ad ad

अन्तर्वार्ता


गिरिराजमणि पोखरेललाई प्रश्न : अध्यक्षले जे दियो त्यही पद लिने हो?

गिरिराजमणि पोखरेललाई प्रश्न : अध्यक्षले जे दियो त्यही पद लिने हो?

सागर न्यौपाने
पुस १०, २०७८ शनिबार ७:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा छ। सम्मेलनका लागि देशभरबाट आउने प्रतिनिधिको व्यवस्थापनसँगै ऊ आफ्ना विचारधारा, राजनीतिक कार्यदिशालगायत विषयमा गम्भीर छलफलमा पनि छ। 

शुक्रबार एकैदिन माओवादी केन्द्रले दुईपटक स्थायी कमिटी बैठक राख्यो। 

शान्ति प्रक्रियाताकाका राजनीतिक घटनाक्रमदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय अवस्थासम्मको विश्लेषण गर्दै माओवादी केन्द्र नेपालमा आवश्यक राजनीतिक रणनीति बनाउने सम्मेलनबाट अन्तरिम विधान संशोधन गरी पारित गर्ने योजनामा छ।

नेकपा भंग भएपछि पुनःस्थापित माओवादी केन्द्रले महाधिवेशनको साटो राष्ट्रिय सम्मेलन गर्न लागेको हो।महाधिवेशनजस्तै तामझाम नभए पनि राष्ट्रिय सम्मेलनले पनि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

समेट्नुपर्ने नेता धेरै भएपछि पदाधिकारीको संख्या बढाउने तयारी पनि छ। यिनै विषयसहित माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबारे नेता गिरिराजमणि पोखरेलसँग नेपालखबरले गरेको वार्ता :

शुक्रबार एकैदिन स्थायी समितिको बैठक दुईपटक राख्नुभयो, निर्णय के के भए?
शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष कमरेड प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजबारे कुरा राख्नुभयो।

अहिले नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा, अहिले विश्वमा आएको परिवर्तनको आधारभूत अवस्था, क्रान्तिको मोडालिटी, समकालीन राजनीति, पार्टी कसरी बनाउने? एककातिर हामी संसदीय संघर्षमा छौं, अर्कातिर हामीले क्रान्तिकारी पार्टी पनि बनाउन पर्नेछ। यो दुईवटै कुरालाई हामीले ठीक ढंगले लगेर मात्रै हामी नेपाली क्रान्तिलाई अगाडि बढाउन सक्छौं, अहिले भएका उपलब्धि रक्षा गर्दै जान सक्छौं भन्ने कोणबाट अध्यक्षले स्थायी समितिको बैठकमा कुरा राख्नुभयो।

दस्तावेज हामीले भोलि (पुस ११) गते मात्र पाउँछौं। राष्ट्रिय सम्मेलनको मूल डकुमेन्ट त्यही नै हुन्छ। डकुमेन्टबारे समूहगत छलफल हुन्छन्, त्यसका आधारमा आएका सुझावसमेत समेटेर दस्तावेज समृद्ध बनाउने काम हुन्छ।

शुक्रबार दिउँसो बसेको बैठकमा विधानबारे छलफल भयो। विधानसँगै पार्टीमा निर्वाचन प्रक्रिया पनि सुरु भएको छ।
नेतृत्व छनोट गर्दा संविधान, कानुनअनुसारका क्लस्टरलाई ध्यान दिएर अहिले सहमति या मतदान जुन भए पनि प्रक्रियामा जाँदा तयार हुनुपर्छ भन्ने एजेन्डाबारे छलफल भयो।

हाम्रो सम्मेलनको अन्तिम तयारी भएको हुनाले सबै प्रदेशबाट प्रतिनिधिको संख्या निर्धारण भयो। प्रतिनिधि संख्या निर्धारण भएपछि १० प्रतिशत मनोनयन गर्न पाउने व्यवस्था छ।

मनोनयन फाइनल गर्न आज (शनिबार) दिउँसो १ बजे स्थायी समिति बैठक बस्दै छ। आज हाम्रो ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको शपथ ग्रहण र बैठक छ।

भोलि बिहान (पुस ११) केन्द्रीय समितिको अन्तिम बैठक राखेर हामी सम्मेलनमा जान्छौं। सम्मेलनको तयारी करिब करिब सकिएको छ।

तर तपाईंहरूको यो सम्मेलन त विचार निर्माण गर्ने, विधान संशोधन गरेर पारित गर्ने र पार्टीको कार्यदिशा तय गर्ने मात्र होइन र? यहाँ त सबै नेताले उम्मेदवारी घोषणा गरिसके नि?
गत साउनको केन्द्रीय समिति बैठकपछि माओवादी पार्टी चारमहिने संगठनात्मक अभियानमा थियो। त्यही अभियानको अन्तिम कार्यक्रम राष्ट्रिय सम्मेलन हो। तल हाम्रा सदस्यता नवीकरण, टोल भेला, कमिटी गठन, वडा सम्मेलन, पालिका सम्मेलन हुँदै प्रदेश सम्मेलन सकेर आएका छौं, यसमा पनि ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिमलाई विशेष प्राथमिकता दिने कुरा पनि छ।

अर्काे कुरा, अहिले हाम्रो सांगठनिक संरचनालगायत सबै कुरा हामीले संविधान र कानुनअनुसार लगेका छौं।
त्यसमध्ये जिल्लालाई हामीले संयोजनको कोणबाट राखेका हौं, त्यसकारणले अहिले हामीसँग तीनवटा आयोग छन्– अनुशासन, लेखा र निर्वाचन।

निर्वाचन आयोगले सबै सम्भावना हेरेर राष्ट्रिय सम्मेलनमा के गर्ने भनेर माग्ने भयो। त्यो कोणबाट सहमति भए पनि, मतदानमा गए पनि उस (निर्वाचन आयोग) लाई प्रतिनिधि संख्या चाहियो।

अहिले हाम्रो जुन प्रबन्ध छन्, त्यसमा गरिएका नियमावली लगायतका कुनै पनि स्थितिमा आयोग तयार भएर बस्नुपर्यो।
त्यसकारण अध्यक्षले सुरुमा प्रस्तुत गर्ने दस्तावेज, त्यसपछि विधान, विधान पास भएपछि सहमति वा मतदानको विधिमा जाने हो।

अरूको जस्तो तडकभडकवाला हाम्रो होइन, वैचारिक कुरा नै मुख्य हो। महाधिवेशन एउटा नियमित प्रक्रिया हो, महाधिवेशन गर्न नसकेका बेला राष्ट्रिय सम्मेलन गरिन्छ, त्यसले महाधिवेशनकै काम गर्छ। त्यसकारण यसमा हामी वैचारिक, सांगठनिक र नेतृत्व चुन्ने काम पनि गर्छाैं।

अब हाम्रो कस्तो पार्टी बन्छ, विचार के हुन्छ? यसलाई कसरी प्रणालीमा ढाल्ने भन्ने मूल कुरा हो, नेतृत्वको निर्वाचन मूल कुराभित्र पर्दैन।

त्यही त नेताहरूले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा अध्यक्षबाहेकका पदमा के होला? 
जनवादी केन्द्रियताका आधारमा हाम्रो केन्द्रीय समिति छानिन्छ। त्यसपछि मात्र हामी बहुपदतर्फ जान्छौं, अहिलेको हाम्रो विधानले ५ जना मात्र पदाधिकारी राखेको छ। पहिले हाम्रो विधान नै बदल्नुपर्छ, तल प्रदेशमा ९ जना पदाधिकारी राखिसक्यौं, हाम्रो आवश्यकता कति हो त्यसकारण विधानलाई पहिले पास गर्नुपर्छ।

अनि छानिएको समितिले पदाधिकारी छान्छ। मूल कुरा अध्यक्षको नेतृत्वमा सबै एकताबद्ध भएर अहिले यतिखेर हामीले पार्टीलाई बनाउने, देशको उपलब्धि रक्षा गर्ने, चुनावहरूमा हस्तक्षेप गरेर नतिजा निकाल्नेगरी अघि बढ्ने, भोलिको समाजवादी क्रान्तिको तयारी गर्ने र प्रचण्डको वरिपरि एकताबद्ध भएर काम गर्ने हो अहिले।

त्यसकारण अहिले हाम्रो को कुन पदमा भन्ने छैन, छलफल भएको पनि छैन। खाली कस्तो पार्टी बनाउने, कस्तो लाइन लिनेमै केन्द्रित छौं, त्यो सकेपछि मलाई लाग्छ– सहमतिद्वारा नै अहिलेका काम अगाडि बढ्छन्।

अनि अध्यक्ष निर्वाचित गरेर जाने अन्य पद खाली राखेर जाने सम्भावना पनि रहेछ, होइन? 
त्यस्तो हुँदैन। राष्ट्रिय सम्मेलनले समग्र कुरा पास गरेपछि नेतृत्व छान्छ। विधान पास हुन्छ। विधानले कति संख्या, कस्तो, बहुपदीय वा कुन ढंगले भन्ने टुंगो लगाइसकेपछि त्यसका आधारमा केन्द्रीय समितिले चुन्नुपर्छ, स्थायी समितिलाई दिन मिल्दैन। 

अहिले त हामी संक्रमणकालीन विधानअनुसार यहाँ आइपुगेका छौं। अब हामी संस्थागत प्रक्रियामा जाँदै छौं,  त्यसकारणले यो एउटा मोड हो, राष्ट्रिय सम्मेलनले यी कुरा व्यवस्थित गर्छ। कतिपय कुरा त महाधिवेशनमा गएर टुंगो लगाउला, तर अहिले पदाधिकारी रिक्त राखेर जाने सम्भावना छैन। 

तपाईंको दाबेदारी कुन पदमा छ? हेटौंडा महाधिवेशनमै तपाईं सचिव भइसक्नुभएको थियो, अब?  
हामीले त्यसरी हेरेका छैनौं, मूलभूत रूपमा कस्तो पार्टी बनाउने? क्रान्तिलाई अब कसरी अघि बढाउने? हाम्रा कमीकमजोरी कसरी सच्याउनेजस्ता कुरा टुंगिएपछि अन्य पक्रियामा जान्छौं। अहिले पनि अध्यक्ष नेताहरूको नेता हुनुहुन्छ, उहाँको वरिपरि टिम बनाएर कसरी लादा हामी सफल हुन्छौं र फेरि प्रतिस्पर्धाको राजनीतिमा हामी अगाडि आउन सक्छौं भन्ने कोणबाट हामी सोचिराखेका छौं।

क्रान्तिकारी, जुझारु, बदलिएको परिवेशमा नेतृत्व गर्न सक्ने पार्टी बनाउनेमै हाम्रो ध्यान केन्द्रित छ। नेताहरू एकताबद्ध हुनुपर्छ, टिमबद्ध काम गर्नुपर्छ। त्यसो गर्दा नेताहरूको व्यवस्थापनको कुरा मूल लिडरसिपको विवेक हो। कुन ढंगले पार्टी अगाडि लान सक्छु भनेर पेस गर्नुहुन्छ, त्यसैका आधारमा यो फैसला हुन्छ।

भनेको अध्यक्षले जे दियो त्यही लिने? 
दिने मात्र होइन, यत्रो विचारको कुरा गरेका छौं नि, हामीले। अरू पार्टीका बहस नेतामा केन्द्रित भए, हाम्रोचैं वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक कुरामा केन्द्रित भएका छौं। 
कसकलाई के के जिम्मेवारी दिँदा यी सबै कुरा प्राप्त गर्न सकिन्छ र व्यवस्थित रूपमा जान सकिन्छ भन्ने कुरा मूल नेतृत्वलाई थाहा हुन्छ।

पार्टी रूपान्तरण, पुनर्गठन गर्ने, देशभर नयाँ लहर ल्याउने, नेताहरूको ठीक खालको जिम्मेवारी व्यवस्थित गर्ने कुरामै अहिले हामी फोकस छौं। यहाँनेर नेताहरूको यो र त्यो, ऊ र या भन्ने छैन।

तर नेताहरूले कसैले महासचिव भनेर घोषणा गरिसक्नुभयो? 
मेरो कोणबाट मैले भन्दा अहिले हामी पार्टीलाई व्यवस्थित ढंगले लैजाने, विधान, कार्यदिशा र विचारलाई अगाडि बढाउँछौं। त्यसैका आधारमा सम्मेलनले नेताहरू छान्छ। यति कुरा ढुक्क हुनुस् कि माओवादी केन्द्रलाई जुरुक्क उठाउने टिम आउँछ।

त्योचैं पदाधिकारीको संख्या बढाएर भागशान्ति गरेरै होला होइन त?
विधानको एउटा टोली छ। हिजोको स्थायी समिति बैठकमा १५ सम्म पदाधिकारी राखेर जानुपर्ने हुनसक्छ भन्ने कोणबाट सुझावहरू आएका छन्। अहिले विधान ड्राफ्ट गर्ने टोलीले त्यो तयार गरेर फेरि पेस गर्छ। मुख्य कुरा राष्ट्रिय सम्मेलनले त्यो विधान पास गर्नुपर्यो।१५ भन्छ कि कम भन्छ कि? अहिलेको बेलामा राष्ट्रिय सम्मेलन सार्वभौम हुन्छ।

त्यहाँ आएका प्रतिनिधि निर्णायक हुन्छन्। उनीहरूको अधिकारभित्र पर्छ। त्यसमा नेताहरूको थुप्रै प्रतिक्रिया पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .