ग्लोबल


इरानले भन्यो: अमेरिकासँग ‘दुई-तीन महत्त्वपूर्ण विषय’मा सहमति हुन सकेन

इरानले भन्यो: अमेरिकासँग ‘दुई-तीन महत्त्वपूर्ण विषय’मा सहमति हुन सकेन

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाई


नेपालखबर
चैत २९, २०८२ आइतबार १३:४७, काठमाडौँ

पाकिस्तानमा अमेरिकासँग शनिबार रातभर भएको वार्ता किन असफल भयो भन्ने विषयमा इरानले जानकारी गराएको छ। 

बीबीसी फारसी सेवाका अनुसार, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ‘दुई-तीन महत्त्वपूर्ण विषयमा असहमति’का कारण अमेरिकासँग सम्झौता हुन नसकेको बताएका हुन्। 

इस्माइल बकाईले इरान न्युज नेटवर्कसँग भनेका छन्, ‘पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ अप्रत्यक्ष वार्ता भए र केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग एउटा सम्झौतामा पुग्यौँ, तर दुई-तीन मामिलामा वैचारिक भिन्नता भयो र हामी सहमतिमा पुग्न सकेनौँ।’

तर उनले के के विषयमा कुरा मिलेन भन्ने विषयमा प्रस्ट बताएनन्। 

उनले केवल यत्ति भने, ‘क्षेत्र र होर्मुज स्ट्रेटजस्ता नयाँ मुद्दा थपिएपछि वार्ता अझ जटिल बन्यो। त्यसो त एकै दिनमा सम्झौता हुने अपेक्षा पनि थिएन।’ 

बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ताले सम्पर्क र संवाद भने जारी रहने बताएका छन्।

उनले अगाडि भने, ‘कूटनीति कहिल्यै समाप्त हुँदैन; यो देशको हित रक्षा गर्ने माध्यम हो।’ 

पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्तामा अमेरिकातर्फ उपराष्ट्रपति भान्स र इरानतर्फ संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले आआफ्ना प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

वार्ता असफल भएपछि दुवै देशका वार्ता टोली आइतबार बिहान पाकिस्तानबाट बाहिरिइसकेका छन्। 

अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी भनेका थिए, ‘सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा इरानका लागि नराम्रो खबर हो।’

उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताएका थिए। 

उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’

इरानी समाचार एजेन्सी तस्निमका अनुसार ‘अमेरिकाका सर्त धेरै कडा थिए, जसले गर्दा सम्झौता हुन सकेन।’

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेपछि स्थायी समाधानका लागि भन्दै अमेरिका र इरान पाकिस्तानको मध्यस्थतामा वार्ताको टेबुलमा बसेका थिए। 

तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी सर्वोच्च नेतालगायत शीर्ष नेता तथा अधिकारी मारेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad