मेघालय हनिमुन हत्या प्रकरणमा सोनम रघुवंशी र उनका प्रेमी भनिएका राज कुशवाहालाई थप २ दिन प्रहरीको हिरासत र अन्य ३ अभियुक्तलाई थप १४ दिन न्यायिक हिरासतमा पठाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आज (बिहीबार) उनीहरूलाई मेघालय शिलोङ जिल्ला सत्र अदालतमा पेस गरिएको थियो।
यस क्रममा अदालतले सोनम र राजलाई थप दुई दिन प्रहरीको हिरासत र हत्याका लागि भाडामा लिइएका आकाश राजपुत, विशाल सिंह चौहान र आनन्दलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको हो।
राजा हत्या घटनामा हालसम्म प्रहरीले उनकी श्रीमती सोनमसहित ५ जनालाई पक्राउ गरेको छ।
भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।
यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।
यसपछि खोजीका क्रममा प्रहरीले राजालाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्यो। तर त्यतिबेला सोनम भेटिइनन्।
अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको थियो।
अनुसन्धानका क्रममा सोनमले बिहेअघि प्रेमी राजलाई सयभन्दा बढी पटक फोन गरेको पत्ता लागेको छ।
Shares

प्रतिक्रिया