ad ad

ग्लोबल


रुसमा सामान्य मानिने ‘सेक्स थिम पार्टी’मा प्रहरीले धमाधम छापा मार्न थालेपछि...

रुसमा सामान्य मानिने ‘सेक्स थिम पार्टी’मा प्रहरीले धमाधम छापा मार्न थालेपछि...

नेपालखबर
चैत २६, २०८० सोमबार ९:३१, काठमाडौँ

रुसका अधिकारीहरूले अहिले सेक्स पार्टीहरूविरुद्ध कारबाही गरिरहेका छन्। गत वर्ष नोभेम्बरमा त्यहाँको सर्वोच्च अदालतको फैसलापछि यो कारबाही भइरहेको हो। अदालतले एलजीबीटीक्यू आन्दोलनलाई अतिवादी विचारधारा भनेको छ। 

हालैका महिना पुलिसले रुसका विभिन्न क्षेत्रमा छवटा सेक्स थिमवाला सार्वजनिक तथा निजी पार्टीमा छापा मारेको छ। केही घटनाको एलजीबीटीक्यू समुदायसँग कुनै सम्बन्ध थिएन।

रुसी प्रहरीले फेब्रुअरीमा येकातेरिनबर्गको एक रात्रि क्लबमा छापा मार्‍यो। यस क्लबमा ‘ब्लु भेलभेट’ नामबाट सेक्स थिम पार्टी आयोजना गरिएको थियो। पार्टीमा सहभागीहरूले आफ्नो पहिचान लुकाउन बालाक्लाभास (मङ्की क्याप) लगाएका थिए।

यस पार्टीका आयोजकले बीबीसीको रुसी सेवालाई उक्त कारबाहीमा कम्तीमा ५० प्रहरी संलग्न रहेको बताए। तीमध्ये केही रुसको विशेष सुरक्षा बल एफएसबीका सदस्य पनि थिए।

एक आयोजक स्टानिस्लाभ स्लोविकोव्स्कीले बताएअनुसार पुलिसले पार्टीमा उपस्थित मानिसहरूलाई मास्क फुकाल्न बाध्य तुल्यायो। प्रहरीले उनको व्यक्तिगत जानकारी मागेको थियो।

उनले भने, ‘उनीहरूले मलाई सोधे कि पार्टीमा कुनै समलिङ्गी वा समलैंगिकहरू छन् वा एलजीबीटीक्यूको प्रचार गरिएको छ कि छैन। यो पनि सोधे– मानिसहरूले लागूपदार्थ लिइरहेका छन् कि? यद्यपि उनको यसमा कम चासो देखिन्थ्यो।’

रूसमा एलजीबीटीक्यू आन्दोलन
रुसी अधिकारीहरूले एक दशकभन्दा बढी समयदेखि एलजीबीटीक्यू आन्दोलनलाई चरमपन्थी विचारधारा भन्दै गैरकानुनी बनाउने प्रयास गरिरहेका छन्।

यसका लागि धेरै कानुन बनेका छन् र एलजीबीटीक्यू समुदायको अधिकार खोस्ने प्रयास गरिएको छ।

रुसी संसद्‌को तल्लो सदनले एलजीबीटीक्यू प्रचारलाई प्रतिबन्ध लगाउन २०१३ मा एक बिल पारित गर्‍यो। यसले एलजीबीटीक्यू समुदायको अधिकार र उनीहरूसँग सम्बन्धित मुद्दामा हुने कुनै पनि सार्वजनिक बहसलाई सीमित गरेको छ। 

गत वर्ष एलजीबीटीक्यूविरोधी कडा कानुन लागू गरियो।

गत वर्ष जुलाईमा संसद्‌ले सन् १९९७ देखि वैधानिक रूपमा रहेको ट्रान्सजेन्डर ट्रान्जिसन (लिंग परिवर्तन) लाई प्रतिबन्ध लगाएको थियो। आधिकारिक कागजातहरूमा लिंग परिवर्तन, शल्यक्रिया प्रक्रिया, हार्मोनल थेरापी र लिंग परिवर्तनलाई गैरकानुनी घोषणा गरिएको थियो।

गत वर्ष नोभेम्बरमा नै रुसको सर्वोच्च अदालतले एलजीबीटीक्यू आन्दोलनलाई चरमपन्थी विचारधारा भनेको थियो। यसपछि एलजीबीटीक्यूलाई इस्लामिक स्टेट जस्ता चरमपन्थी संगठनहरूको सूचीमा समावेश गरिएको थियो। त्यसयता एलजीबीटीक्यूलाई समर्थन गर्नु अब रुसमा अपराध भएको छ। दोषी प्रमाणित भएमा १० वर्षसम्म जेल सजाय हुन सक्छ।

बीडीएसएम पार्टी
स्टानिस्लाभ स्लोभिकोव्स्कीले बीबीसीको रुसी सेवालाई प्रहरीले छापा मारेको ‘ब्लु भेलभेट’ पार्टीले कुनै अपराध नगरेको दाबी गरे। 

उनका अनुसार उक्त पार्टीमा केही कामुक प्रदर्शन थिए। तीमध्ये केही बीडीएसएम थिए। यसमा विभिन्न प्रकारका यौन गतिविधि वा भूमिका खेल्ने कार्यक्रम समावेश थियो। यसमा सामेल हुन सहभागीहरूलाई आमन्त्रण गरिएको थियो।

साथै स्लोभिकोव्स्कीले पाहुनाहरूबाट यौनसम्पर्कका लागि कुनै अपेक्षा वा दबाब नरहेको पनि दाबी गरे। 

येकातेरिनबर्ग सिटी पुलिसले भने विज्ञप्ति जारी गरी त्यस रात अवाञ्छित गतिविधि रोकथामका लागि सुरक्षा बलले छापा मार्नुपरेको बताएको थियो।

येकातेरिनबर्ग पब्लिक चेम्बरका सदस्य दिमित्री चौक्रेभले भने, ‘कसैले पनि के इन्कार गर्न सक्दैन भने एलजीबीटी समुदायले बीडीएसएम पार्टीको आडमा आफ्ना बैठक आयोजना गर्न सक्छ।’

उनले अधिकारीहरूले पछिल्ला केही वर्षयता एलजीबीटीक्यू समुदायविरुद्ध कारबाही अघि बढाए पनि उनीहरू अझै नहराएको बताए। 

उनले अझै प्रतिबन्ध नलगाइएको बीडीएसएम पार्टीका नाममा उनीहरू आफ्ना कार्यक्रम आयोजना गर्न सक्ने तर्क गरे।

पछिल्लो दशकमा सेक्स पार्टी रुसका ठूला सहरमा मात्र हुन्थे। ती प्रायः महानगरीय सहरी वातावरणमा सीमित थिए। जसमा जनसंख्याको थोरै हिस्सा मात्रै सहभागी भएको अनुमान गरिएको थियो। अनि यस्ता पार्टीले मध्यम वर्गका कामकाजी मानिसलाई आकर्षित गर्थे, यसमा रचनात्मक उद्योग वा आईटी क्षेत्रका मानिस समावेश हुन्थे। 

‘लगभग नग्न’ पार्टी अतिथिविरुद्ध कारबाही 
गत डिसेम्बरमा सोसल मिडिया इन्फ्लुएन्सर तथा टीभी होस्ट अनास्तासिया इभलिभाको जन्मदिनको पार्टीपछि आयोजित सेक्स पार्टीमा रुसी अधिकारीहरूले कडाइ गरेका थिए। जुन पार्टीमा पाहुनाहरूका लागि यस्तो ड्रेस कोड लागू गरिएको थियो, जसमा एकमदै कम मात्र लुगा लगाएर आउनुपर्थ्यो।

उक्त पार्टीको सामाजिक सञ्जालमा निकै प्रचार भयो। सहभागी अतिथिहरूमा ए लिस्टका रुसी सेलिब्रेटी थिए। जसमा रुसी मिडिया पर्सनालिटी केसेनिया सोबचाक पनि सामेल थिए।

