ग्लोबल


‘कन्ट्र्याक्ट किलर’ले पति मार्न अस्वीकार गरेपछि सोनमले भनिन्: थप २० लाख दिन्छु

‘कन्ट्र्याक्ट किलर’ले पति मार्न अस्वीकार गरेपछि सोनमले भनिन्: थप २० लाख दिन्छु

बायाँतर्फ प्रेमी राजका साथमा र दायाँतर्फ पति राजाका साथमा सोनम।


नेपालखबर
असार ३, २०८२ मंगलबार १०:५०, काठमाडौँ

भारतमा हनिमनुका क्रममा भारतीय युवक राजा रघुवंशीको हत्या भएको र उनकै पत्नी सोनम पक्राउ परेको घटनाले त्यहाँ अहमदाबाद विमान दुर्घटना र इरान-इजरायल युद्धलाई समेत ओझेलमा पारिरहेको छ। 

सोनमले प्रेमी राज कुशवाहासँग जान हनिमुनको बहानामा पति राजालाई मध्य प्रदेशस्थित इन्दौरबाट मेघालय पुर्‍याई भाडाका मानिस (कन्ट्र्याक्ट किलर) लगाएर मारेको आरोप छ। 

यस क्रममा उनले कन्ट्र्याक्ट किलरहरूलाई २० लाख रुपैयाँ दिएको दाबी गरिएको छ। त्यत्रो पैसा सोनमले कहाँबाट ल्याइन् त?

यस विषयमा नवभारत टाइम्सले खोतल्ने प्रयास गरेको छ।

उसका अनुसार सोनम मध्य प्रदेशको इन्दौरको एक सम्पन्न व्यापारी परिवारकी छोरी हुन्। उनका बुबा देवीसिंह रघुवंशी इन्दौरमा प्लाइवुड कम्पनी चलाउँछन्। सोनम पनि उक्त यस कम्पनीमा काम गर्थिन्।

यस्तै गुजरातमा पनि सोनमको परिवारको प्लाइवुड व्यवसाय छ। जुन सोनमका दाइ गोविन्द रघुवंशीले सञ्चालन गरिरहेका छन्। साथै यो परिवार सजावटी व्यवसायमा पनि संलग्न छ। 

मिडिया रिपोर्टका अनुसार, सोनम रघुवंशी पारिवारिक व्यवसायमा मानव संसाधन विभाग अर्थात् एचआर डिपार्टमेन्टमा काम गर्थिन्। जसअन्तर्गत उनले कम्पनीमा कर्मचारी भर्ती, तालिम र कारखाना सञ्चालनजस्ता जिम्मेवारी सम्हाल्ने गर्थिन्। कम्पनीका ठूला र महत्त्वपूर्ण निर्णयमा पनि उनले ठूलो भूमिका खेलेकी थिइन्।

कति कमाउँथिन् सोनम? 

ठ्याक्कै अनुमान गर्न सम्भव छैन। तर मिडिया रिपोर्टहरूका अनुसार सोनमले हरेक महिना तलबका साथै व्यवसायमा नाफाको केही हिस्सा पनि पाउँथिन्। उता उनका पति राजा रघुवंशी पनि यातायात व्यवसाय गर्थे।

अनि सोनमले २० लाख दिने वाचा गरिन्
पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार मे २३ मा फोटोसुटको बहानामा सोनमले आफ्ना पति राजालाई कोरसा क्षेत्रको पहाडमा लगिन्। अनि सोनमले थाकेको नाटक गरिन् र उनको पछिपछि हिँड्न थालिन्। तीन युवक राजासँगै हिँडिरहेका थिए।

पहाड चढ्दै जाँदा ती युवकहरूले राजा मार्न अस्वीकार गरे। यसपछि सोनमले राजाको पर्सबाट १५ हजार रुपैयाँ निकालेर दिइन् र भनिन्, ‘तिमीहरूले उसलाई मार्नैपर्छ। काम सकिएपछि म २० लाख रुपैयाँ दिन्छु।’

यति धेरै पैसा कहाँबाट? 

मिडिया रिपोर्टका अनुसार, सोनमले विवाहमा पाएका गहना पनि आफूसँगै लिएर गएकी थिइन्। उनले राजालाई सुनको सिक्री लगाउन पनि दबाब दिएकी थिइन्। सोनमको बैंक खातामा २० लाख रुपैयाँ थियो। उनको एटीएम कार्ड पनि थियो। यही आधारमा सोनमले राजाका हत्याराहरूलाई पैसा दिने वाचा गरेको हुन सक्ने अनुमान गरिएको छ।

सोनमकी आमा उमा रघुवंशी भन्छिन्, ‘सोनमसँग पैसाको कमी थिएन। उनको खातामा २० लाख रुपैयाँ थियो।’

हाल राजा रघुवंशी हत्या आरोपमा उनकी पत्नी सोनमसहित सोनमका प्रेमी राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मी प्रहरीको हिरासतमा छन्। 

राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।

यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।

यसैबीच राजा मारिनुभन्दा अघि श्रीमान्-श्रीमती जंगलमा यात्रा गरिरहेको भिडिओ सार्वजनिक भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad