ad ad

अन्तर्वार्ता


घनश्यामजी विभाजनमा रमाउने मान्छे हो, इतिहासले त्यही भन्छ : केशव बडाल (अन्तर्वार्ता)

घनश्यामजी विभाजनमा रमाउने मान्छे हो, इतिहासले त्यही भन्छ : केशव बडाल (अन्तर्वार्ता)

रुपक चौलागाईं
जेठ २२, २०७९ आइतबार १९:३५, काठमाडौँ

स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेसँगै एमालेमा खैलाबैला सुरु भएको छ। एक टेलिभिजन अन्तर्वार्तामा भुसालका अभिव्यक्तिबारे आपत्ति जनाउँदै केन्द्रीय अनुशासन आयोगले कारबाहीका लागि पत्र काटेको हो। 

अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालका अनुसार पत्र केन्द्रीय कमिटीलाई पठाइएको छ। टेलिभिजनलाई लिएको अन्तरवार्ताको प्रश्नोत्तर सबै उतारेर सचिवालयमा पठाउनेसम्मको तयारी अघि बढेको छ। 

उता, भुसालले भने आइतबार बिहानमात्रै नेपालखबरसँगको कुराकानीमा अध्यक्ष केपी शर्मा ओलीले एमाले बिगारेको  बताउँदै निर्वाचनमा पराजयको छानबिन हुनुपर्ने तर्क अघि सारेका छन। 

यिनै सेरोफेरोमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष बडालसँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंश

स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्न पत्र काटिसक्नु भएको हो? 
हाम्रो पार्टीमा अनुशासन आयोगको सचिवालयको बैठक गत १८ गते बसेको थियो। उहाँ (घनश्याम भुसाल) ले हिमालयन टेलिभिजनमा जुन अन्तर्वार्ता दिनुभएको छ, त्यो गम्भीर छ। बाहिर चर्चा चाहिँ केपी ओलीको आलोचना भन्नुभएको छ। त्यस्तो होइन। त्यो सिंगो दशौं राष्ट्रिय महाधिवेशन जसमा हजारौं मान्छेहरु र २ हजार बढी महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो। 

जसलाई उहाँले ‘सौराहा काण्ड’ भन्नुभएको छ। उहाँले महाधिवेशनलाई नै अस्वीकार गर्नुभएको हो। उहाँ आफैं पनि महाधिवेशनमा उठ्नुभयो। महाधिवेशन प्रतिनिधिले भोट नहालेपछि हार्नुभयो। हारेपछि अहिले यस्ता कुरा गर्न थाल्नुभएको छ। 

प्रष्ट भाषामा भन्दा, पार्टीको प्रतिष्ठालाई बाधा पुर्याउने अधिकार कसैलाई पनि छैन। पार्टी सदस्यता प्राप्त गरिसकेपछि त्यो रहेसम्म पार्टीको नीति सिद्धान्त, नीति, कार्यक्रम, निर्णय, निर्देशन विपरित बाहिर सार्वजनिक ढंगले बोल्ने अधिकार हुँदैन। 

त्यो कमिटीमा गएर जति पनि आलोचना गर्न र भन्न पाइयो। त्यहाँ पुगेपछि कस्सिएर, उफ्रिएर जसरी पनि बोल्न पाइन्छ। तर, सार्वजनिक ढंगले त्यसरी बोल्ने भनेको प्रकारान्तरले पार्टीलाई कमजोर बनाउने, पार्टीप्रतिको विश्वास कमजोर बनाउने, पार्टीलाई अनादर गर्ने कामहरु भएकाले पार्टी विधानअनुसार केन्द्रीय कमिटीलाई पत्र लेखेका हौँ। 

यो विषय कसरी बाहिर आयो त? 
यो सार्वजनिक गर्ने, पत्रकारलाई भन्दै हिँड्ने विषय थिएन। १८ गते गरेको निर्णयको हिजो (शनिबार) देखि कसरी थाहा भयो? म आफैंलाई पनि यो विषयले हिजोबाट हैरान भयो। पछि मैले मोबाइलसमेत अफ गरेर बस्नुपर्‍यो। यो भन्दै हिँड्ने भन्दा पनि पार्टीभित्र छलफल हुनुपर्थ्यो। कारबाही गर्ने अनुशासन आयोगले होइन, तर आयोगले पत्र लेख्यो। हामीले त्यहाँ कारण र इभेन्ट्सहरु सबै राखेर पत्र लेखेका थियौं। हामीले अध्यक्षलाई पत्र लेखेका हौँ। 

त्यसबारे केन्द्रीय कमिटीमा छलफल होला। उहाँहरुले गरेको कारबाहीको तह कुन हुन्छ भनेर हेर्न बाँकी छ। बोलाएर स्पष्टीकरण सोध्ने पनि कारबाहीभित्रै पर्छ। कुन तहको कारबाही हुन्छ भन्ने उहाँहरुको कुरा हो। त्यसमा चित्त बुझेन भने केन्द्रीय अनुशासन आयोगमा पुनरावेदन गर्न उहाँले सक्नुहुनेछ। अहिले हामीले पत्र मात्रै लेखेका हौं। 

भुसालसँगै भीम रावलले पनि त्यस्तै अभिव्यक्ति दिइरहनुभएको छ। उहाँबारे पनि केही कुरा उठेका छन्? 
भीम रावल अहिले स्थायी समितिमा हुनुहुन्न। केन्द्रीय कमिटीमा मात्र हुनुहुन्छ। घनश्यामजी त स्थायी समितिमा पनि हुनुहुन्छ। उहाँ हार्नुभयो, हारेपछि पनि पार्टीले त उहाँलाई आदर गरेको छ नि। हारिसकेपछि केन्द्रीय कमिटीमा भएको मान्छेलाई स्थायी समितिमा ल्याइएको छ। स्थायी समितिमा बसेको मान्छेले चित्त नबुझेका कुरा त्यहीँ राख्दा भइहाल्छ नि।

घनश्यामजी त ओलीले एमाले बिगार्नुभयो, छानबिन हुनुपर्छ भन्नुहुन्छ त? 
हामीले पत्र लेख्ने काम गरिसकेका छौं। अब यसको प्रतिक्रिया उहाँले के गर्नुहुन्छ भन्ने हामीले फलोअप गरेर सकिँदैन। केन्द्रीय कमिटीले जे गर्नुपर्ने हो त्यो गर्छ त्यसपछि मात्रै कुरा होला। उहाँको खत्र्याकखुत्रुक सामान्य हुने बेलासम्म केही भएको थिएन। तर, ४७ मिनेटको टेलिभिजनअन्तर्वार्तामा आदान, अपमान, अपहेलना र अविश्वास सिर्जना गर्ने काम गर्नुभएको छ। 

दशौं राष्ट्रिय महाधिवेशनमा जसमा स्वदेश र प्रवासका साथीहरु बसेर छलफल भयो। चित्त नबुझेका कुरामा भोटिङ भएको छ। निर्वाचनमा भाग लिएरै मान्छेहरु त्यहाँ आएका छन्। जस्तो कि भीम रावलजी अध्यक्षमा उठ्नुभएको थियो, भुसालजी उपाध्यक्षमा उठ्नुभएको थियो। भोट पुगेन र हारियो भनेर गालि गर्दै हिँड्न त भएन नि!

भुसालजीले हार स्वीकार्न नसकेर असन्तुष्टि पोख्न थाल्नुभयो भन्न खोज्नुभएको हो? 
होइन, मुख्य कुरा उहाँ अलिकति टिपिकल मान्छे हो। उहाँलाई ०३८ सालदेखि म राम्रोसँग जान्दछु। त्यतिबेला पुरुषोत्तम पौडेल, खगराज अधिकारी र उहाँ एउटै ब्याचमा अनेरास्ववियुको केन्द्रीय सदस्य हो। त्यो बेलादेखि उहाँको पार्टीमा समस्या नै सिर्जना गर्नुभयो। 

०४० साल साउनमा जस्तो लाग्छ, माधव नेपाल र म उहाँसँग कुरा गर्न कीर्तिपुरमै गयौँ। राति १० बजेदेखि बिहान १० बजेसम्म लामो छलफल भयो। तर, उहाँ कति पनि कन्भिन्सिङ ढंगले जानुभएन। त्यसपछि अर्कै पार्टी बनाउनुभयो, फेरि एमालेमै आउनुभयो। ०५४ मा विभाजनतर्फ लाग्नुभयो। उहाँको इतिहासले पनि त्यस्तै त्यस्तै देखाउँछ।

एमालेमा रहेर भुसाल कमरेडको यो कदमको नतिजा कस्तो होला?
उहाँले यो बीचमा दुई–दुई पटक मन्त्री पनि हुनुभयो। उहाँले जे जे अरुलाई भन्नुहुन्थ्यो, मन्त्री भएको बेलामा एउटा पनि सम्झनलायक काम गर्न सक्नुभएन। हामीले उफ्रेर भन्न पाइयोस् न उहाँको राम्रो काम। तर भएन। त्यसकारण पछिल्लो पटक उहाँले टेलिभिजनमा दिएको यो अन्तर्वार्ता र प्रतिक्रिया प्रत्युत्पादक हुन्छ। उहाँले त्यस्तो नगर्दा राम्रो हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .