ग्लोबल


सफल भएन भारतीय नर्स निमिषा बचाउने कूटनीतिक प्रयास, बुधबार यमनमा मृत्युदण्ड दिइँदै

सफल भएन भारतीय नर्स निमिषा बचाउने कूटनीतिक प्रयास, बुधबार यमनमा मृत्युदण्ड दिइँदै

भारतीय नर्स निमिषा प्रिया, जसलाई बुधबार यमनमा मृत्युदण्ड दिइँदै छ।


नेपालखबर
असार ३१, २०८२ मंगलबार ५:५४, काठमाडौँ

भारतीय नर्स निमिषा प्रियालाई बुधबार यमनमा मृत्युदण्ड दिइँदै छ।

यमनी नागरिक तलाल अब्दो महदीलाई लागुऔषधको ओभरडोज दिएर हत्या गरेको कसुरमा निमिषा २०१७ देखि यमनको जेलमा छिन्। 

निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए।

महदीले निमिषाको राहदानी कब्जा गरेको र उनलाई यातना दिएको आरोप छ।

भारतीय सञ्चारमाध्यमका अनुसार निमिषालाई मृत्युदण्डबाट बचाउन कूटनीतिक स्तरमा धेरै प्रयास गरियो, तर सफल भएन।

यमनमा मृत्युदण्ड गोली हानेर मात्र दिइन्छ। यद्यपि ढुङ्गाले हानेर, झुण्ड्याएर र टाउको काटेर मार्ने व्यवस्था पनि छ, तर यी प्रयोग गरिँदैनन्।

गोली हानेर मार्नुअघि अपराधीलाई कार्पेट वा कम्बलमा अनुहार ढालेर सुताइन्छ।

कतिपय अवस्थामा मृत्युदण्ड दिनुअघि कोर्रा पनि लगाइन्छ।

यस्तो छ घटनाक्रम

-२००८ मा केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रिया कामका लागि यमन पुगिन्। उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन्।

-२०११ मा निमिषा विवाहका लागि भारत फर्किइन्। उनले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए। त्यहाँ थोमसले इलेक्ट्रिसिएन सहायकका रूपमा काम पाए, तर तलब धेरै कम थियो।

-२०१२ मा निमिषाले छोरी मिसाल जन्माइन्, तर यमनमा गुजारा गर्न गाह्रो भयो।

-२०१४ मा थोमस आफ्नी छोरीसँग भारत कोच्ची फर्किए, जहाँ उनले ई-रिक्सा चलाउन थाले। निमिषाले आफ्नो कम तलब भएको जागिर छाडेर क्लिनिक खोल्ने निर्णय गरिन्, तर यमनी कानुनले उनलाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो।

-यसै क्रममा निमिषाले कपडा पसल गर्ने महदीलाई भेटिन्। निमिषाले नै महदीकी श्रीमतीलाई बच्चा जन्माउन मद्दत गरेकी थिइन्।

-जनवरी २०१५ मा निमिषा आफ्नी छोरी मिसाल भेट्न भारत आइन्। महदी पनि उनीसँगै भारत आए।

-यस समयमा महदीले निमिषाको विवाहको फोटो चोरे। पछि महदीले तस्बिर बिगारेर आफू नै निमिषाको श्रीमान् भएको दाबी गरे।

-क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन्।

-निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन्।

 

यमनी नागरिक तलाल अब्दो महदीयमनी नागरिक तलाल अब्दो महदी

यमनमा गृहयुद्ध सुरु भएपछि भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न 'अपरेसन राहत' थाल्यो। यो अपरेसन अप्रिल-मे २०१५ सम्म चल्यो। जसअन्तर्गत ४,६०० भारतीय र लगभग एक हजार विदेशी नागरिकलाई यमनबाट निकालियो, तर दुर्भाग्य! निमिषा मात्र भारत फर्कन पाइनन्।

यसपछि २०१६ मा महदीले निमिषालाई शारीरिक दुर्व्यवहार गर्न थाले। उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्यो। जब निमिषाले यसबारे उनलाई प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो। महदी निमिषालाई यमनबाट बाहिर जान दिन चाहँदैनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगै राखे।

निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिर देखाए र निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले उल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो। 

निमिषाले औषधिको ओभरडोज दिइन्, जसले गर्दा महदीको मृत्यु भयो

निमिषा धेरै दु:खी भइन्। जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन। त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन्, परिणामस्वरूप उनको मृत्यु हुन्छ।

मिडिया रिपोर्टअनुसार निमिषाले महदीको शव टुक्रा-टुक्रा पारेर पानीट्यांकीमा फ्याँकिदिएकी थिइन्। यसपछि प्रहरीले निमिषालाई पक्राउ गर्‍यो।

यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषालाई मृत्युदण्डको सजाय सुनाएको हो। निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्, तर जुन २०२३ मा त्यो खारेज गरियो।

यमनका राष्ट्रपति रसादले पनि सजाय अनुमोदन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad