कारोबार


बागमती प्रदेशमा बढाइयो सार्वजनिक यातायातको भाडा, यस्तो छ नयाँ दर

बागमती प्रदेशमा बढाइयो सार्वजनिक यातायातको भाडा, यस्तो छ नयाँ दर

नेपालखबर
चैत २८, २०८२ शनिबार १२:३८, हेटौँडा

बागमती प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा पनि बढाएको हो। 

शुक्रबार बसेको मन्त्री स्तरको बैठकले शनिबार (आज) देखि लागु हुनेगरी भाडादर कायम गरिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ।

नयाँ भाडादरअनुसार यात्रुले १५ केजीसम्मको सामान निःशुल्क लैजान पाउनेछन् भने यसभन्दा बढी अधिकतम १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले अतिरिक्त शुल्क तिर्नु पर्नेछ। यद्यपि सवारीसाधन उत्पादक कम्पनीले तोकेको ग्रस भेहिकल वेट ननाघ्ने गरी मात्र सामान ढुवानी गर्न पाइनेछ।

यस्तै प्रदेशभित्र सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा पनि बढाइएको छ। प्रदेश भाडा निर्धारण तथा समायोजन सिफारिस समितिको प्रतिवेदनअनुसार साविक प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ८० पैसाबाट २६.७९ प्रतिशत वृद्धि गर्दै १८ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

प्रदेश सरकारले इन्धन मूल्य, सञ्चालन खर्च तथा समग्र आर्थिक अवस्थालाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीको हकमा २४ रुपैयाँदेखि ५० रुपैयाँसम्म भाडादर कायम गरिएको छ।

बागमती प्रदेशमा पेट्रोलबाट चल्ने ट्याक्सीको हकमा प्रति २ सय मिटरको १२ रुपैयाँ कायम गरिएको छ। प्रतीक्षा शुल्क १ रुपैयाँ तोकिएको छ भने प्रतिक्षा समय प्रति ३० मिनेट तोकिएको छ।

यस्तै रुटगत रूपमा काठमाडौँबाट कुरिनटार मनकामना केबलकार सम्मको भाडा ३५४ रुपैयाँ, काठमाडौँ–खोपासी १४२, काठमाडौँ–त्रिशूलीको भाडा २९७, हेटौँडा–नारायणगढ–काठमाडौँको भाडा ७६९ रुपैयाँ, काठमाडौँ–बाह्रबिसे ३५६ रुपैयाँ कायम गरिएको छ।

काठमाडौँ–देविघाट–धुञ्चे सडकखण्डमा ५०३ रुपैयाँ, नेपालथोक–खुर्कोट २२३, काठामाडौँ–धुलिखेल–चरिकोट १ हजार ६९ रुपैयाँ कायम भएको छ।

मन्त्रालयका अनुसार विद्युतीय सवारीको हकमा भने यसअघिको भाडादर नै लागु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad