हनिमुनकै क्रममा पत्नीले प्रेमीसँग मिलेर राजा रघुवंशीको हत्या गराएको घटनाले हंगामा मच्चाइरहेको भारतमा अर्को त्यस्तै किसिमको अपराध सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य उत्तराखण्डस्थित नजिबाबाद-बुआखल राष्ट्रिय राजमार्गको अमसौदनजिकै सडक छेउमा पुरुष मृत भेटिएको घटनामा प्रहरीले बिहिबार प्रेमीसहित उनकै पत्नीलाई पक्राउ गरेको हो।
यही जुन ५ मा प्रहरीले अमसौद गाउँभन्दा करिब एक किलोमिटरअगाडि मोडमा खोह नदीनजिकै सडक छेउमा सडेको शव फेला पारेको थियो। त्यो नयाँ दिल्लीको वसन्त कुञ्ज दक्षिण राजोकरी निवासी रवीन्द्र (५६) को शव थियो।
यसपछि मंगलबार राति मृतकका भाइ राजेश कुमारले रवीन्द्रकी दोस्रो श्रीमती रीना सिन्धुले हत्या गरेको आशंका गर्दै प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरी आधारमा अनुसन्धान थालेको प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दा उक्त क्षेत्रमा एसयूभी ५०० कार आउँदै गरेको देखियो। साथै फोरेन्सिक टोलीले घटनास्थलबाट महत्त्वपूर्ण सुराग पनि संकलन गर्यो। सबै प्रमाण प्राप्त गरेपछि प्रहरीले मृतककी दोस्रो श्रीमती रीना सिन्धु र उनका साथी पारितोष कुमारलाई नागिनाबाट पक्राउ गरेको हो।
प्रहरी इलाका अधिकारी निहारिका सेमवालका अनुसार रीना मुरादाबाद में सी-५१, रामगंगा बिहार, थाना सिविल लाइनस्थित आफ्नो घरमा फिजियोथेरापी सेन्टर चलाउँछिन्। त्यस क्रममा पारितोष नामका युवक सेन्टरमा आएको र उनीसँग प्रेम भएको भनी रीनाले बताएकी छन्।
Shares

प्रतिक्रिया