युगान्डाबाट भारतको कर्नाटक राज्यको राजधानी बेंगलुरु आइपुगेकी एक महिलामा इबोलाजस्तो लक्षण देखिए पनि उनलाई यो भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
बीबीसी हिन्दीका अनुसार बुधबार उनको स्वास्थ्य परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो।
कर्नाटक स्वास्थ्य तथा परिवार कल्याण विभागकी निर्देशक डा. रजनी एमले भनिन्,
‘हामीले चारैवटा सेरोटाइपको परीक्षण गर्यौँ। पुणेस्थित राष्ट्रिय भाइरोलोजी संस्थानबाट रिपोर्ट प्राप्त गरेका छौँ। रिपोर्ट नेगेटिभ छ।’
युगान्डा, कंगो र सुडानबाट आएका यात्रुहरूको नियमित परीक्षण बेंगलुरु विमानस्थलमा भइरहेको छ।
मे २३ मा एक २८ वर्षीया महिलाले मांसपेसी दुखेको भन्दै उनी होटलमै क्वारेन्टाइनमा बसिन्।
त्यसपछि उनलाई महामारी रोग अस्पताल लगेर चिकित्सा निगरानीमा राखियो। अनि रगतको नमुना लिएर पुणेको प्रयोगशालामा पठाइयो।
डा. रजनीले भनिन्, ‘तर रिपोर्ट नेगेटिभ आएपछि उनलाई होटलमा बस्न अनुमति दिइएको छ र स्वास्थ्यमा कुनै पनि परिवर्तन आउँछ कि भनेर निगरानी गर्न भनिएको छ।’
उनले थपिन्, ‘हाम्रो स्वास्थ्य विभागका कर्मचारी उनीसँग सम्पर्कमा रहनेछन्। उनमा कुनै लक्षण देखिएमा हामी फेरि परीक्षण गर्नेछौँ।’
इबोलाका शंकास्पद यात्रुलाई २१ दिनसम्म निगरानी गरिन्छ।
Shares

प्रतिक्रिया