उनी राष्ट्रपति भ्लादिमिर पुटिनका पुरानो सहयोगी र सल्लाहकार अनातोली सोबचाककी छोरी हुन्। साथै वरिष्ठ पप गायक फिलिप किर्कोरोभ पनि यस पार्टीमा अतिथि थिए।

यो पार्टीका तस्बिर सामाजिक सञ्जालमा आएपछि धेरै मानिस आक्रोशित भएका थिए। 

यस पार्टीमा संलग्न र्‍यापर भासियोलाई गुण्डागर्दी गरेको आरोपमा १५ दिनको जेल सजाय सुनाइएको थियो भने उनले लगाएको पहिरनका कारण उनलाई दुई लाख रुबल जरिवाना पनि लगाइएको थियो।

यस्तो पार्टी आयोजना गरेको भन्दै इभलिभालाई एक लाख रुबल जरिवाना गरिएको थियो। पार्टीका तस्बिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई देखाइएपछि आयोजक र अतिथिहरूले समस्या भोग्नुपरेको थियो।

रुसमा राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै पुटिनले परम्परागत मूल्यमान्यतामा जोड दिएका थिए। परिणाम यसले उनलाई पाँचौँ कार्यकालका लागि पनि राष्ट्रपति चुनाव जित्न मद्दत गर्‍यो। 

प्रहरी कारबाहीको असर 
यस किसिमको शैली पछिल्लो समय सेक्स पार्टीहरूमा छापा मार्ने क्रममा पनि अपनाइयो। प्रहरीले आएर सबैलाई सुत्न भन्यो र उनीहरूको परिचयपत्रको जानकारी लियो।

यी धेरैजसो छापा क्रेमलिन समर्थक मिडियाले कभर गरेका थिए। केही टेलिभिजन च्यानलले पार्टीमा उपस्थित व्यक्तिहरूको व्यक्तिगत जानकारी पनि सार्वजनिक गरे।

यो कारबाही अभियान सार्वजनिक कार्यक्रममा मात्र सीमित रहेन, यसबीच कम्तीमा दुईवटा निजी पार्टीमा पनि प्रहरीले कारबाही गरेको छ। एक सहभागीले बीबीसीको रूसी सेवालाई बताएअनुसार केही पुरुष पाहुनालाई युद्ध लड्न युक्रेन पठाउने धम्की पनि दिइएको थियो।

प्रहरीको बढ्दो छापा र सार्वजनिक बेइज्जती देखेर यस्ता पार्टीका आयोजक हच्केका छन्।

मस्कोमा समलिङ्गीहरूमाझ लोकप्रिय पप अफ किचेन र सेक्स–थिम पार्टी आयोजना गर्ने किन्की पार्टीले यस वर्ष फेब्रुअरीमा अब रुसमा कुनै पार्टी आयोजना नगर्ने घोषण गरेको छ। 

किन्की पार्टीका आयोजकले विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई अबदेखि कुनै पनि यौनसम्बन्धी कार्यक्रम गर्न अनुमति नदिइने चेतावनी दिइएको छ।’ 

पप किचेनकी निकिता एगोरोभ किरिलोभले बीबीसीलाई भनेकी छन्, ‘मलाई थाहा थियो कि उनीहरूले सबैभन्दा प्रसिद्ध पार्टी पनि बन्द गर्न सक्छन्। पाहुनाको सुरक्षाको ग्यारेन्टी गर्न सकिन्न भन्ने जान्दाजान्दै तपाईं कार्यक्रम गर्न सक्नुहुन्न।’ 

उनले अगाडि भनिन्, ‘ती सबै छापा मार्ने, धम्की दिने, जनताको व्यक्तिगत जानकारी रेकर्ड गर्ने...यो एकपटक मात्र हुन्छ। यसपछि तपाईं फेरि मानिसलाई आफ्नो पार्टी सुरक्षित छ भनेर कहिल्यै विश्वास दिलाउन सक्नुहुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .