ग्लोबल


न्युयोर्कका मेयर ममदानीले भने: नेतन्याहुलाई पक्रने अधिकार हामीसँग रहेनछ

न्युयोर्कका मेयर ममदानीले भने: नेतन्याहुलाई पक्रने अधिकार हामीसँग रहेनछ

नेपालखबर
साउन ६, २०८३ बुधबार १४:४२, काठमाडौँ

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्रिने अधिकार आफूहरूसँग नरहेको बताएका छन्। 

यसअघि उनले युद्ध अपराध अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट पक्राउ पुर्जी जारी गरिएका नेतन्याहु न्युयोर्क आउँदा गिरफ्तार गर्ने विषयमा विचार गरिरहेको बताएका थिए। 

तर आफ्नो प्रशासनले गरेको कानुनी समीक्षाबाट उनलाई पक्राउ गर्ने अधिकार न्युयोर्क सहरसँग नरहेको निष्कर्ष निकालेको उनले बताएका हुन्। 

सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश जारी गर्दै मेयर ममदानीले भनेका छन्, ‘बेन्जामिन नेतन्याहु यहाँ आए भने न्युयोर्क सहरले अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी लागु गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मेरो प्रशासनले सबै कानुनी बाटोको समीक्षा गर्‍यो। तर यो लागु गर्ने स्वतन्त्र कानुनी अधिकार हामीसँग छैन भन्ने कुरा स्पष्ट भयो।’

यद्यपि त्यो अधिकार संघीय सरकारसँग रहेको उल्लेख गर्दै ममदानीले अगाडि भनेका छन्, ‘म संघीय सरकारलाई आईसीसीमा सामेल हुन र यो वारेन्ट (पक्राउ पुर्जी) लागु गर्न आह्वान गर्दछु।’

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित धेरै जना नेताविरुद्ध २०२४ मा पक्राउ पुर्जी जारी गरेको थियो। उनीविरुद्ध २०२३ अक्टोबर ७ मा हमासको हमलापछि गाजामा युद्ध अपराध गरेको अभियोग लगाइएको छ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको त्यो पक्राउ पुर्जीको आलोचना गरेका थिए।

यहीबिच न्युयोर्कका मेयर ममदानीले नेतन्याहु आए गिरफ्तार गर्ने सम्भावना रहेको भनेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको थियो। धेरै मानिसले यसलाई ममदानीको घमण्ड भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad