकमा तपाईंहरू आउनुभयो, अब खुसीका साथ जानुहोस्, केही फरक पर्दैन, हामी मित्रका रूपमा सधैं कायम रहन्छौं भनेर उहाँहरूलाई बखेडा खडा गर्नेगरी यहाँ नबस्नूस् भनेको थिएँ। हामी यसो गर्ने छैनौं भनेर त्यहाँ पुनः वाचा कबोल गर्नुभएको थियो। 

तपाईं आफैं वाम एकता अभियानमा लाग्नुभएको छ तर हप्ता दिन नपुग्दै फुट्यो भन्ने प्रचार हुँदा त अभियानले गति नलेला नि?

अभियानलाई कुनै समस्या पार्दैन। म अघि बढेको छु। केही समयपछि तपाईंहरूले हामीले गरेको निर्णय र प्रयत्न सफलतापूर्वक अघि बढ्छ भन्ने विश्वास छ। यस्ता सानातिना झन्झटले मेरो अभियानमा कुनै प्रभाव पार्दैन। बोक्नै नपर्ने मान्छेहरूलाई उहाँहरूकै अनुरोधमा मैले राखेँ। तर, त्यतिबेला मैले साँच्चिकै गल्ती गरेँ। यस्ता व्यक्तिहरूलाई समावेश गर्न हुँदैन थियो। 

राजनीतिबारे लामो जानकारी नभएको, दर्ता गरेका विभिन्न पार्टीमा पृष्ठभूमि नभएको, समाजवादको कुरा गरेको भएकाले शक्ति वृद्धिका लागि लौ त भनेको थिएँ तर अन्तिममा जे गर्नुभयो, यो धर्म, शास्त्र मान्नेहरूका लागि भन्ने हो भने महा पाप हो। नर्क जाने गरी उहाँहरूले क्रियाकलाप गर्नुभएको छ। 

पछिल्लोपटक भेटेको कम्युनिस्ट नेताबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
मैले तीनजना नेतालाई भेटेँ। उहाँहरूले सकारात्मक कुरा गर्नुभएको छ। तर, एकआपसमा नमिल्ने कुरा पनि गर्नुभएको छ। जुन उहाँहरूले नै भन्नुहुनेछ। मैले भन्न मिल्दैन। मैले बुझ्दा सकारात्मक छ। यो चुनावअघि वा पछाडि हामी सबै कम्युनिस्ट मिलेर एक ठाउँमा उभिन्छौं भन्ने मलाई विश्वास छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .