पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी इरानको भ्रमणपछि शनिबार आफ्नो देश फर्किएका छन्।
यसपछि पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मुकाद्दमले पाकिस्तानको प्रयासका कारण हालैका वार्ता सफल भएको बताए।
उनले भने, ‘अर्को पक्षले गम्भीरता देखाएमा शान्ति स्थापना गर्न सकिन्छ।’
उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, ‘तेहरानबाट फर्केपछि मोहसिन नक्वीले इरानी अधिकारीहरूसँगको वार्ताको सफलतामा मलाई बधाई दिनुभएको छ।’
वार्तामा भएको प्रगति इरानको अडान, यसको सेनाको शक्ति र पाकिस्तानको मध्यस्थता प्रयासको परिणाम भएको उनले उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘मलाई आशा छ- पाकिस्तान सरकार र सेनाको इमान्दार प्रयासले यस क्षेत्रमा दिगो शान्ति ल्याउनेछ। विशेष गरी प्रधानमन्त्री सहबाज सरिफ, फिल्ड मार्सल असिम मुनिर, विदेशमन्त्री इसाक दार र गृहमन्त्री मोहसिन नक्वीले इमान्दार प्रयास गरेका छन्।’
पाकिस्तानका सेना प्रमुख असिम मुनिर पनि शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए। त्यहाँ उनले इरानी विदेशमन्त्री अब्बास अरघचीसँग भेटवार्ता गरेका थिए।
Shares

प्रतिक्रिया