चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वको खाडी क्षेत्रको अवस्था युद्ध र शान्ति बिचको महत्त्वपूर्ण मोडमा रहेको र सबै शत्रुता तुरुन्तै अन्त्य हुनुपर्ने बताएका छन्।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको राजकीय भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधबार वार्ताका क्रममा सीले उक्त टिप्पणी गरेका हुन्।

सीले भने, ‘नयाँ लडाइँबाट बच्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा वार्ता जारी राख्नुपर्छ।’
उनले शत्रुताको प्रारम्भिक अन्त्यले ऊर्जा आपूर्ति स्थिरता, औद्योगिक र आपूर्ति शृंखलाको कार्यप्रणाली र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थामा अवरोध कम गर्ने बताए।
सीले थपे, ‘मध्यपूर्वमा शान्ति र स्थायित्वको रक्षा र प्रवर्द्धन गर्न, अन्तर्राष्ट्रिय सहमति निर्माण गर्न र स्थितिलाई कम गर्न, शत्रुता अन्त्य गर्न र शान्ति प्रवर्द्धन गर्न मैले चार प्रस्ताव राखेको छु।’
यस विषयमा थप कुरा भने सिन्ह्वाले लेखेको छैन।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनबाट फर्केको ४ दिनपछि नै पुटिन सी भेट्न मंगलबार राति बेइजिङ पुगेका हुन्।
पुटिनले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता गर्नेछन्।
यो पुटिनको यस वर्षको पहिलो विदेश भ्रमण हो। यसले पनि वर्तमान विश्व परिवेशमा चीनको महत्त्व कति छ भन्ने कुरा प्रस्ट पार्छ।
पश्चिमी प्रतिबन्धका बाबजुद चीन रुसको सबैभन्दा ठुलो तेल खरिदकर्ता र एक प्रमुख सहयोगी बनेको छ।
पुटिनले यो सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गर्नेछन्।
बीबीसीका अनुसार बैठक विशेष गरी नयाँ ग्यास पाइपलाइनमा केन्द्रित हुनेछ, जसले प्रत्येक वर्ष चीनमा ५० अर्ब घन मिटर प्राकृतिक ग्यास ढुवानी गर्न सक्छ।
हालैका महिनामा विश्वका धेरै नेताले व्यापार र आर्थिक सहयोग बढाउन चीन भ्रमण गरिरहेका छन्, जसमा पुटिन पनि सामेल भएका छन्।
Shares

प्रतिक्रिया