ग्लोबल


इरानसँग वार्ता गर्न पाकिस्तान आइपुगे अमेरिकाका उपराष्ट्रपति

इरानसँग वार्ता गर्न पाकिस्तान आइपुगे अमेरिकाका उपराष्ट्रपति

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
चैत २८, २०८२ शनिबार १२:१६, काठमाडौँ

इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ।

पाकिस्तानी उड्डयन स्रोतले बीबीसी उर्दुलाई बताएअनुसार भान्सको 'एयर फ़ोर्स टु' विमान इस्लामाबादमा अवतरण गरेको छ।

२१ वर्षपछि अमेरिकी उपराष्ट्रपति पाकिस्तान भ्रमणमा आएका हुन्। यसअघि अमेरिकाका तत्कालीन उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तान भ्रमण गरेका थिए।

जेडी भान्सका साथमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुसनर पनि वार्ताका लागि इस्लामाबाद आएका छन्।

इरानी प्रतिनिधिमण्डल भने शुक्रबार राति नै इस्लामाबाद आइसकेको छ। इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।

इरानी वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्यहरू छन्।

गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता हुन लागेको हो। 

वार्ता आज सुरु हुने अपेक्षा छ। तर युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरेका कारण दुई देशबिच विवाद छ। 

इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको हो। 

यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ। 

इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।

उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad