ad ad

अन्तर्वार्ता


‘माधव नेपालले कांग्रेस-माओवादीको कसम खाइसके, एमालेमा बस्दैनन्’

‘माधव नेपालले कांग्रेस-माओवादीको कसम खाइसके, एमालेमा बस्दैनन्’

नेपालखबर
साउन ६, २०७८ बुधबार १४:५०,

माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेको एकता प्रक्रिया नै अहिले अड्किएको छ। २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि साविक कायम एमाले नेताबीचको विवादले पार्टी छिन्नभिन्न बनेको छ। 

आइतवार प्रतिनिधिसभामा देउवाले विश्वासको मत पाइसकेपछि एमालेमा विभाजनको रेखा झन् ठूलो बनेको छ। एमालेलाई एकतावद्ध बनाइराख्न त्यसअघि जारी वार्ता प्रक्रिया पनि करिब ठप्प छ। सरकारबाट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट पुगेर अब एमालेमा माधव नेपाललाई कुनै ठाउँ नरहेको घोषणा गरे। यता नेपाल समूहले पनि ओलीसँगको संवादलाई भन्दा कांग्रेस-माओवादीलाई प्राथमिकता दिएको छ। विश्वासको मत दिएकाले देउवाले नेपाल समूहका लागि पनि सरकारमा ठाउँ छुट्याइसकेका छन्। यस्तोमा ओली पक्षीय नेताहरु अब माधव नेपालबिनाको एमालेको कल्पना गर्नुपर्ने बताउन थालेका छन्। ओलीलाई जनप्रदर्शनसहित बालुवाटारदेखि बालकोटसम्म पुर्‍याएका पूर्व मन्त्री महेश बस्नेतले अब माधव नेपालबिनाको एमाले बनाउनुपर्ने बताउँदै आएका छन्। नेता नेपालले कांग्रेस र माओवादीका लागि कसम खाइसकेको अवस्थामा उनलाई एमालेमै राख्न गरिने सबै किसिमका पहल र प्रयत्नको कुनै अर्थ नहुने तर्क उनको छ। यही सन्दर्भमा नेता बस्नेतसँग नेपालखबर गरेको संवाद :


एमालेकै सांसदहरुले शेरबहादुर देउवालाई विश्वासको मत हाले। अब तपाईंहरु के गर्नुहुन्छ ?

आफूलाई एमाले नै भनेर जस जसले यो अपराध गरेका छन्, अक्षम्य छ। अब उनीहरुका लागि पार्टीले कुनै स्थान राख्नुको अर्थ हुँदैन। मैले भनिसकेको छु, यति गम्भीर राजनीतिक अपराधलाई हामीले माफी मिनाहा गर्‍यौँ भने एमालेलाई अझै क्षति हुन्छ। त्यसैले उनीहरुमाथि पार्टीले कारवाही गर्नु नै उत्तम विकल्प हो। 

कुनै बेलाको दुईतिहाइ बहुमतसहितको सरकार पनि गुम्यो। अहिले एमालेमाथि चौतर्फी घेराबन्दी छ। माधव नेपाल नै एमालेका विपक्षीहरुसँग मिल्नु भएको छ। यो संकटबाट कसरी निस्कनुहुन्छ?

एमाले र हामीविरुद्ध उनीहरु (कांग्रेस, माओवादी) ले अनेक षडयन्त्रका तानाबुना बनाइरहेका छन्। तर कयौँ झिना मसिना समूह मिलाएर एक ठाउँ उभिएका उनीहरु धार्नी र बिसौली मिलाउँदैछन्। यस्तो अवस्थामा हामीलाई भन्दा जटिल समस्या उनीहरुलाई छ। यस्तो अवस्थामा एमालेले  रचनात्मक प्रतिपक्षको 'मोडालिटी' मै जाने हो। उनीहरुले हामीमाथि आक्रमण प्रयासका लागि घेराबन्दी गरिरहेका छन्। हामीमाथि आक्रमण भयो भने जनमतलाई हाम्रो साथमा राखेर सशक्त प्रतिवाद हुन्छ। उनीहरुले हाम्रो पुराना कामलाई निरन्तरता दिन्छन् या दिँदैनन् हामीले हेरिरहेका छौँ।

देउवा नेतृत्वको सरकारबारे के भन्नुहुन्छ? 

देउवा नेतृत्वको सरकारको सुरुवाती लक्षण ठीक छैन। नेताहरुको सुरक्षाका नाममा सुरक्षाकर्मीको व्यापक दुरुपयोग सुरु भइसकेको छ। संघीय मन्त्रिपरिषद्को मन्त्रिमण्डल जम्बो बनाउन संविधान संशोधनको कुरा आइसकेको छ। सर्वोच्च अदालतले नै संविधानको धारा ७६ (५) को सेटिङ अनुसार फैसला दिएको थियो। त्यो फैसला यो सबै गतिविधिका लागि हो। भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता विजय गच्छदारको रिहाइलाई नै हेर्नुस् न, यी सबै काम अदालतको सेटिङमै हुन थालेको छ। देउवाले भूमि समस्या समाधान आयोग विघटन गरिदिए। उनी जे जे ढंगले प्रस्तुत हुँदैछन्, हामीसँग निहुँ खोज्ने हिसाबले अघि बढिरहेका छन्। यदि उनीहरु हाम्रा कामलाई निमिट्यान्न गर्ने गरी आएमा हामी प्रतिरोधमा उत्रिनेछौँ ।

एमाले अब एक हुन्छ कि फुट्छ ?

माधव नेपालले माओवादी र कांग्रेसका लागि कसम खाइसकेका छन्। अब उनीसँग एकता वार्ताको कुनै अर्थ छैन। उनीहरुलाई मेरो सुझाव भनेको कि माओवादी या कांग्रेसमा मिसिनुस् कि ४० प्रतिशत पुर्‍याएर एमाले विभाजन गर्नुस्। एमाले भित्रै बसेर पार्टीलाई ध्वस्त पार्ने अपराध गर्न कसैलाई छुट छैन। पार्टीमा लाग्न पाउने, दल खोल्न पाउने कुरा त लोकतन्त्रमा नैसर्गिक अधिकार नै हो। माधव नेपालले कांग्रेसमा जाने हो भने पार्टी छाड्नुपर्यो। तर समानान्तर गतिविधि गरेर एमाले बिगार्न पाइँदैन। उहाँका लागि एमाले छाडेर जानु नै श्रेयस्कर हुन्छ। विधि र प्रक्रियाको कुरा गर्दै एमालेविरुद्ध लागेर आम कार्यकर्ताको राजनीतिक भविष्यलाई बर्बाद गर्न पाइँदैन। 

तपाईंहरुको अबको रणनीति के हो त ?

यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने अहिले एमालेलाई ध्वस्त पार्ने अभियानमा माधव नेपालदेखि माओवादी र कांग्रेस पनि लागेका छन्। सिधै बन्दुक पड्काउन नमिलेर उनीहरुले अदालतलाई प्रयोग गरेका छन्। अदालतको फैसला नै एमालेलाई क्षति गर्ने गरी आएको छ। उनीहरुले अदालतको काँधबाट एमालेविरुद्ध  बन्दुक पड्काएका छन्। अदालतको माध्यमबाट बन्दुक पड्काएका उनीहरुले माधव नेपालहरुलाई प्रयोग गरेका छन्। माधवलाई प्रयोग गरेर संसदमा बहुमत पुर्‍याउन उनीहरु सफल भए। अब राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता हर्कत देखिएका छन्। तर हामी त्यसको बलियोसँग प्रतिरोध गर्छौँ।

एमालेविरुद्ध अदालत प्रयोग भएकै हो त?

मैले भनिसकेँ एमाले सक्ने योजनाका साथ अदालतलाई प्रयोग गरिएको छ। अब हामी जनताको आडभरोसा र साथ लिएर जान्छौँ। अध्यक्ष केपी शर्मा ओलीले भने जस्तै परामदेशले हटे पनि हामी फेरि जनादेशसहित फर्किन्छौं। अदालतको फैसला र गठबन्धनलाई पनि हामी जनतामाझ गएर चिर्न सक्छौँ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .