सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनी बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पहिलो मुख्यमन्त्री हुन्।
जनता दल युनाइटेड (जेडीयू) का विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ खाएका छन्।
उनीहरू दुवैले उपमुख्यमन्त्रीका रूपमा काम गर्ने विश्वास गरिएको छ।
भाजपाका नेताहरूले उनीहरूलाई बधाई दिएका छन्।
शपथ ग्रहण समारोहमा पूर्वमुख्यमन्त्री नितिश कुमार पनि उपस्थित थिए।
शपथ ग्रहण समारोहपछि पत्रकारसँग कुरा गर्दै विजय कुमार चौधरीले भने, ‘यो नितिश कुमारले मप्रति देखाएको विश्वासको परिणाम हो। हाम्रो नयाँ सरकारले बिहारलाई उहाँले लिएको बाटोमा हिँड्नेछ।’
बिजेन्द्र प्रसाद यादवले थपे, ‘हामी नितिश कुमारका कामलाई अगाडि बढाउनेछौँ।’
राज्यसभा सदस्य पदमा निर्वाचित भएपछि नितिश कुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
योसँगै बिहारमा लगातार २१ वर्ष मुख्यमन्त्री बनेका नितिश कुमारको युग अन्त्य भएको छ।
सुरुमा उनी सन् २००० मा ७ दिनका लागि बिहारको मुख्यमन्त्री बनेका थिए भने २००५ नोभेम्बरयता लगातार यो पदमा रहे।
पछिल्लोपटक उनी सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले ऐतिहासिक जित हासिल गरेपछि १०औँ पटक मुख्यमन्त्री बनेका थिए।
नितिश कुमारले राजीनामा दिएपछि सम्राट चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका हुन्।
Shares

प्रतिक्रिया