ad ad

अन्तर्वार्ता


लोकतन्त्रवादी मत विभाजित भएर स्वतन्त्रले जित्नु कांग्रेसका लागि ठूलो चुनौती हो : प्रदीप पौडेल (अन्तर्वार्ता)

लोकतन्त्रवादी मत विभाजित भएर स्वतन्त्रले जित्नु कांग्रेसका लागि ठूलो चुनौती हो : प्रदीप पौडेल (अन्तर्वार्ता)

केशव सावद
जेठ २७, २०७९ शुक्रबार २०:५४, काठमाडौँ

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ। सो पार्टीले सत्ता साझेदार अन्य दलसँग गठबन्धन गरेको थियो। चुनावका लागि कांग्रेसले अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमिति गठन गरेको थियो। सोही उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य प्रदीप पौडेलसँग निर्वाचन परिणामको मूल्यांकन र ठूला सहरमा स्वतन्त्र उम्मेदवारको विजय र गठबन्धनको भविष्यजस्ता विषयमा केन्द्रित रही नेपालखबरले गरेको कुराकानीः 

नेपाली कांग्रेसले निर्वाचनका लागि तपाईंको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमिति गठन गरेको थियो। उपसमितिले निर्वाचनको परिणामको कसरी मूल्यांकन गरेको छ?
यसका दुई वटा पक्ष छन्। एउटा हाम्रो आन्तरिक पक्ष, अर्को गठबन्धनको पक्ष। हाम्रो आन्तरिक पक्षमा कतिपय कुराहरु अत्यन्तै सशक्त पनि देखिएका छन्। कतिपय कमजोरीहरु प्नि देखिएको छ। टिकट वितरणदेखि निर्वाचनको परिणाम आउने अवस्थासम्म थुप्रै कुराहरुलाई हामीले समीक्षा गर्न आवश्यक छ। 

नेपाली कांग्रेस जिताउन सम्पूर्ण शक्ति प्रयोग गर्न सकेको भए हामी जहाँ एक्लै चुनाव लड्यौँ, ती ठाउँहरु अरु बढी जित्न सकिने स्थिति हुन्थ्यो। गठबन्धनलाई अझ बढी व्यवस्थित गर्न सकेको भए, प्रमुख र उपप्रमुखमा मात्रै नभएर वडा तहसम्मै गठबन्धन गर्न सकेको भए धेरै पालिकाहरु जित्न सकिने अवस्था बन्न सक्थ्यो। 

चुनावी परिणामको हिसाबले त हामी सबैभन्दा अगाडि छौँ। पदको आधारमा, प्राप्त मतको आधारमा कांग्रेस पहिलो छ। तर, हामीले कति मत बढायौँ त? हामीले निर्वाचनमा ५० प्रतिशत मत ल्याउने लक्ष्य राखेका थियौँ। तर, त्यो त्यो लक्ष्य प्राप्त हुन सकेन। दुईतीन लाख मत मात्रै बढ्यो। यस हिसाबले हामीले अपेक्षा गरेअनुसार मत प्राप्त गर्न सकेनौँ। 

यद्यपि, कांग्रेस पहिलो पार्टी भयो। पहिलो पार्टी हुनुलाई नै उपलब्धी मान्ने हो भने त्यो एउटा विषय हुन सक्छ। होइन, हामीले ५० प्रतिशतको हाराहारीमा नेपाली कांग्रेसको मत बढाउने हो भने थुप्रै कुराको समीक्षा गर्न जरुरी छ। सच्याउन जरुरी छ। र, अद्यावधिक गरेर नयाँ शिराबाट अगाडि बढ्न आवश्यक छ। 

समीक्षाको सन्दर्भमा हामीले तयार गरेको प्रतिवेदन काम लाग्ने अर्थात् पुँजी बन्छ भन्ने हाम्रो विश्वास हो। हामीले निर्वाचन सुरु भएदेखि परिणाम आउने अवस्थासम्म सबै कुरालाई समेटेर प्रतिवेदन तयार गरेका छौँ।

तपाईंहरुको प्रतिवेदनको निष्कर्ष के छ? 
प्रतिवेदनको एउटा निष्कर्ष आन्तरिक विषयहरुलाई सच्याउन जरुरी छ। नयाँ शिराबाट यसलाई अद्यावधिक गरेर जान जरुरी छ। चुनावी प्रचार शैली फेर्न जरुरी छ। परम्परागत चुनावी प्रचार गरेर मत आकर्षित गर्न सकिँदैन। यसलाई प्रविधिसँग जोड्न जरुरी छ। 

हाम्रो टिकट वितरणको प्रक्रियालाई मापदण्डमुखी बनाउने अथवा लोकप्रियताको मानक सिद्धान्त बनाउने, न्यायोचित ढंगले निर्णय गर्ने परिस्थिति निर्माण गर्ने। कार्यकर्ता पंक्तिलाई सम्पूर्ण रुपमा परिचालित गर्ने र एजेन्डामुखी भएर अगाडि बढ्ने। यो हाम्रो आन्तरिक विषय भयो। 

गठबन्धनका सन्दर्भमा पनि गणितप्रधान गठबन्धन होइन कि एजेन्डाप्रधान गठबन्धन गर्न आवश्यक छ। कांग्रेस पार्टीलाई ठूलो पार्टी बनाउनका लागि गठबन्धन गरियो भने त्यो जनतालाई सरोकारको विषय हुँदैन। 

संविधान जोगाउनका निम्ति, समृद्धि प्राप्त गर्नका निम्ति, नेपालका विद्यमान तमाम समस्या हल गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति गठबन्धन आवश्यक छ भन्ने कुरा महसुस गराउन सकियो भने गठबन्धनको पक्षमा गठबन्धनमा आबद्ध दल समर्थक मतदाताले मात्रै नभएर आम मतदाताले पनि मतदान गर्ने स्थिति बन्छ। 

यसकारण गठबन्धनलाई एजेन्डा केन्द्रित, विचार केन्द्रित साझा एजेन्डा बनाएर अगाडि लिएर जान सकिन्छ। आन्तरिक कमी–कमजोरीहरुलाई सच्याएर अगाडि बढ्न आवश्यक छ। 

समग्रमा नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुसँग गरेको चुनावी तालमेल सफल कि असफल? 
हामी ५७ प्रतशित पालिकाहरुमा एक्लै लड्यौँ। ४३ प्रतिशत पालिकाहरुमा मात्रै गठबन्धन गरेका हौँ। गठबन्धन त्यहाँ भए, जहाँ कांग्रेस एक्लै चुनाव जित्न सक्दैनथ्यो। एक्लै चुनाव जित्न यथेष्ठ मत नपुग्ने भएका कारणले मत पुर्याउनका निम्ति गठबन्धन गरिएको स्थिति हो। 

यसैले कमजोर ठाउँ जहाँ गठबन्धन भयो, त्यहाँ गठबन्धन नभएको भए के हुन्थ्यो? नभएको भए हारिन्थ्यो। गठबन्धन भएकाले जितिएको छ। तर, गठबन्धन गरिएका सबै तहमा किन जित्न सकिएन भन्दा गठबन्धन प्रभावकारी हुन सकेन। यो एउटा विषय भयो। 

अर्को विषय, जहाँ हामी एकल रुपमा प्रतिस्पर्धा गर्यौँ त्यहाँ सबै ठाउँमा किन जित्न सकिएन भन्दा हाम्रा थुप्रै कमजोरीहरु रहे। यसकारण अहिलेको निचोड के हो भने– समग्र निर्वाचनको परिणामलाई आधार बनाउँदा कांग्रेस पहिलो पार्टी भएको छ। पहिलो पार्टी पदका आधारमा मात्र नभएर मतको आधारमा पनि भएको छ। कुनै पनि कुरामा कांग्रेसलाई कुनै पनि पार्टीले जितेको छैन।

सबै कुरामा कांग्रेस पहिलो भएको छ। तर, पहिलो मात्रै भएको छ, अपेक्षाकृत मत कांग्रेसले प्राप्त गर्न सकेको छैन। अपेक्षाकृत मत प्राप्त गर्न प्रचारमा प्रभावकारिता हुनुपर्छ। घोषणापत्रले जनताका स्वार्थलाई अझ बढी समेटेको हुनुपर्छ। पार्टीलाई अझ बढी संगठित गर्ने, अझ बढी एकताबद्ध बनाउने पक्षलाई आन्तरिक रुपमा सुधार गर्न आवश्यक छ। गठबन्धन गर्दा साझा एजेन्डा निर्माण गरेर मात्रै गर्नु पर्छ। 

आसन्न संघीय र प्रादेशिक निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्छ कि स्थानीय तह निर्वाचनमा जस्तै सत्ता साझेदार दलहरुसँग चुनावी तालमेल गर्छ?
गठबन्धनको अभ्यास विकसित भएको छ। मेरो विचारमा गठबन्धन गर्ने प्रक्रिया नै अगाडि बढाउन खोजिन्छ। तर, गठबन्धन गर्ने कुरा त्यति धेरै सजिलो भने छैन। स्थानीय तहमा धेरै पदहरु थिए। संघीय र प्रादेशिक निर्वाचनमा धेरै पदहरु हुँदैन। अब एकै ठाउँमा धेरै व्यक्तित्व हुने स्थिति छ। त्यसो भएपछि त्यसलाई व्यवस्थापन गर्न पनि गाह्रो छ। 

प्रतिनिधिसभामा कसको संख्या कति छ भन्ने आधारमा दलको हैसियत निर्माण हुने भएकोले प्रतिनिधिसभामा संख्या बढाउने कोसिस हुन्छ। त्यसैले सबैले संख्या बढाउने कोसिस गर्दा त्यसको मिलनविन्दु नभेटिने पो हो कि? 

अब फेरि संख्या बढाएर मात्रै हुँदैन। त्यो स्वाभाविक पनि हुनपर्यो। जुन दलले जहाँ उम्मेदवारी दिन खोजेको हो त्यहाँ त्यो दलको प्रभाव पनि हुनपर्यो। त्यसो भएकाले यी सबै कुराहरु गठबन्धनका चुनौती हुन्। 

गठबन्धन गर्ने मनस्थितिमा, मनोविज्ञानमा गठबन्धनभित्रका सबै दलहरु रहेको देखिन्छ। तर, यसलाई सार्थक बनाउनका निम्ति चुनौतीहरु थुप्रै छन्। अब ती चुनौतीहरुलाई सामना गरेर गठबन्धनलाई सार्थक बनाउने सन्दर्भमा थुप्रै गृहकार्य गर्न आवश्क छ। 

मुख्यगरी कसको सिट संख्या कति हुने? को कहाँबाट उठ्ने? कसरी बाँडफाँट गर्ने? एउटा विषय हुन सक्छ। तर, त्योभन्दा महत्वपूर्ण विषय यो गठबन्धन देशका लागि कति आवश्यक छ? यो गठबन्धन भयो भने देशले के प्राप्त गर्छ? गठबन्धनले स्थितिरता दिने सुनिश्चितता कसरी हुन्छ? गठबन्धनले देशलाई समृद्धि दिने सुनिश्चितता कसरी हुन्छ? भन्ने आधारलाई स्पष्ट पारेर अगाडि बढ्नु पर्छ। 

कांग्रेसको १४ औँ महाधिवेशनबाट युवा जमात नेतृत्वमा आएको छ। तर, स्थानीय तह निर्वाचनमा पार्टीका युवाभन्दा स्वतन्त्र युवाप्रति मतदाताको आकर्षण देखियो। यसलाई कसरी लिनुभएको छ? 
लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको पार्टी नेपाली कांग्रेसले जनता मालिक हुन्, जनताले चाहेको कुरा हुनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात गरेको छ। त्यसैले निर्वाचनमा कांग्रेसले जितेन, अरु कसैले जित्यो अथवा जनताले आफूले चाहेअनुसारको निर्णय गरे। यसलाई लोकतान्त्रिक पक्षसँग जोडेर हेर्दा यो नकारात्मक कुरा होइन। 

तर, आन्तरिक विषयसँग जोडेर हेर्दा नेपाली कांग्रेसले नेपालका सबै लोकतन्त्रवादी मतदाताहरुलाई आफ्नो छाताभित्र राख्न सकेको छ भन्ने हाम्रो बुझाइ थियो। अब लोकतन्त्रवादी मतदाताहरु पनि विभाजित हुने स्थिति देखियो। यो कांग्रेसका लागि ठूलो चुनौती हो। 

हामीले सम्पूर्ण लोकतन्त्रवादी मतदातालाई आफ्नो चुनाव चिह्नमा आकर्षित गर्न सकेनौँ। अथवा अन्यत्र विषयान्तर हुने स्थिति बन्यो। त्यसकारणले हामीले आफूलाई सच्याउने, सुधार गर्ने, जनमुखी बनाउने र हामी एजेन्डा केन्द्रित भएर अगाडि जाने गरी सम्पूर्ण रुपमा सच्याउने अवसरका रुपमा हामीले यसलाई प्रयोग गर्नुपर्छ। 

हामीले केही ठाउँमा पराजय भोग्यौँ, केही ठाउँमा स्वतन्त्रले जिते। विधि–व्यवस्थाअनुसार जनताले जे चाहे, त्यही निर्णय भयो। तर, कुरा के हो भने नेपाली कांग्रेसले यसबाट आगामी दिनमा आफूलाई एजेन्डाकेन्द्रित गरेर सम्पूर्ण रुपमा आफूलाई सुधारेर, सच्याएर अगाडि जानुपर्छ। यो निर्वाचनबाट हामीले त्यो पाठ सिक्नुपर्छ। 

स्वतन्त्रहरु जहाँ–जहाँ उठेका थिए त्यहाँ नेपाली कांग्रेस नै निकटतम् प्रतिद्वन्द्वी देखियो। स्वतन्त्रहरु लोकप्रिय भएर हो कि कांग्रेसका उम्मेदवार अलोकप्रिय भएर हो? थुप्रै ठाउँमा अब तपाईंहरुको प्रतिस्पर्धी स्वतन्त्र युवा हुने देखियो होइन?       
मैले भनिसकेँ सच्याउनुपर्ने विषयहरु थुप्रै छन्। मेरो विचारमा हाम्रो प्रचार शैली नै परम्परागत भयो। उम्मेदवार र वक्ताले अथवा नेपाली कांग्रेसका अभियन्ताले ठ्याक्कै स्थानीय समस्यालाई चित्त बुझ्दो ढंगबाट जनजिब्रोले महसुस गर्ने ढंगबाट उठान गर्न नसकेको हो कि? त्यस्तो पनि देखियो। 

एकदमै परम्परागत ढंगले मात्रै कतिपय ठाउँमा काम गर्ने स्थिति रह्यो। आधुनिक सञ्चार प्रविधिलाई प्रयोग गर्न चुक्यौँ। अब त कस्तो परिस्थिति सिर्जना भइसक्यो भने एउटा उम्मेदवारले एउटा मात्र अन्तर्वार्ता दियो भने त्यो उम्मेदवारलाई भोट हाल्ने कि नहाल्ने भन्ने निर्णयमा मतदाता पुग्ने स्थिति बन्यो। यसकारण अब प्रचारको समस्या रहेन आमसञ्चारको विकास भएको स्थितिमा। 

प्रचार गर्ने एजेन्डा पुगेन कि? हामीले जनता खुसी बनाउने गरी एजेन्डा तयार गर्न सकेनौँ कि? ठ्याक्कै समस्यालाई हामीले ‘क्लिक’ गर्न सकेनौँ कि? त्यो कुरासँग जोडेर हामीले आफूलाई समीक्षा गर्न आवश्यक छ। 

मतदाताले जसलाई चाहन्छन् उनीहरुलाई मत दिने कुरा हाम्रो विधिमा स्वाभाविकै हो। तर, हामीले आफूलाई सशक्त बनाउने, अद्यावधिक गर्ने सवालसँग तपाईंले उठाउनुभएको कुरा महत्वपूर्ण छ। अब यो केही स्थानमा मात्रै भएको छ। ७५३ पालिकामध्ये ४–५ स्थान। तैपनि यो झनझन् विकसित हुँदै गयो भने, यो मोडालिटी अन्यत्र पनि अनुसरण गर्ने स्थिति बन्दै गयो भने हाम्रा लागि ठूलो खतराको विषय हुन सक्छ। 

कसले जित्यो? जनताले जसलाई चाह्यो उसले जित्यो। तर, हाम्रो प्रतिस्पर्धी को बन्यो? किन बन्यो? अब यो कुरालाई हामीले समीक्षा गर्न जरुरी छ। के कारणले हामी मुख्य ठाउँमा हार्यौँ। के के कारणले चेतनशील जनता भएका ठाउँहरुमा हामीले प्रतिनिधित्व गर्न पाएनौँ? के सुधार गर्न आवश्यक छ त? स्वतन्त्र उम्मेदवारहरुले जित्ने कुरा अहिलेका लागि सकारात्मक ठान्नु पर्छ किनभने हामीले सच्चिने मौका पाएका छौँ। (स्वतन्त्रले) धेरै ठाउँमा नजितिसकेको अवस्थामा हामी सच्चियौँ भने यो कुराको धेरै विकास हुन सक्दैन। तर, हामी सच्चिएनौँ, आफ्नै दम्भमा अगाडि बढ्यौँ भने यो हाम्रो लागि साच्चै चुनौती बनेर आउन सक्छ। 

अघिल्लो पटक तपाईं प्रदेश सभा सदस्य निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो। आसन्न निर्वाचनमा फेरि प्रदेश सभा सदस्यकै लागि चुनावमा उत्रिनुहुन्छ? 
म उम्मेदवारै नहुन पनि तयार छु। तर, प्रदेश सभामा चुनाव लड्दिनँ। प्रतिनिधि सभामै चुनाव लड्छु। मैले प्रदेश सभामा चुनाव लडेर हेरिसकेँ। त्यो तहमा काम गर्ने कोसिस मैले गरेको हुँ, अनुभव प्राप्त भइसक्यो। त्यसैले म प्रतिनिधि सभा चुनाव लड्छु।

कहाँबाट लड्नु हुन्छ चुनाव? 
मेरो पहिलो प्रयास तनहुँको निर्वाचन क्षेत्र नम्बर २ बाटै लड्ने हुन्छ। त्यहाँकै प्रतिनिधित्व गर्ने प्रयास छ। लामो समय मेहनत गरेको छु। काठमाडौँबाट धेरै आउजाउ गरेको छु। त्यहाँको ढुंगामाटो, आममतदाता, त्यहाँको जनजीविकालाई मैले राम्रोसँग बुझेको छु। त्यसैले त्यहीँको प्रतिनिधित्व गर्न सकेँ भने तुलनात्मक हिसाबले अलि ज्यादा काम गर्न सक्छु कि भन्ने लागेकोले मेरो कोसिस तनहुँ–२ बाट हुन्छ। 

नेपाली कांग्रेस कति चलायमान छ? गुटबन्दी अहिले पनि यथावतै छ नि पार्टीमा? 
अधिवेशन समाप्त भयो। त्यसपछि चुनावको तयारी सुरु भयो। त्यसैले आन्तरिक विषयमा धेरै छलफल भइरहेको स्थिति छैन। निर्वाचनको कारणले आम असन्तुष्टिको वातावरण बनेको अवस्था पनि छैन। आन्तरिक विषयमा समीक्षा गर्ने, निर्वाचनको समीक्षा गर्ने, पार्टीका आन्तरिक गतिविधिहरुलाई अगाडि लिएर जाने परिस्थिति अव बन्छ। 

निर्वाचित नेतृत्वलाई विधानले व्यवस्था गरेअनुसारको निर्णय अगाडि बढाउने, पार्टीको आन्तरिक जीवनलाई गतिशील बनाउने, आशन्न निर्वाचनको समयमै तयारी गर्ने मौका हामीलाई प्राप्त भएको छ। 

स्थानीय तह निर्वाचनको समीक्षा गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक तत्काल बस्छ। विभिन्न उपसमितिले पेस गरेका प्रतिवेदनलाई मिलाएर केन्द्रीय कार्यसमितिले नयाँ विषयहरुलाई बाहिर ल्याउने छ। आन्तरिक छलफल र समीक्षाको घडी सघन ढंगबाट अब अगाडि बढ्छ। 

सरकारको कामलाई कसरी लिनुभएको छ? 
पहिलो कुरा त यो सरकार लामो समयसम्म चल्ने, धेरै कुरा गर्न सक्ने स्थिति र अपेक्षा होइन। तर पनि जनजीविकाका थुप्रै मुद्दाहरुमा सरकार गम्भीर हुन जरुरी छ। तेलको भाउ बढेकोले महंगी आकासिएको स्थिति छ, यसमा सरकार गम्भीर भएर नियन्त्रण गर्नतर्फ लाग्नु पर्छ। तेलकै मूल्यवृद्धिमा पनि सरकारले जनतालाई राहत दिन सक्ने ठाउँ खोज्न आवश्यक छ। 

रासायनिक मल समयमै किसानलाई उपलब्ध गराउन आवश्यक छ। पाठ्यपुस्तक समयमै उपलब्ध गराउन आवश्यक छ। हामीले आवश्यकता अनुसारको बिजुली उत्पादन हुने स्थिति बनिसक्यो भनिरहेका छौँ, तर लोडसेडिङ बढ्ने स्थिति बनिरहेको छ। यो सबै विषयहरुमा सरकार गम्भीर भएर अगाडि बढ्नुपर्छ।       
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .